कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उठ्दै छ थारू फिल्म

‘मातृभाषी फिल्म बनाउने हो भने व्यापार मात्रै पनि हेरेर हुन्न । समुदायको लागि योगदान पनि त हो नि !’
ठाकुरसिंह थारू

नेपालगन्ज — थारू भाषाको फिल्म ‘भुरभुरा रहर’ दसैंमा प्रदर्शन हुने तरखरमा छ । मूलधारको नेपाली फिल्ममा जत्तिकै लगानी रहेको भनिएको फिल्मको सुटिङमा अत्याधुनिक क्यामेरा र ड्रोनसमेत प्रयोग गरियो । मुख्य कलाकारहरू इन्द्र चौधरी र नायिका भीष्माकुमारी चौधरीले राम्रै पारिश्रमिक लिए ।

उठ्दै छ थारू फिल्म

यी उदाहरणले पछिल्लो समय थारू फिल्म उद्योग उठ्दै गरेको संकेत गर्छन् । ‘भुरभुरा रहर’ का निर्माता हुन् रामलाल चौधरी । थारू फिल्ममा २० लाखभन्दा माथिको लगानी जोखिमयुक्त मानिन्छ । तर उनी भने लगानी उठ्नेमा ढुक्क छन् ।

‘पूर्वदेखि पश्चिमसम्मको तराई बेल्टमा थारू समुदायका लाखौँ दर्शक छन् । त्यसैले मेरो फिल्मले लगानी उठ्नेमा म ढुक्क छु,’ उनले सुनाए, ‘मलुकभरि एकसाथ प्रदर्शनको तयारीमा छौँ ।’

उक्त फिल्म निर्देशन गरेका हुन् सञ्चारकर्मीसमेत रहेका मदन चौधरीले । कथावस्तुमा मिहिनेतसँगै प्रविधिको भरपुर प्रयोग गरिएका कारण फिल्मले राम्रै बजार लिने दाबी छ उनको । ‘थारू मातृभाषामै फिल्म हेर्नेको लहर पनि पछिल्लो समय बढेको छ,’ उनले भने, ‘त्यही भएर अब लगानी र गुणस्तर दुवै दिनुपर्छ ।’

हुन त वर्षदिनअघि प्रदर्शनमा आएको ‘तुहारविना का जिना’ फिल्मले पनि राम्रो बजार लियो । जम्माजम्मी १० लाख रुपैयाँमा बनेको फिल्मले लगानी उठाएर राम्रो मुनाफा गरेको दाबी छ । अभिनेत्री अनुराधा चौधरी आफूले यो फिल्मबाट राम्रै पारिश्रमिक लिएको बताउँछिन् ।

अभिनेता सुरजको पनि दाबी त्यस्तै छ, ‘मेरो अभिनय यात्रामा सबैभन्दा बढी पारिश्रमिक लिएको यही फिल्म हो । थारू फिल्ममा पारिश्रमिक पाउनु नै पनि ठूलो कुरा हो ।’

दर्जनभन्दा बढी थारू फिल्ममा अभिनय गरिसकेकी अनुराधा भने पारिश्रमिक मात्रै पनि ठूलो कुरा नभएको बताउँछिन् । ‘मातृभाषी फिल्म बनाउने हो भने व्यापार मात्रै पनि हेरेर हुन्न,’ उनले भनिन्, ‘समुदायको लागि योगदान पनि त हो नि ।’

त्यसो त करिअरका सुरुआती दिनमा युवाहरू सोखकै लागि मात्रै पनि फिल्ममा आउने गरेका छन् । पछिल्लो समयमा भने निर्माताहरूले कलाकारलाई पारिश्रमिक दिन थालेका छन् । ‘तुहारविना का जिना’ भन्दा अघि अनुराधाले ‘अभागिन बनल सुहागन’ मा पनि राम्रै पारिश्रमिक लिएकी थिइन् । ‘बौछार’, ‘जाली संसार’, ‘लुटल जिन्दगी’, ‘करम’, ‘बहार’ लगायतका फिल्म पनि उनले सित्तैँमा खेलिनन् । डोटेली भाषाको ‘सोरै’ मा विरज भट्टसँग स्क्रिन सेयर गरेकी उनले पछिल्लो समय फिल्मसँगै म्युजिक भिडियोतिरको यात्रा पनि लोभलाग्दो बन्दै गरेको बताइन् । उनी थारू म्युजिक भिडियोका व्यस्त मोडलमध्ये पनि पर्छिन् ।

म्युजिक भिडियोका हकमा नयाँपुस्ते मोडल सुनीता दहित पहिलो नम्बरमा छिन् । हालसम्म नेपाली र थारू गरी दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी २१ वर्षे सुनीता एउटा भिडियोका लागि ४० हजार रुपैयाँसम्म पारिश्रमिक लिन्छिन् । ‘सोखसँगै कमाइ पनि राम्रो हुँदै गएको छ,’ उनले भनिन्, ‘व्यावसायिक करिअरकै लागि पनि यो क्षेत्र भरपर्दो बन्दै छ ।’

सुनीतालाई नै पछयाउँदै छन् बर्दियाकी मोडल ऋतु नानु र बाँकेकी रविना चौधरी । यी दुई पनि दर्जनभन्दा बढी थारू गीतमा देखिइसकेका छन् । ऋतुले अभिनय गरेकामध्ये ‘हाई मोर डार्लिङ...’, ‘चौअन्नी मुस्कान...’, ‘मचैलो धमाल...,’ ‘कोकोकोला फिगर...’, ‘आँखिक इसारा...’, ‘लभ यु..’, ‘फूलकुमारी...’ लगायतका भिडियो चलेकामा पर्छन् । ‘अहिले पनि म्युजिक भिडियोका लागि अफर आइरहेको छ,’ ऋतुले भनिन्, ‘पढाइसँगै मोडलिङलाई पनि निरन्तरता दिँदै आइरहेकी छु ।’

उता, गीतहरू पनि धमाधम रेकर्ड भइरहेका छन् । बाँकेका गायक खेम भौगोरियाले एक सय गीत गाइसकेका छन् । कतिपयको म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । पछिल्लो समय थारू युवामाझ नाम कमाएका विश्वसागर परियारका ४० भन्दा बढी म्युजिक भिडियो आइसकेका छन् । ती अधिकांश भिडियो युवा लक्षित छन् ।

‘हरेक गीतमा दर्शकलाई नचाउने मेरो उद्देश्य हो । त्यसमा सफल पनि भएको छु,’ उनले भने, ‘एउटा गीतका लागि २५ हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेको छु ।’

मोडलका रूपमा भने पछिल्लो समय नरेश जगन्नाथ, दीपक, राम, राजकुमार र मनोज चौधरी लगायतका युवाहरू म्युजिक भिडियोतिर तानिएका छन् ।

प्रकाशित : भाद्र १४, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?