कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

काठमाडौंमा ‘सेमरिन मुला माया’ 

काठमाडौँ — तराईबाट प्रदर्शन यात्रा थालेको तामाङ कथानक फिल्म ‘सेमरिन मुला माया’ (मनकै छ माया) आउँदो शनिबार राजधानीमा प्रिमियर शो हुँदैछ ।

काठमाडौंमा ‘सेमरिन मुला माया’ 

सञ्जय हुत्त लामाको निर्देशन रहेको फिल्म यही १६ गते बौद्धस्थित सिद्धार्थ हलमा प्रदर्शन हुन लागेको हो । सर्लाहीको हरिऔन सिनेमाघरमा केही अघि देखाइएको यो फिल्मले तामाङ समुदायको राम्रै मन जितेको थियो ।


यसअघि ‘क्राबा ङाला सेम’ (रोएको मेरो मन) बनाएका सञ्जयको तामाङ बाहुल्य रहेको प्रदेश नं ३ का विभिन्न जिल्लामा पनि फिल्म लैजाने बताए । ‘यी सबै विशेष सो हुन्,’ उनले भने, ‘अल नेपाल रिलिज पुस १३ देखि हुँदै छ ।’ उनका अनुसार मूलधारका वितरकहरुमार्फत अल नेपाल रिलिज हुन लागेको यही पहिलो तामाङ मातृभाषी फिल्म हो । ‘राम्रो फिल्म बन्यो भने दर्शक र बजार दुवै छ,’ उनले भने, ‘मातृभाषी फिल्मकर्मीका लागि यो सुखद अवसर हो ।’


फिल्ममा भने उनले झुक्किएर हुने स्वाँगेभाइ (सहगोत्री) विवाहको मुद्दा उठाएका छन् । ‘तामाङ समुदायमा सयभन्दा बढी थर छन्,’ काभ्रेको नमोबुद्धका सञ्जयले भने, ‘थर प्रणाली थाहा नहुने नयाँ पुस्ताका लागि यो फिल्म विशेष पाठ हुन सक्छ ।’ आफूले सकभर तामाङ सांस्कृतिक परिवेशलाई फिल्ममा समेटेको पनि उनले दाबी गरे ।


अभिनेता सविन श्रेष्ठको समेत विशेष भूमिका रहेको फिल्ममा उनी आफैं पनि खेलेका छन् । खुसी घिसिङ, संगीता दोङ, भीम तामाङ, राजु झक्कास वाइबा, कमल लोप्चन, कमल योञ्जन, निमा दोङ, रुचिका गोले र निक्की दोङको लगायतको अभिनय छ ।


मुस्ताङ, नुवाकोट र काठमाडौंमा खिचिएको फिल्म सम्झना तामाङ र लोसाङ लामा (इशान) ले निर्माण गरेका हुन् । निर्देशनमा सञ्जयलाई अर्जुनले सघाएका छन् । सञ्जयकै कथामा बनेको फिल्ममा रामेश्वर जिरेलको छायांकन, राजु दोङको द्वन्द्व रहेको छ भने अजय स्याङ्तान र दीपक तामाङको कोरियोग्राफी छ ।

प्रकाशित : भाद्र १४, २०७५ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?