कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भ्वाइस अफ नेपाल रुचाइँदै

युटयुब ट्रेन्डिङ

काठमाडौँ — संगीतसम्बन्धीको पछिल्लो टेलिभिजन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को पहिलो भाग युटयुब नेपालको ट्रेन्डिङ सूचीमा पर्न थालेको छ ।

भ्वाइस अफ नेपाल रुचाइँदै

यसै सात सुरु भएको सो सोमबार ट्रेन्डिङको पहिलो नम्बरमा देखियो । कान्तिपुर टीभीमा आउने कार्यक्रमलाई लिएर युटयुब प्रयोगकर्ताले उत्साह जनाएका छन् ।

‘अब नेपालीहरूले रियालिटी सो हेर्न इन्डियन च्यानल खोज्नुपर्ने जमाना गएछ,’ मदन गुरुङले कमेन्ट गरेका छन्, ‘यो कार्यक्रम उत्कृष्ट लाग्यो ।’ बादल परियासीले भने यस्ता कार्यक्रमलाई नौटंकी नबनाउन आग्रह गरेका छन् । उनी लेख्छन्, ‘यो रुने प्रथा हटाउनुपर्‍यो क्या † हेर्नी मान्छेका पनि आँखा रसाएर हैरान हुन्छ ।’ उनको कमेन्टमा ३२ लाइक छन् ।


शोविता मगरलाई भने कोचहरूको कुर्सी मन परेछ । उनले लेखेकी छन्, ‘चेयर अमेजिङ लाग्यो । एक मुडकी हान्नेबित्तिकै बत्ती बलेर फनक्क घुम्दो रैछ ।’ राहुल थोकर लामाले सबटाइटल राख्न अनुरोध गरिरहँदा कतिपयले भने कोचहरूको बोल्ने शैली ‘वाउ’ लागेको अभिव्यक्ति दिएका छन् । शनिबार अपलोड गरिएको भिडियोमा सोमबारसम्म करिब ८ लाख ३२ हजार भ्युज र ६ हजारजति कमेन्ट थिए ।


एपी वान टीभीबाट आउने अर्को रियालिटी सो ‘नेपाल आइडल’ पनि युटयुबमा लोकप्रिय रहँदै आएको छ । दोस्रो सिजनको छैटौं भाग सोमबार ट्ेरन्डिङको पाँचौं नम्बरमा थियो । यसमा धेरैले काउली बूढा अर्थात् सन्ध्या बूढाको प्रस्तुतिमाथि कमेन्ट गरेको पाइयो । ‘गोल्डेन माइक पाउनुपथ्र्यो,’ रवि बस्नेत लेख्छन्, ‘उहाँले जजलाई नै चक्मा दिनुभयो । धेरै माथि
पुग्नुहुन्छ होला ।’


विदेशी फ्रेन्चाइजका यस्ता कार्यक्रम नेपाल आउनु राम्रो भएको युटयुब दर्शकको बुझाइ छ । तिनका अनुसार यस्ता कार्यक्रमले स्थानीय प्रतिभालाई प्लेटफर्म दिन्छन् । कतिपय स्रष्टा एवं मिडिया समीक्षकले भने रियालिटी सोले पपुलर कल्चरलाई मात्रै प्रमोट गर्ने हुँदा यीबाट धेरै अपेक्षा राख्न नहुने तर्क गर्दै आएका छन् । मौलिक कला–संस्कृति जोगाउनुको सट्टा मनोरञ्जन प्रदान गर्नु रियालिटी सोको बेफाइदा भएको तिनको दाबी छ ।


ट्ेरन्डिङ सूचीमा सोमबार भारतीय फिल्म ‘ए.. आ..’ दोस्रो स्थानमा देखियो । तेलुगुबाट हिन्दीमा डब गरिएको फिल्म नेपाली दर्शकमाझ सदाझैं यसपालि पनि छाएको छ । फिल्म हेरे/नहेरे पनि सानु भाइ नामक प्रयोगकर्ताले लेखेका छन्, ‘हामी नेपाली एक हौं ।’ उनीसँग २१ जनाले ऐक्यबद्धता जनाएका छन् । विपुल महर्जनले चाहिँ फिल्मकी अभिनेत्री सामान्थ सुन्दर र क्युट लाग्ने बताएका छन् ।


ट्ेरन्डिङको तेस्रो र चौथो नम्बरमा भने कलाइतरका सामग्री परेका थिए । तिनमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तसम्बन्धी रिपोर्ट थियो ।


निर्मलाको घटनालाई लिएर अहिले निकै विवाद भइरहेको छ । अपराधी लुकाउन खोजिएको भन्दै उनका परिवार र अधिकारकर्मीले प्रदर्शन गर्दै आएका छन् । सोमबारै माइतीघर मण्डलामा यसविरुद्ध कला प्रस्तुतिमार्फत विरोध जनाइएको थियो ।

प्रकाशित : भाद्र १२, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?