हास्यव्यंग्यकै गाईजात्रा !

प्रज्ञा प्रतिष्ठानको सभाहलको सामान्य मर्मतसम्भारकै लागि महोत्सव रद्द गर्नुपर्ने स्थिति आउनु ठूलो विडम्बना हो । हाम्रो बाली उठाउने बेला थियो अहिले । - मनोज गजुरेल
सजना बराल

काठमाडौँ — गाईजात्रा । हास्यव्यंग्य कलाकारहरूका लागि दसैं बराबर । तर, यो महान् चाड सबै हास्य कलाकारले यस पालि मनाउन पाएनन् । भन्छन्— सधैँ महोत्सव गर्दै आएको ठाउँ पाइएन, अर्को खोज्नलाई समय घर्किसकेको थियो । यसलाई उनीहरूले गाईजात्राकै गाईजात्रा भएको रूपमा लिएका छन् ।

‘तयारी त थियो हाम्रो,’ कलाकार जितु नेपालले भने, ‘सधैँ महोत्सव गर्दै आएको प्रज्ञा प्रतिष्ठानको भवन पुनर्निर्माण हुँदै छ । त्यो काम नसकिएकाले हाम्रो तयारी पनि त्यसै सेलायो ।’

जितु लगायतका कलाकारहरू स्थान अभावकै कारण महोत्सव गर्नबाट विमुख भए पनि अर्को टोली भने चुप बसेको छैन ।

Yamaha

सांस्कृतिक संस्थान (नाचघर) मा केही दिनयता ‘गाईजात्रा महोत्सव’ चलिरहेको छ । प्रज्ञा प्रतिष्ठानमा महोत्सव गर्ने टोलीमा सहभागी हुँदै आएका प्यारोडी गायक टीका भण्डारी यस पालि नयाँ समूहसँग नाचघरमा सुनिइरहेका छन् । ‘एलेभेन्थ आवरमा प्रज्ञा प्रतिष्ठानको कार्यक्रम रद्द भएको खबर पाएपछि म नाचघरतिर आएँ,’ उनले भने, ‘गाईजात्रा कार्यक्रमकै गाईजात्रा भयो यस पालि !’

जितुले दुई दशकदेखि वर्षेनि प्रतिष्ठानमा गाईजात्रा प्रहसन गर्दै आएका थिए । यस पालि पहिलो पटक गाईजात्रा नगर्दा उनलाई खल्लो लागेको छ । ‘राष्ट्रिय सभागृह महँगो भयो, आर्मी अफिसर्स क्बलमा १२/१५ दिनसम्म कार्यक्रम गर्न सम्भव भएन,’ उनले भने, ‘नाचघर प्याक्ड भइसकेको थियो । वानेश्वरको हल (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) मा अर्कै गाईजात्रा चलिरहेको छ । हामी त घरका न घाटका भयौं †प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम नहुँदा गाईजात्रा प्रहसनको परम्परा भत्कियो ।’

प्रत्येक गाईजात्रामा विशेष प्रस्तुति दिँदै आएका स्टयान्डअप कमेडियन मनोज गजुरेल यसपालि स्कुल/कलेजमा कार्यक्रम गर्दै हिँडेका छन् । प्रज्ञा प्रतिष्ठानको सभाहलको सामान्य मर्मतसम्भार हुँदा नै कार्यक्रम रद्द गर्नुपर्ने स्थिति आउनुलाई उनले ठूलो विडम्बना मानेका छन् । ‘हाम्रो बाली उठाउने बेला थियो अहिले,’ उनले रुन्चे हाँसोमा भने, ‘अब देश/विदेशका कार्यक्रम र महोत्सवबाट पूर्ति गर्नुपर्ला ।’

गजुरेलले गाईजात्रालाई हास्यव्यंग्यको वार्षिक प्रतिवेदन निकाल्ने अवसर ठान्ने गरेका रहेछन् । त्यो प्रतिवेदन यसपालि नयाँ माध्यमबाट दर्शकसामु पेस गर्नुपरेको बताए । ‘नियमित कार्यक्रम गर्न पाइएन,’ उनले भने, ‘अब वर्षभरिको रिपोर्ट निकालेर हामी अरू कार्यक्रममा पेस गर्नेछौं ।’ उनी तिहारमा हुने सिस्नोपानी देउसीमा दर्शकलाई सरप्राइज्ड दिने सोचमा छन् ।

गाईजात्राका दिन रेडियो अडियोले आयोजना गरेको कार्यक्रममा थुप्रै हास्य कलाकार प्रस्तुत भएका थिए । तिनले करवृद्धि, फोहोरमैला लगायत विषयमा व्यंग्य गरे । यता, नाचघरमा जारी महोत्सवमा पनि यी विषयसँगै ट्राफिक जाम, अपरहण र बलात्कारजस्ता सामाजिक समस्यालाई समेटिएको छ ।

फिल्ममा व्यस्तता
हल अभावलाई कारण देखाए पनि खासमा फिल्मी गतिविधिका कारण गाईजात्रा नगरिएको भन्ने हल्ला छ । हास्य कलाकारहरू फिल्मतिर लागेकाले स्टेज कार्यक्रमलाई वास्ता नगरेको भनिन्छ । केहीले त दसैंमा प्रदर्शन हुन लागेको ‘छक्का पञ्जा ३’ लाई प्रभाव पर्ने भएकाले पनि ‘तिते–जिरे मेरी बास्सै गाईजात्रा महोत्सव’ नगरिएको बताएका छन् ।

‘छक्का पञ्जा’ शृंखलाकी निर्देशक दीपाश्री निरौला भने यस्ता हल्लालाई वाहियात मान्छिन् । ‘गाईजात्रा नहुनु हाम्रा लागि घाटैघाटा छ,’ उनले भनिन्, ‘फिल्मको प्रचारप्रसार गर्न पाइएन । कतिपय कलाकारले यसबाट राम्रो आम्दानी गर्दै आउनुभएको थियो, त्यो पनि रोकियो । स्टेजमा प्रस्तुति दिने अवसर गुम्यो ।’ भृकुटीमण्डपमा डोम (स्टेज) बनाएर कार्यक्रम गर्नेबारे सोचे पनि झरीका कारण अप्ठयारो पर्ने देखेर चुप बसेको उनको भनाइ थियो ।

‘सुरुमा त एकेडेमीले गाईजात्रासम्म हल तयार हुन्छ भनेको थियो,’ दीपाले भनिन्, ‘तर, बीचमा आएर पुनर्निर्माण सकिने/नसकिनेमा द्विविधा भयो । अन्तिममा आएर नहुने नै भएपछि हामीसँग नगर्नुको विकल्प रहेन ।’ विगतमा हप्ता–पन्ध्र दिनसम्म गाईजात्रा महोत्सवमा व्यस्त हुँदै आएकी उनी यसपालि अमेरिकामा हुने फिल्म अवार्डका लागि बिहीबार देश छोडदै छिन् । ‘अब अर्को साल डबल हँसाइन्छ,’ उनले भनिन् ।

बहाना मुलुकी संहिता
हालै लागू नयाँ मुलुकी संहिता (ऐन) ले हास्यव्यंग्य (क्यारिकेचर) क्षेत्रलाई अंकुश लगाएको कतिपय कलाकारको भनाइ छ । पञ्चायत र राणाकालमा समेत गाईजात्रा महोत्सवमा व्यंग्य गर्न छुट भए पनि अहिले त्योभन्दा कडा अवस्था आएको जितुले बताए । ‘बरु, त्यो बेला हामीलाई मुलुकी ऐन लाग्दैन थियो,’ उनले भने, ‘अहिलेको सरकार व्यंग्य पचाउन नसक्ने खालको भयो ।’

मनोज भने व्यंग्यको नाममा अराजकता मच्चाउन नहुने तर्क गर्छन् । तर, आफूहरू सेल्फ एडिटेड अर्थात् स्वसम्पादित हुने कुरालाई पनि भुल्न नहुने बताउँछन् । ‘नयाँ ऐनले हामीलाई प्रत्यक्ष आक्रमण गरेको छैन,’ मनोजले भने, ‘तर, सत्तावालाको व्यक्तिगत इगोमा ठेस पुग्यो भने तिनले यही कानुनमाथि टेकेर हामीलाई कस्न सक्ने ठाउँचाहिँ छ ।’

नयाँ कानुन कै कारण पो गाईजात्रा प्रहसन नगरिएको हो कि भन्नेहरू पनि एकातिर छन् ।

शैली फेर्ने बेला
पछिल्ला वर्षका गाईजात्रा महोत्सव विवादित बन्दै आएका थिए । द्विअर्थी संवाद र भद्दा प्रस्तुतिको आलोचना गर्ने गरिएको थियो । यही कारण दर्शक संख्या घट्न थालेपछि गाईजात्राको आकर्षण खुइलिँदै गएको बताइन्छ । तर, दुई दशकदेखि गाईजात्रामा प्यारोडी गाउँदै आएका टीका पोहोरको महोत्सव भव्य भएको सम्झन्छन् । ‘यसपालि एकेडेमीमा कार्यक्रम नहुँदा कतिपय दर्शकले खल्लो मान्नुभएको छ,’ उनले भने ।

मनोज चाहिँ अबको हास्यव्यंग्यमा ठाडो गाली र आक्रोश मेटाउन आवश्यक रहेको ठान्छन् । सभ्य र शिष्ट व्यंग्य मीठो हुने उनको बुझाइ छ । ‘मैले ओलीको व्यंग्य गर्दा उहाँले मनन गर्न सक्नुहोस्,’ उनले भने, ‘हाम्रो व्यंग्य शैलीलाई पुनर्ताजगी गर्ने बेला आएको छ । एउटा फम्र्याटको आयु एक दशक हो । अब फम्र्याट फेर्नुपर्छ । हामीले आफूलाई सुधार्नुपर्छ ।’

प्रज्ञा प्रहसन
२०५०/५१ देखि प्रतिष्ठानमा नियमित गाईजात्रा महोत्सव हुँदै आएकामा यसपालि थिति तोडिएको मनोजको भनाइ छ । ‘हाइड्रोसाइड्रोमा लगानी गर्ने ठूला संघसंस्थाले काठमाडौंमा एउटा अन्तर्राष्ट्रिय स्तरको हल बनाइदिए हुने,’ उनले भने, ‘यसो गर्दा राष्ट्रलाई योगदान पनि हुने थियो ।’

तत्कालीन प्रज्ञा प्रतिष्ठानकै गाईजात्रा मञ्चबाट सन्तोष पन्त, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यदेखि किरण केसी, राजाराम पौडेल, दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, दमन रुपाखेती, सीताराम कट्टेल, कुञ्जना घिमिरे, सबिता गुरुङ, शिवहरि पौडेलसम्मका कलाकार उदाएका हुन् । यीसँगै प्यारोडी गायनमा टीका भण्डारी, यमन श्रेष्ठ अनि स्टयान्डअप कमेडीमा मनोज गजुरेल, हास्य कवितामा शैलेन्द्र सिम्खडाहरू पछिल्लो समय चर्चित थिए ।

प्रकाशित : भाद्र १४, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नयाँ पुस्ताले गाए गोपाल योञ्जन

सजना बराल

काठमाडौँ — समाज निर्माणमा संगीत–साहित्यको भूमिका के हुन्छ ? संगीत र फिल्मले कसरी दिशानिर्देश गर्छन् ? हत्या–हिंसा, बलात्कार जस्ता अपराध बढ्नु वा बौद्धिक पलायनमा रुचि बढ्नुमा कलाको कस्तो प्रभाव हुन्छ ? आइतबार यी प्रश्नको जवाफमा संगीतज्ञ गोपाल योञ्जन जोडिएर आए ।

सांस्कृतिक संस्थान (नाचघर) मा योञ्जनका गीत–संगीतमाथि लामै परिचर्चा भयो । संगीतकर्मी, साहित्यकार, पत्रकारदेखि राजनीतिकर्मीले योञ्जनलाई आ–आफ्ना कोणबाट औंल्याए । उनका राष्ट्रिय गीतलाई पर्गेल्ने क्रममा अधिकांश वक्ताले गोपाललाई क्रान्तिकारी रचनाकार भन्न रुचाए ।

‘गोपाललाई अनुसरण नगर्नाले नै अहिले बलात्कारजस्ता घृणित घटना भइरहेका हुन्,’ गायक रामेशले भने, ‘उनलाई बुझ्ने युवा अमेरिका पलायन हुँदैन ।’
‘गोपाल योन्जनका गीत आत्मबल जगाउने खालका, सबै समुदायको पहिचान प्रस्तुत गर्ने खालका, बिम्बले भरिपूर्ण छन् । उहाँले भूगोललाई राष्ट्र मान्नुभएको छैन । राष्ट्र भनेको संस्कृति, जनताको आत्मबल र देशभक्ति हो भन्ने चेत उहाँका गीतमा पाइन्छ ।’

रामेशले अहिलेको भद्दा कलाकारिताकै कारण समाजमा विकृति र अपराध जागेको बताए । ‘काटमारबिनाका फिल्म बन्दैनन्,’ उनले भने, ‘नारीलाई आकर्षक वस्तुका रूपमा देखाइन्छ । पैसाको लागि दौडिन्छन् पात्रहरू । संगीतको उस्तै हालत छ । त्यस्ता चिजले युवालाई दिग्भ्रमित पारेका छन् ।’

गोपाललाई गायक र संगीतकारको मात्र पगरी गुथाएर उनको गीतकार छविलाई कसरी अलग पारिँदै छ भन्नेबारे पनि बहस चल्यो ।

‘गीत लेखन भनेको प्राज्ञिक सत्ताको विषय हो’, कवि भुपाल राई बोले, ‘यो विषयमा निश्चित जात र धर्मको सिन्डिकेट छ । त्यहाँ गोपाल योञ्जनलाई समेटिँदैन । उनलाई केवल गायक र संगीतकार भनेर सांस्कृतिक सत्तामा सीमित राखिएको छ ।’

गायक रामेशले पनि गोपाल विचारप्रधान गीतकार भएकाले उनको काव्यिक पहिचान स्वीकार गर्नैपर्नेमा जोड दिए । ‘शब्दमा विचार हुन्छ, लयमा हुँदैन,’ रामेशले भने, ‘गोपालका विचारको सम्मान गरिनुपर्छ ।’

पञ्चायत कालमा आफूहरू भूमिगत ढंगले सांगीतिक क्रान्तिमा लागिपर्दा गोपालले सत्ताबाट प्राप्त सीमित स्वतन्त्रतामै कलात्मक संगीत उत्पादन गरेको कवि स्नेह सायमीले सम्झिए । आफूहरू एउटै पथमा भए पनि कहिल्यै भेट हुन नसकेको भन्दै उनले खिन्नता प्रकट गरे । त्यही बेला भुपालले थपे, “रामेश/रायनहरू भूमिगत हुँदा, गोपाल योञ्जनले मुलधारको संगीत बजारमा एक्लै कुस्ती खेलेका थिए । ‘सुन्दर, शान्त, विशाल नेपाल...’ गाउनुपर्ने बेला उनले समाजको अशान्ति र यथार्थ देखाए ।”

‘बनेको छ पहराले...’, ‘यो मेरो टोपी...’, ‘देशले रगत मागे...’, ‘घर त मेरो हिमाली...’ जस्ता गीतको उदाहरण दिँदै गीतकार डा. कृष्णहरि बरालले पनि गोपालका गीतमा व्यक्त राष्ट्रभावको मर्म र चरित्र केलाए । ‘उहाँका गीत आत्मबल जगाउने खालका, सबै समुदायको पहिचान प्रस्तुत गर्ने खालका, बिम्बले भरिपूर्ण छन्,’ उनले भने, ‘उहाँले भूगोललाई राष्ट्र मान्नुभएको छैन । राष्ट्र भनेको संस्कृति, जनताको आत्मबल र देशभक्ति हो भन्ने चेत उहाँका गीतमा पाइन्छ ।’

देशबारे दीक्षित गराउने काम गोपालले गरेको भन्दै युवा कवि अनिता लामाले उनले संगीतमार्फत स्वतन्त्रता र क्रान्तिको हुँकार दिएको बताइन् ।

‘उहाँका गीतले परिवर्तनको प्रतिनिधित्व गर्छन्,’ राजनीतिकर्मी मणि थापाले भने, ‘त्यो बेला नै उहाँले गीतमार्फत् नेपालको अन्तर्राष्ट्रिय परिभाषा दिनुभएको छ ।’ मूलधारको संगीतमा आधुनिकीकरण गर्ने जस गोपाललाई नै दिनुपर्ने उनले बताए ।

समारोहमा गीतकार चूडामणि देवकोटा, समालोचक रामप्रसाद ज्ञवाली, बम बानियाँ र पत्रकार आस्था केसीले पनि गोपालका राष्ट्रिय गीतमाथि आ–आफ्ना बुझाइ व्यक्त गरे ।

संस्कृतिमन्त्री रवीन्द्र अधिकारीले आफू गोपाललाई नै सुनेर हुर्किएको अनि उनका गीतबाट प्रभावित भएको बताए । ‘उहाँका विचार, योगदान, प्राज्ञिकतालाई व्यापक बनाऔं,’ उनले भने, ‘गम्भीर संगीतलाई छानी–छानी प्रमोट गर्ने संस्कार बसालौं । यसका लागि देशव्यापी अभियान चलाऔं ।’

मधुरिमा नेपाल र सांस्कृतिक संस्थानद्वारा आयोजित कार्यक्रमको दोस्रो चरणमा कलाकारहरूले गोपालका आठ प्रस्तुत गरे । ‘देशले रगत मागे...’, ‘तिमी देऊ या नदेऊ...’, ‘बनेको छ पहराले...’, ‘मेरो पाउमा आज...’, ‘कहिलेकाहीँ मनका कुरा...’, ‘जीवनको हरेक मोडमा...’, ‘जुत्तामा हेर्दामा...’ र ‘हाम्रो खुसीको लागि...’ लाई आकाश थापा, दीपेन्द्र बज्राचार्य, राधिका भण्डारी, निर्मला घिसिङ, तीर्थराज पोखरेल, शिला विष्ट, इन्दिरा गोले लगायतले गाएका थिए ।

प्रकाशित : भाद्र १०, २०७५ २१:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT