कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

किरातीको ढ्वाङ्कुमो

ललितपुर — किराती युवतीहरू चाम्दो (संगिना) गाउँदै नाचे । युवकले साथ दिए । गोलो घेरामा गाउँदै, थपडी मारेर अघि र पछि सर्दै नाच्नु पर्ने संगिनाको नियमै हो ।

किरातीको ढ्वाङ्कुमो

त्यसैमा मिसिए, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, प्राज्ञ श्रवण मुकारुङ, कवि व्याकुल माइला लगायत ।

उपत्यकामा बसोबास गरिरहेका ओखलढुंगा र खोटाङका वाम्बुले राईहरूले दुई दशकदेखि सामूहिक रूपमा यो चाड मनाउँदै आएका छन् । ढ्वाङ्कुमोकै अवसरमा किरात वाम्बुले राई समाजले आइतबार ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलमा एउटा समारोह गर्‍यो ।

‘बाहुनछेत्रीले जनैपूर्णिमा, नेवारले क्वाँटी पूर्णिमा, किरातीले ढ्वाङ्कुमो पूर्णिमा भनेर मनाउँदा रहेछौं,’ उपकलुपति घिमिरेले भने, ‘आज एकै दिन तीनै थरीले तीन वटा हिसाबले चाड मनाउनुमा नेपालको सांस्कृतिक सौन्दर्य लुकेको छ ।’

कलाकारहरू बडाजित, विष्णु माइला, जीवन, भुवन, मोतीलाल, दिलकला, जीवनकुमारी, अरुणा र अम्बिका राईले मादल, बाँसुरी बजाएर राम्दले भाकाको गीत वाम्बुले भाषामै प्रस्तुत गरे । मौलिक पहिरनले आकर्षण दिइरहेको थियो । पुरुषले दौरा सुरुवाल र शिरमा वाम्बुले ढाका टोपी, महिलाले गुन्युचोली र सुनौला गरगहना झपक्कै पहिरिएका थिए ।

संस्थाका अध्यक्ष गजुरधन राईका अनुसार, ओखलढुंगाको उँबुगाउँको ढाङकुमटारलाई वाम्बुले राईको उद्गम थलो मानिन्छ । समुद्री सतहदेखि करिब २ हजार मिटर उचाइमा रहेको लिब्जु पहाडलाई ‘लिब्जु बाजे’ भनेर पूजा गरिन्छ । त्यहाँ मुन्धुम विधिअनुसार ढवाङकुमो मनाइन्छ ।

त्यसका अलावा खोटाङ, उदयपुरको कटारी, सुनसरीको धरान र बेलायतमा समेत ढ्वाङकुमो चाड धुमधामसाथ मनाउने गरिन्छ । समारोहमा ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ धनबहादुर याक्खालाई विशेष सम्मान गरियो । मूर्तिकारहरू शिव न्यौपाने, नीराजन मानन्धर, इन्दिरा श्रेष्ठ, नरेश थुलुङ, रञ्जित थापामगर र गणेशबाबु पनि सम्मानित भए ।

प्रकाशित : भाद्र ११, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?