कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बेपत्ताहरूलाई सम्झिँदै नाटक

पोखरा — श्रीमान् बेपत्ता पारिएपछि सरिता उनलाई खोज्न धरैतिर धाइन् । श्रीमान्ले पठाएको नक्साका आधारमा उनलाई खोज्दै हिँडेकी सरिताले यो यात्राका क्रममा जीवनको नयाँ अध्याय भेटाएकी छन् । उनकी छोरी ठूली भएकी छन् र कुरा बुझ्ने पनि ।

बेपत्ताहरूलाई सम्झिँदै नाटक

आमा छोरी मिलर आफ्नै व्यवसाय सुरु गरेका छन् । श्रीमान् बेपत्ता पारिनुको पीडाका बाबजुद पनि उनले हिम्मत नहारीकन गरेको संघर्षलाई लिएर उनकी छोरी गौरव गर्छिन् ।


नाटक ‘खबर हराएको चिठी’ को यो दृश्य हेर्न दर्शकदीर्घामा थिइन्, पोखराकी सीता बस्ताकोटी र आडैमा थिइन् उनकी छोरी सुस्मिता । जसको श्रीमान् र बुवा देवराज १९ वर्षअघि बेपत्ता पारिएका थिए । सुस्मितालाई उनको बुबाको सम्झना धूमिल मात्रै छ । सीता अहिले पोखरा विश्वविद्यालयमा जागिरे भएर आफ्नै बलबुतामा उभिएकी छन् । ‘मलाई मेरै कथाजस्तो लाग्यो,’ नाटक हेरेपछि उनले भनिन्, ‘आफैंलाई परेको घटना नाटकमा हेर्न पाएँ ।’


पोखरा थिएटरमा तीन दिन मञ्चन भएको नाटक ‘खबर हराएको चिठी’ लाई बेपत्ताका परिवारले आफ्नै ठाने । चार कथा प्लटमा तयार भएको प्रयोगवादी नाटकले उनीहरूको मन छोयो । माछापुच्छ्ेर गाउँपालिका–५ रिभानका देवीलाल लामिछानेले नाटक हेर्दा आँसु थाम्न सकेनन् । बेपत्ता छोरा घर फर्कने आशामा कुरिरहेका बाबुआमाबीचको संवादले उनको मन कटक्क खायो ।


आमाको चित्र बनाउँदा बनाउँदै छोरालाई बेपत्ता पारिएको नाटकको दृश्य हेर्दा उनले आफ्नै छोरा ऋषिरामलाई सम्झिए । पोखरामा ओखतीमुलो गर्न आएका ऋषिरामलाई ०५८ पुस १३ मा राज्यपक्षले पक्राउ गरी बेपत्ता बनाएका थिए । बेपत्ता परिवार समाज कास्कीका अध्यक्ष अर्णनाथ बरालले नाटकले बेपत्ता परिवारको दैनिकी प्रस्तुत गरे पनि कारण नखोतलेको बताए । ‘किन बेपत्ता बनाइयो भन्ने नाटकले उधिनेको भए अझै राम्रो हुन्थ्यो,’ उनले भने ।


नाटकमा अभिनय गर्ने कलाकार स्वयं नरोई सुख पाएनन् । जुम्लामा कटवाल प्रथा धानेर बसिरहेका मनराजको भूमिकामा अभिनय गरेका केदार श्रेष्ठको अभिनय दमदार थियो । बेपत्ता छोरा कुरिरहेका मनराजको संवादले समग्र नाटकको भाव बोल्थ्यो । ‘म बूढो सकीनसकी दमाह बजाउँछु, दुनियाँलाई खबर पुर्‍याउँछु, मेरै खबरचाहिँ कसले भन्दिन्या हो ?’ उनको यो संवादले धेरैको आङ सिरिङ बनायो । दमाहा बजाउँदै गाउँका चिलबाट चल्ला जोगाउन घोक हालिरहँदा उनका आँखाबाट तपक्क आँसु चुहियो । आमा छोरीको भूमिकामा पशुपति राई र बबिता मल्ल ठकुरीको अभिनय पनि धेरैले मन पराए । साकेलाका सिलिमांपाको भूमिकामा देखिएका वारात लिम्बू, चित्रकार छोराका बुबा र आमाको भूमिकामा देखिएका सुदाम सिके र आकांक्षा कार्कीका अभिनयले दर्शकलाई भावुक बनाए । तीनहप्ते कार्यशालाबाट मण्डला थिएटरले नाटक तयार पारेको हो ।

प्रकाशित : भाद्र १३, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?