२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सागरको एकल म्हेन्दोमाया

काठमाडौँ — रसुवा, धादिङ र नुवाकोटको प्रचलित लोकभाका हो– म्हेन्दोमाया । यही भाका टिपेर गायक सागर एस वाइबाले दर्जनभन्दा बढी एल्बम निकालेका छन्, युरोप–अमेरिका घुमेका छन् ।

सागरको एकल म्हेन्दोमाया

नुवाकोटको किस्पाङका यी गायकले राजधानीमा शनिबार एकल म्हेन्दोमाया साँझ गरे, जहाँ उनले टिपिकल लोक, सेन्टिमेन्टलदेखि आधुनिक स्वादसम्मका भाका सुनाए ।

राष्ट्रिय नाचघरमा उनलाई सुन्न दर्शकश्रोता खचाखच थिए । सुरुमा उनले पाँचवटा टिपिकल स्वादका म्हेन्दोमाया, म्हाने दोरा र साइकोले गाए । म्हेन्दोमाया भाका केटा र केटीबीच प्रेमालाप गर्दै गाइन्छ ।

म्हाने दोरा र साइकोले चाहिँ केही स्लो र सेन्टिमेन्टल भावका थिए । दोस्रो चरण भने सागर डान्सिङ र रक स्टाइलमा प्रस्तुत भए । फास्ट बिटका म्हेन्दोमायामा रम्नेहरू सामान्य दर्शकश्रोता मात्रै थिएनन्, पूर्वमन्त्री शेरबहादुर तामाङदेखि ३ नम्बर प्रदेशकी उपसभामुख राधिका तामाङ, नेता परशुराम तामाङसम्म थिए ।

कन्सर्टको रोचक पक्ष के थियो भने सागरले आफ्नै बुबा समनसिंह वाइबालाई प्रमुख अतिथि बनाएका थिए भने पत्नी सृजना एस लोप्चन, छोरा सौगात र छोरी सोनु एस वाइबाले पनि गायनमा सागरलाई साथ दिएका थिए ।

दशक लामो सांगीतिक यात्रा तय गरिसकेका सागरलाई म्हेन्दोमायालाई फाउन्डेसनले एकल कन्सर्टमा उतारेको हो । १६ एल्बम निकालिसकेका उनले कतार, दुबई, मलेसिया, दक्षिण कोरिया, कुवेत, बेल्जियम, पोर्चुगल, फ्रान्स, हल्यान्ड, अमेरिका लगायतमा म्हेन्दोमाया कन्सर्ट गरिसकेका छन् ।

‘म्हेन्दोमाया राजधानीनजिकैको पश्चिमी लोकभाका हो,’ उनले भने, ‘आफू हुर्किबढेको समाजको लोकभाका यसरी सबैको माझ सुनाउन पाउँदा खुसी छु ।’

प्रकाशित : भाद्र ११, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?