‘नेपाली संगीतका जादुगर’

गोपाल योञ्जन जन्मजयन्ती
सजना बराल

काठमाडौँ — चुपचाप प्रहरीको जागिर खाइरहेका छत्र गुरुङलाई विसं २०२९ तिर गोपाल योञ्जनले गीत गाउन भनेछन् । गुरुङ फुर्किंदै योञ्जनछेउ पुगेको अहिले सम्झन्छन् ।

‘मेरो गुरु, मार्गनिर्देशक, प्रिय दाइ सबैथोक उहाँ नै हुनुहुन्थ्यो,’ गुरुङ भन्छन्, ‘उहाँले गर्दा नै म गायक बनेँ । उहाँले जसरी मलाई लोक गायकको परिचय दिनुभयो, नेपाली संगीतमा लोकविधालाई पहिचान दिने श्रेय पनि उहाँलाई नै जान्छ ।’

योञ्जनको संगीतमा छत्रले ‘छातीमा मेरो यो छोटो भोटो...’ लगायत गीत गाएका थिए । छत्रकै शब्द संकलन रहेको उक्त गीतमा तारा थापाले गायनमा साथ दिएकी थिइन् । छत्र योञ्जनलाई नेपाली संगीतका ‘फयान्टास्टिक म्याजिसियन’ मान्छन् । ‘देउसेहरूले आशीर्वाद दिँदा ढुंगा छोए सुन बनोस् भन्छन् नि,’ उनले भने, ‘गोपाल दाइले छोएपछि गीतहरू अमूल्य बन्थे । साधारण मान्छेले पनि उहाँका गीतको स्तर बुझ्न सक्छ ।’

योञ्जनसँग झन्डै तीन दशक संगत गरेका उनी त्यो बेला संगीतमा नोटेसन लेख्न सक्ने न्यून संगीतकर्मीमध्ये एक मान्छन् योञ्जनलाई । अम्बर गुरुङ, चन्द्रराज शर्मा र गोपाल योञ्जनले मात्र त्यो जमानामा नोटेसन लेख्न सक्थे । ‘गीत कम्पोज गर्दा नेपाल आर्मी र पुलिसको ब्यान्ड अनि अरू वाद्यवादक भेला पार्नुहुन्थ्यो,’ उनले भने, ‘एउटै गीतका लागि २० वटा भ्वाइलिन खोज्नुहुन्थ्यो । त्यही मेहनतले गर्दा उहाँका गीत कालजयी बनेका हुन् ।’

सन् १९६० को दसकमा दार्जिलिङको कला परिषद्मा आबद्ध योञ्जनलाई नेपाल निम्त्याएका गीतकार नगेन्द्र थापा उनलाई संगीतका त्रिवेणी मान्छन् । गीत लेखन, संगीत सिर्जना र गायन तीनवटै विधामा अब्बल भए पनि योञ्जनको गीतकार र संगीतकार छवि बढी ओजिलो भएको थापालाई महसुस हुन्छ । ‘त्रिवेणीमा गायन कमजोर हुन्छ,’ थापाले भने, ‘गोपालको गीतकार र संगीतकारको दोभान भयंकर छ ।’ उनीजस्ता सशक्त गीतकार र संगीतकार आफूले अहिलेसम्म नभेटेको थापाको दाबी छ ।

योञ्जन यथार्थपरक गीत लेखनमा निकै बलियो भएको थापाले बताए । उनका अुनसार गीतलाई कविताको नजिक ल्याउन सक्ने गोपालको खुबी अनुसरणयोग्य छ । ‘उनका गीतबाट संगीत पक्ष हटाइदियो भने गीत अर्थपूर्ण नै लाग्छ,’ उनले भने, ‘गीतमा जीवन उधिनेर लेख्थे उनी । उनका गीतमा समाजका आक्रोश, विग्रह वा प्रेम पोखिएका छन् ।’ थापाका अनुसार योञ्जन सुरुमा बाध्यताले गीतकार बनेका हुन् । दार्जिलिङ छँदा बाँसुरीवादन हुँदै अन्य वादनकला सिकेका उनले आफ्ना कम्पोजिसनमा शब्द लेखिदिने मान्छे नपाएपछि आफैं लेख्नुपरेको थियो ।

नेपाली सुगम संगीतमा नयाँपन दिएको हुनाले योञ्जनलाई ट्रेन्डसेटरका रूपमा सम्झना गरिनुपर्ने थापाले बताए । लोक लयमा शास्त्रीय संगीतको फयुजन गराएर नयाँ धुन उत्पादन गर्न उनी माहिर भएको थापाको दाबी छ । ‘मेरो पाउमा आज...’, ‘हे माझी दाइ...’, ‘अल्झेछ क्यारे पच्छयौरी...’, ‘उडिजाऊँ भने...’ जस्ता गीतमा लोक (शास्त्रीय मिठास पाइने उनले बताए । ‘छोटो अवधिमै उनले नेपाली संगीतको दिशा निर्देशन गरेका थिए’, थापा भन्छन्, ‘संगीतप्रतिको उनको चोखो समर्पण श्रद्धा गर्नलायक छ ।’

सिकेनन् नयाँले
पुराना स्रष्टाका गीत नयाँले सुन्ने मात्र होइन गाउने पनि गरेका छन् । योञ्जनकै थुप्रै गीत कभर सङका रूपमा युट्युबमा राखिएका छन् । तर, नयाँ पुस्ताले योञ्जनको गीत रुचाए पनि उनको संगीत संस्कार नसिकेको गायिका ज्ञानु राणाको भनाइ छ । ‘गीतलाई जीवन्त बनाउन उहाँ धेरै मिहिनेत गर्नुहुन्थ्यो’, योञ्जनसँग युगल गाएकी राणा भन्छिन्, ‘हामीलाई पनि सशक्त गाउन प्रेरित गर्नुहुन्थ्यो । तर, अहिले मिहिनेत गर्न छोडिएको छ । यो भनेको उहाँप्रति अनादर हो ।’

Yamaha

स्तरीय गीत कस्तो हुन्छ भन्ने बुझ्नका लागि योञ्जनलाई सुन्नैपर्ने गीतकार एवं कवि थापाको भनाइ छ । संगीतमा कसरी साधना गर्नुपर्छ भन्ने कुरा पनि उनको जीवनबाट सिक्न सकिने अवगत गराए । ‘विडम्बना अहिलेका गीतमा साधना भेटिँदैन,’ थापाले दु:ख मनाउँदै भने, ‘उनकै गीत गाउनेले पनि गोपाललाई न्याय गरेको सुनिदैन । उनले खनेको बाटोलाई गन्तव्यमा पुर्‍याउन पहल भएको छैन ।’


खरेललाई गोपाल योञ्जन स्मृति पुरस्कार

संगीतज्ञ गोपाल योञ्जनको ७६ औं जन्मजयन्तीको अवसरमा शनिबार राजधानीमा एक सांगीतिक कार्यक्रम गरियो । पुल्चोकस्थित ललितपुर हार्ट क्लबमा आयोजित कार्यक्रममा शुभारम्भ द म्युजिकल जर्नीले योञ्जनका शिष्यसमेत रहेका गायक बद्री दुर्गा खरेललाई ‘गोपाल योञ्जन स्मृति पुरस्कार–२०७५’ प्रदान गर्‍यो ।

खरेललाई गीतकार नगेन्द्र थापाले आयोजकका तर्फबाट १० हजार रुपैयाँ र ताम्रपत्र हस्तान्तरण गरे । पुरस्कृत खरेलले ‘बोलाऊँ भने तिमीलाई...’, ‘शुभकामना खालीखाली...’ जस्ता आफ्ना गीत सुनाए । समारोहमा गायक शैलेश सिंह, सुरज थापा, देवेन्द्रमान सिंह, आदिश्री कस्पाललगायतले भने योञ्जनका रचना प्रस्तुत गरेका थिए ।

उनीहरूले ‘जीवनदेखि धेरै धेरै...’, ‘बनेको छ पहराले....’, ‘मैला पुण्य मन पराएँ...’, ‘तिम्रोजस्तो मुटु...’ लगायत गीत सुनाएका थिए । ‘स्रष्टालाई सम्झिने संस्कार बसालौं भनेर यस्तो कार्यक्रम गरेका हौं’, शुभारम्भका संस्थापकसमेत रहेका गायक शैलेश सिंहले भने, ‘उहाँप्रतिको हाम्रो प्रेम अभिव्यक्त गरेको पनि हो ।’ विसं २००० भदौ १० मा जन्मिएका योञ्जनको सम्झनामा आइतबार जमलस्थित सांस्कृतिक संस्थान (नाचघर) मा पनि कार्यक्रम हुँदै छ ।

बितेका दुई दशकदेखि मधुरिमा नेपालले उनको सम्झनामा सांगीतिक गतिविधि गर्दै आएको मधुरिमा नेपालका प्रदीप बमजनले अवगत गराए । कार्यक्रमा यसपालि योञ्जनबारे अन्तक्र्रिया गर्नुका साथै उनका
गीत गाइनेछन् ।

प्रकाशित : भाद्र १०, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मानन्धरलाई देवकोटा–लु सुन प्रज्ञा

कान्तिपुर संवाददाता

काठमाडौँ — साहित्यकार शान्तदास मानन्धर देवकोटा लु सुन प्रज्ञा पुरस्कारबाट सम्मनित भएका छन् । देवकोटा लु सुन प्रतिष्ठानले शनिबार राजधानीमा मानन्धरलाई सम्मान गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मानन्धरलाई ताम्रपत्रसहित पचास हजार रुपैयाँ हस्तान्तरण गरे ।

मन्त्री अधिकारीले मानन्धरलाई ‘जनपक्षीय लेखक’ को संज्ञा दिए । उनको अनुवाद कलाको प्रशंसा गर्दै अधिकारीले भने, ‘उहाँले हाम्रो चेतना र आवश्यकतासँग जोडेर अनुवाद गर्नुहुन्छ ।’ विसं २०३४/०३५ देखि चिनियाँ साहित्यकार लु सुनका रचनाहरू सकीनसकी अनुवाद गर्न थाल्दा थुप्रै प्राध्यापकहरूले गाली गरेको प्रसंग मानन्धरले सुनाए ।

‘आफैंमा लेख्ने क्षमता हुँदाहुँदै अरूको अनुवादमा किन समय खर्चिन्छौं भन्थे मलाई,’ उनले भने, ‘तर लु सुनको जनपक्षीय लेखनमार्फत नेपाली समाजमा केही परिवर्तन ल्याउन सकिन्छ कि भन्ने मेरो ध्याउन्न हुन्थ्यो ।’ प्रतिष्ठानका अध्यक्ष निनु चापागाईंले देवकोटा र लु सुनको प्रगतिवादी धारा उस्तै रहेकाले संयुक्त रूपमा संस्था स्थापना गरी स्रष्टालाई सम्मान गर्ने परम्पराको थालेको बताए ।

मानन्धरले विशेषगरी बालसाहित्यको क्षेत्रमा योगदान दिएको प्रतिष्ठानका उपाध्यक्ष रामबाबु सुवेदीले बताए । ८४ वर्ष पुगेका मानन्धरको व्यक्तित्व र कृतित्वबारे बोल्दै समालोचक डा. रामप्रसाद ज्ञवालीले बालसाहित्य, अनुवाद, मात्रै नभई शान्तदासले चित्रकला, सम्पादन, प्रकाशन, कथावाचन, साहित्यिक पत्रकारिता, बालपत्रिकालगायतमा पनि योगदान दिएको बताए ।

कार्यक्रममा ‘महाकवि देवकोटाको साहित्य चिन्तन र वैचारिक विकास’ शीर्षकमा साहित्यकार चूडामणि बन्धुले कार्यपत्र प्रस्तुत गरे । देवकोटाले स्वच्छन्दतावादी अंग्रेजी कविताका अध्ययनबाट नै आफूलाई स्वच्छन्दतावादी कविका रूपमा विकसित गरेको उनले बताए । कार्यपत्रमाथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. अमर गिरीले टिप्पणी गरेका थिए भने मातृका पोखरेलले देवकोटाको ‘स्वतन्त्रता हो मानवता रे’ कविता र सीता शर्माले लु सुनको ‘नेपोलियन र जेनर’ निबन्ध सुनाएकी थिइन् ।

प्रकाशित : भाद्र १०, २०७५ ०८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT