कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नाममा त्यस्तो के छ ?

चलेका नेपाली फिल्मको जस्तै सुनिने नाम राखिने गरिन्छ भने अर्कोतिर चलेका हिन्दी फिल्मका नाम सापटी लिने रोग पनि नेपाली फिल्मकर्मीमा छ ।

काठमाडौँ — विलियम शेक्सपियरले भनेजस्तो ‘नाममा के नै छ र ? गुलाबलाई हामी अरू जे नै नामले पुकारे पनि आखिर त्यसले दिने मीठो बासना नै हो’ भन्ने कुरामा अहिलेको समाज विश्वस्त हुन सक्ला ?

नाममा त्यस्तो के छ ?

बरु प्लास्टिककै भए पनि पफर्युम छर्केर गुलाब भन्दै बेच्न तम्सन्छन् । जे छ नाममै छ । अझ फिल्मजस्तो ग्ल्यामरको दुनियाँ त नामको ठूलो मूल्य हुन्छ । विकासराज आचार्य ‘नाइँ नभन्नु ल’ चलेपछि यही नामको पछि लागेर पाँचवटा फिल्म बनाइसके भने दीपकराज गिरीले पनि ‘छक्का पन्जा’ लाई तेस्रो संस्करणसम्म तन्काएका छन् ।

यी दुवै फिल्ममा नामको निरन्तरताबाहेक कथाको भने छैन । निर्देशक तथा निर्माता आचार्य त अब ‘नाइँ नभन्नु ल’ नै आफ्ना लागि प्रिय नाम भएको टिप्पणी गर्दै आफ्नो फिल्मको नाममा पहिलो रोजाइ यही हुने नै बताउँछन् । राजु गिरीले पनि ‘बिन्दास’ लाई चौथो संस्करणसम्म पुर्‍याएका छन् ।

तर कहिलेकाहीं भने छुट्टाछुट्टै फिल्म ब्यानरहरू उस्तै सुनिने र अर्थ लाग्ने नाममा भिड्ने गरेका छन् । कुनै बेला शिव रेग्मी निर्देशित फिल्म लगालग हिट हुन्थे । यस्तोमा उनले राख्ने फिल्मको नाममा समेत खुब सिको हुन्थ्यो । ‘आफ्नो मान्छे’ बनाएर हिट हुँदा नारायण पुरीले ‘आफ्नो घर आफ्नो मान्छे’ बनाएका थिए भने रेग्मीले ‘ए मेरो हजुर’ बनाउँदा पुरीले ‘मेरो हजुर’ बनाए । रेग्मीले ‘सुख दु:ख’ बनाउँदा अर्का निर्देशक दीपक श्रेष्ठ ‘दु:ख’ नामक फिल्म लिएर देखा परे ।

कहिलेकाहीं उस्तै नामकै कारण फिल्मकर्मीबीच झगडा पनि पर्ने गरेको छ । रोज राणा र एनआर घिमिरेले दुई वर्षअघि एकै नाम ‘परशुराम’ मा फिल्म सुटिङ गरे । राणाले नाम घोषणा मात्रै गरेर धमाधम छायांकन गर्न थाले तर घिमिरेले चलचित्र विकास बोर्डमा गई चुपचाप नाम दर्ता गराएर पक्का गराए ।

आखिर राणाले ‘जय परशुराम’ नाम बनाएर रिलिज गर्नुपर्‍यो भने घिमिरेको फिल्मको अझै अत्तोपत्तो छैन । राणाकै जस्तै नियति लक्ष्मण रिजालले ‘धुवाँ’ फिल्म बनाउने बेला पनि भोगे । अर्को फिल्मसँग नाम जुधेको भनेपछि उनले ‘धुवाँ यो नशा’ बनाएर फिल्म ल्याए । ‘धुवाँ’ नै चाहिं के भइरहेको छ, पत्तो छैन ।

निश्चल बस्नेतको ‘लुट’ ले अत्यधिक सफलता कमाएपछि धेरैले यसको शैली पछयाए तर निर्देशक सुरजचन्द ठकुरी सिधै नाममै गए । उनले ‘लुट कम्पनी’ नाम राखेर फिल्म रिलिज गरे । ‘झोला’ र ‘झोले’, ‘तँ त साह्रै बिग्रिस् नि बद्री’ र ‘तँ त साह्रै सप्रिस् नि बद्री’, ‘फिर्के’ र ‘फुर्के’, ‘काठमान्डू’, ‘डेस्टिनेसन काठमान्डू’ र ‘गुडबाई काठमान्डू’, ‘रोमियो’ र ‘रोमियो एन्ड मुना’, ‘चंगा’ र ‘चंगा चेट’ हुँदै अहिले उस्तै सुनिने ‘शिर फूल’ र ‘नीर फूल’, ‘शुभ लभ’ र ‘कस्मिक लभ’ निर्माणको चरणमा छन् भने ‘जय भोले’ र ‘जय शम्भु’ ले लगभग सँगसँगै उस्तै सुनिने नाम राखेर निर्माण घोषणा गरेका थिए ।

किरण केसीले हालै छोरा सुदनलाई निर्देशनमा डेब्यु गराउँदै ‘दाल भात तरकारी’ नाम राखेर सुटिङमा जाँदै गर्दा सञ्जीवकुमार न्यौपानेले पनि पहिलो पटक आफ्नै लेखन/निर्देशनमा सौगात मल्ल र सृष्टि श्रेष्ठलाई लिएर ‘मासु भात’ बनाउँदै छन् ।

एकातिर, चलेका नेपाली फिल्मको जस्तै सुनिने नाम राखिने गरिन्छ भने अर्कोतिर चलेका हिन्दी फिल्मका नाम नै सापटी लिएर नेपाली फिल्म बनाउने रोग पनि नेपाली फिल्मकर्मीमा छ । त्यसैगरी कतिपय फिल्मकर्मीले नामकै कारण अनावश्यक झमेला पनि खेप्नु परेको छ ।

गणेशदेव पाण्डेले ‘गाँजाबाजा’ बाट ‘गाँजा’ हटाएर ‘गाजा’ नबनाउँदासम्म रिलिज नै गर्न नपाउने गरी चलचित्र विकास बोर्डले अंकुश लगाइदियो भने हालै मात्र सत्य घटनामा आधारित भनिएको फिल्म ‘रोजी’ ले रोजी महर्जन हत्याकाण्डलाई आकर्षित गरेको धारणासहित रोजी परिवारले फिल्मको नाममा विरोध जनाएपछि निर्माण पक्षले ‘रोज’ बनाउनुपर्‍यो ।

आखिर शेक्सपियरले भने जस्तो नाममा नै के छ र भनेर विषयवस्तु दमदार र फिल्म चुस्तदुरुस्त बनाउनतर्फ मात्रै ध्यान दिएको भए नाममा यतिका लफडा आउने थिएन होला । सायद नाममा पनि केही त छ ।

प्रकाशित : भाद्र ९, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?