१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नयाँ पुस्ताले गाए गोपाल योञ्जन

सजना बराल

काठमाडौँ — समाज निर्माणमा संगीत–साहित्यको भूमिका के हुन्छ ? संगीत र फिल्मले कसरी दिशानिर्देश गर्छन् ? हत्या–हिंसा, बलात्कार जस्ता अपराध बढ्नु वा बौद्धिक पलायनमा रुचि बढ्नुमा कलाको कस्तो प्रभाव हुन्छ ? आइतबार यी प्रश्नको जवाफमा संगीतज्ञ गोपाल योञ्जन जोडिएर आए ।

नयाँ पुस्ताले गाए गोपाल योञ्जन

सांस्कृतिक संस्थान (नाचघर) मा योञ्जनका गीत–संगीतमाथि लामै परिचर्चा भयो । संगीतकर्मी, साहित्यकार, पत्रकारदेखि राजनीतिकर्मीले योञ्जनलाई आ–आफ्ना कोणबाट औंल्याए । उनका राष्ट्रिय गीतलाई पर्गेल्ने क्रममा अधिकांश वक्ताले गोपाललाई क्रान्तिकारी रचनाकार भन्न रुचाए ।


‘गोपाललाई अनुसरण नगर्नाले नै अहिले बलात्कारजस्ता घृणित घटना भइरहेका हुन्,’ गायक रामेशले भने, ‘उनलाई बुझ्ने युवा अमेरिका पलायन हुँदैन ।’

‘गोपाल योन्जनका गीत आत्मबल जगाउने खालका, सबै समुदायको पहिचान प्रस्तुत गर्ने खालका, बिम्बले भरिपूर्ण छन् । उहाँले भूगोललाई राष्ट्र मान्नुभएको छैन । राष्ट्र भनेको संस्कृति, जनताको आत्मबल र देशभक्ति हो भन्ने चेत उहाँका गीतमा पाइन्छ ।’


रामेशले अहिलेको भद्दा कलाकारिताकै कारण समाजमा विकृति र अपराध जागेको बताए । ‘काटमारबिनाका फिल्म बन्दैनन्,’ उनले भने, ‘नारीलाई आकर्षक वस्तुका रूपमा देखाइन्छ । पैसाको लागि दौडिन्छन् पात्रहरू । संगीतको उस्तै हालत छ । त्यस्ता चिजले युवालाई दिग्भ्रमित पारेका छन् ।’


गोपाललाई गायक र संगीतकारको मात्र पगरी गुथाएर उनको गीतकार छविलाई कसरी अलग पारिँदै छ भन्नेबारे पनि बहस चल्यो ।


‘गीत लेखन भनेको प्राज्ञिक सत्ताको विषय हो’, कवि भुपाल राई बोले, ‘यो विषयमा निश्चित जात र धर्मको सिन्डिकेट छ । त्यहाँ गोपाल योञ्जनलाई समेटिँदैन । उनलाई केवल गायक र संगीतकार भनेर सांस्कृतिक सत्तामा सीमित राखिएको छ ।’


गायक रामेशले पनि गोपाल विचारप्रधान गीतकार भएकाले उनको काव्यिक पहिचान स्वीकार गर्नैपर्नेमा जोड दिए । ‘शब्दमा विचार हुन्छ, लयमा हुँदैन,’ रामेशले भने, ‘गोपालका विचारको सम्मान गरिनुपर्छ ।’


पञ्चायत कालमा आफूहरू भूमिगत ढंगले सांगीतिक क्रान्तिमा लागिपर्दा गोपालले सत्ताबाट प्राप्त सीमित स्वतन्त्रतामै कलात्मक संगीत उत्पादन गरेको कवि स्नेह सायमीले सम्झिए । आफूहरू एउटै पथमा भए पनि कहिल्यै भेट हुन नसकेको भन्दै उनले खिन्नता प्रकट गरे । त्यही बेला भुपालले थपे, “रामेश/रायनहरू भूमिगत हुँदा, गोपाल योञ्जनले मुलधारको संगीत बजारमा एक्लै कुस्ती खेलेका थिए । ‘सुन्दर, शान्त, विशाल नेपाल...’ गाउनुपर्ने बेला उनले समाजको अशान्ति र यथार्थ देखाए ।”


‘बनेको छ पहराले...’, ‘यो मेरो टोपी...’, ‘देशले रगत मागे...’, ‘घर त मेरो हिमाली...’ जस्ता गीतको उदाहरण दिँदै गीतकार डा. कृष्णहरि बरालले पनि गोपालका गीतमा व्यक्त राष्ट्रभावको मर्म र चरित्र केलाए । ‘उहाँका गीत आत्मबल जगाउने खालका, सबै समुदायको पहिचान प्रस्तुत गर्ने खालका, बिम्बले भरिपूर्ण छन्,’ उनले भने, ‘उहाँले भूगोललाई राष्ट्र मान्नुभएको छैन । राष्ट्र भनेको संस्कृति, जनताको आत्मबल र देशभक्ति हो भन्ने चेत उहाँका गीतमा पाइन्छ ।’


देशबारे दीक्षित गराउने काम गोपालले गरेको भन्दै युवा कवि अनिता लामाले उनले संगीतमार्फत स्वतन्त्रता र क्रान्तिको हुँकार दिएको बताइन् ।


‘उहाँका गीतले परिवर्तनको प्रतिनिधित्व गर्छन्,’ राजनीतिकर्मी मणि थापाले भने, ‘त्यो बेला नै उहाँले गीतमार्फत् नेपालको अन्तर्राष्ट्रिय परिभाषा दिनुभएको छ ।’ मूलधारको संगीतमा आधुनिकीकरण गर्ने जस गोपाललाई नै दिनुपर्ने उनले बताए ।


समारोहमा गीतकार चूडामणि देवकोटा, समालोचक रामप्रसाद ज्ञवाली, बम बानियाँ र पत्रकार आस्था केसीले पनि गोपालका राष्ट्रिय गीतमाथि आ–आफ्ना बुझाइ व्यक्त गरे ।


संस्कृतिमन्त्री रवीन्द्र अधिकारीले आफू गोपाललाई नै सुनेर हुर्किएको अनि उनका गीतबाट प्रभावित भएको बताए । ‘उहाँका विचार, योगदान, प्राज्ञिकतालाई व्यापक बनाऔं,’ उनले भने, ‘गम्भीर संगीतलाई छानी–छानी प्रमोट गर्ने संस्कार बसालौं । यसका लागि देशव्यापी अभियान चलाऔं ।’


मधुरिमा नेपाल र सांस्कृतिक संस्थानद्वारा आयोजित कार्यक्रमको दोस्रो चरणमा कलाकारहरूले गोपालका आठ प्रस्तुत गरे । ‘देशले रगत मागे...’, ‘तिमी देऊ या नदेऊ...’, ‘बनेको छ पहराले...’, ‘मेरो पाउमा आज...’, ‘कहिलेकाहीँ मनका कुरा...’, ‘जीवनको हरेक मोडमा...’, ‘जुत्तामा हेर्दामा...’ र ‘हाम्रो खुसीको लागि...’ लाई आकाश थापा, दीपेन्द्र बज्राचार्य, राधिका भण्डारी, निर्मला घिसिङ, तीर्थराज पोखरेल, शिला विष्ट, इन्दिरा गोले लगायतले गाएका थिए ।

प्रकाशित : भाद्र १०, २०७५ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?