संगीतमा छैन सहकार्य

सजना बराल

काठमाडौँ — नारायणगोपालले गाएको ‘एउटा मान्छेको मायाले कति...’ गीतको संगीत तयार पार्न दीपक जंगमलाई त्यो बेला हम्मेहम्मे परेको थियो ।

चाँदनी शाहका शब्दलाई आफूले बीसौं पटक अलगअलग लयमा प्रयोग गर्दै नारायणगोपाललाई सुनाएको दीपक सम्झन्छन् । ‘सकेसम्म गीतकार, संगीतकार, गायक र वाद्यवादक सबैबीच सहकार्य हुन्थ्यो,’ उनी भन्छन्, ‘एकअर्काको सुझबुझ मिसाएर गीत तयार पाथ्र्यौं ।’

उनकै कुराबाट प्रस्ट हुन्छ, संगीत सिर्जनाको परम्परागत शैली सामूहिक पहलमा आधारित थियो । अहिले शैली फेरिएको छ । समूहभन्दा पनि एक्लैले सबैथोक ‘हयान्डल’ गर्ने चलन आएको छ । गीत लेख्ने, संगीत भर्ने, गाउने र एरेन्जमेन्टको कामसमेत एकै जनाले सम्हालेको हामी देख्छौं । सफ्टवेयरमै धुनहरू उपलब्ध भएपछि वाद्यवादकको जरुरी पर्न छोडेको छ । यसरी हेर्दा संगीतमा सहकार्य टुटदै गएको आभास हुन्छ ।

पछिल्लो पटक फिल्मी गीतमा खुब जमिरहेका राजनराज शिवाकोटीलाई नै हेरौं । उनी संलग्न ‘सुर्के थैली खै...’, ‘पूर्व(पश्चिम रेल...’, ‘चरी चट्ट परी...’, ‘कुटुमा कुटु...’ लगायत जति पनि चर्चित गीत छन्, सबैमा राजनकै शब्द, संगीत र गायन छ । उनले गायन र एरेन्जमेन्टमा भने अरूको सहयोग पनि लिएका छन् । ‘मलाई सुट हुने, मेरो प्याटर्न सुहाउँदो गीत भयो भने आफैं गाउँछु,’ राजनराजले भने, ‘मेरो स्वरमा सहज महसुस भएन भने मेरा कम्पोजिसन र रचना अरूलाई दिन्छु ।’

राजनराज आफूले अरूका शब्दमा पनि संगीत भर्दै आएको दाबी गर्छन् । आफ्नो कम्पोजिसनमा नवीन के भट्टराई, अनिल सिंह, सुगम पोखरेल, अञ्जु पन्त, रामकृष्ण ढकाल लगायत गायकगायिकाले आवाज दिएको उनले बताए । ‘संगीत भनेको सिक्ने प्रक्रिया हो,’ उनले भने, ‘यो कहिल्यै पूर्ण हुँदैन । आफूले गाएर, अरूलाई गाउन दिएर, आफैं लेखेर र लेख्न लगाएर सिक्छौं हामी ।’ अरूका शब्द बलिया नलागेको खण्डमा आफैंले लेख्ने गरेको उनको भनाइ छ ।

राजनराज प्रतिनिधि संगीतकर्मी हुन् । पछिल्लो पुस्ताका म्युजिसियन आफूलाई एकै विधामा सीमित राखिरहेका छैनन् । युटयुबबाट परिचित भएकाहरू यस मामिलामा अझ अगाडि छन् । नितेशजंग कुँवर, तृष्णा गुरुङ, सज्जनराज वैद्य, बार्तिका राईलगायत गायकगायिकाहरू आफ्ना लागि प्राय: आफैं शब्द सिर्जना गरेर संगीत भर्दै गाउँछन् । संगीतमा ‘वान म्यान आर्मी’ शैली अपनाइन थालिएको छ ।

Yamaha

‘सबैथोक जान्नु त टयालेन्ट हो नि,’ गायिका तृष्णा गुरुङ भन्छिन्, ‘आफ्नो आइडिया अरूसँग म्याच नहुन सक्छ । मेरा शब्दको फिलिङ्स मैले नै बढी बुझ्न सक्छु । आफैंले लेखेर र संगीत भरेर गाउन सक्नु हाम्रा लागि प्लस प्वाइन्ट हो ।’ यसो गर्दा स्रष्टाले गीतलाई सबै कोणबाट केलाउन सक्नुपर्ने उनले बताइन् । त्यसो त उनलाई सहकार्य अझै ‘बेटर अप्सन’ हो भन्ने पनि लाग्छ । ‘अलगअलग आइडिया जोडिँदा झनै राम्रो परिणाम आउँछ,’ उनी भन्छिन्, ‘मैले अरूका गीत पनि गाएकी छु ।’

नेपालमा मात्र नभएर विदेशतिर पनि गायक/संगीतकारले आफैं शब्द रचेर गाउने गरेको देखिन्छ । एड सिरन, टेलर स्विफ्ट, सिया, एडल, केसालगायत गायकगायिकाले गीत लेखनमा पनि आफूलाई स्थापित गराएका छन् । उनीहरूमध्ये अधिकांशचाहिँ अर्को गीतकारसँग सहकार्य गरिरहेका हुन्छन् । जस्तै, ‘समवन लाइक यु...’ गीतमा एडल र गायक डान विल्सनको संयुक्त शब्द रचना छ । एड आफ्ना लागि जति गीत लेख्छन्, अरूका लागि पनि उत्तिकै लेखिदिन्छन् ।

र्‍याप सुपरस्टार मानिने ड्रेकलाई केहीअघि गीत लेखनमा अदृश्य लेखक प्रयोग गरेको आरोप लागेको थियो । उनी घोस्ट राइटरलाई गीत लेखाउँछन् भन्ने कुरा व्यापक बनेपछि ड्रेकले भनेका थिए, ‘संगीतमा सहकार्य गर्नु के अनौठो भयो ? यो त झनै राम्रो काम हो ।’

आधुनिकमा सहकार्य राम्रो
गीत भनेको शब्द, संगीत र गायनको त्रिवेणी भएकाले तीनवटा नदी एउटैले पार गर्दा गीत कमजोर बन्न सक्ने गीतकार राजेन्द्र थापा बताउँछन् । ‘लोकशैलीमा कम्पोजिसन र शब्द सँगसँगै हुने हुँदा संगीतकार स्वयंले लेख्नु स्वाभाविक हो,’ उनले भने, ‘तर, आधुनिक गीतमा तीन बेग्लाबेग्लै स्रष्टाको एक त्रिवेणी राम्रो हुन्छ । एक बेस्टले सबै गर्नुभन्दा तीन बेस्टले एक गर्नु राम्रो ।’

थापाले अम्बर गुरुङ र गोपाल योञ्जनहरूले पनि गीत लेख्दै गाउने गरेको बताए । उनका अनुसार यो पुरानै चलन हो । तर, पूर्वीय संगीत सभ्यतामा शब्द, संगीत र गायनलाई तीन अलग विधा मानिएकाले तीन अलग स्रष्टाको आआफ्नै विशेषता हाल्नु उचित हुने उनको तर्क छ । ‘तीन जना आआफैं हेडमास्टर हुन्,’ उनले भने, ‘एउटै स्रष्टा सबैतिरको हेडमास्टर हुँदा कुरा खलबलिन्छ ।’

संगीतकारले नै गीत लेख्दा उसको संगीतकार दिमाग बढी हाबी हुने थापाको बुझाइ छ । यसले गर्दा गीत कमजोर बन्न सक्ने बताए । ‘अचेल पारिश्रमिकको कारण पनि संगीतकार र गायक आफैंले गीत लेख्न थालेका हुन्,’ उनले भने, ‘यसो गर्दा गीतकारलाई दिने पारिश्रमिक बच्ने भयो नि ।’

प्रकाशित : भाद्र १७, २०७५ ०९:४२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

प्याराडाइज खोज्दै नेपाल

सजना बराल

काठमाडौँ — कुनै गह्रौं सामान उचाल्दा वा त्यसलाई धकेल्दा हामी के भन्छौं ? होस्टे, हैंसे । तर, विसं २०१३ मा खिचिएको भिडियोमा गाडी र मोटरसाइकल बोक्दै गरेका भरियाहरू यसरी बोल्दैनन् ।

उनीहरू त ‘भन भन भाइ हो, देउसिरे’ भन्दै बल लगाइरहेका देखिन्छन् । प्रसंग ‘सर्च फर प्याराडाइज’ डकुमेन्ट्रीको ।


राजा महेन्द्रको राज्याभिषेकका अवसरमा आएका लोवेल थोमस र उनको जम्बो टोलीले त्यो बेलाको काठमाडौंलाई क्यामेरामा कैद गरेका थिए, जुन बिहीबार थापाथलीस्थित मार्टिन चौतारीमा देखाइयो । त्यसमा देउसिरेको प्रसंगभन्दा पनि मोटर बोकिएका दृश्यप्रति इतिहासविद् र डकुमेन्ट्री समीक्षकले चासो दिने गरेका छन् । त्यो बेला मोटर बोकेर ल्याउने चलन हटिसकेको तिनको भनाइ छ । त्यो डकुमेन्ट्रीमा ती दृश्य वास्तविक नभएर अभिनय गराइएको डकुमेन्ट्रीमेकर एवं पत्रकार मोहन मैनालीले बताए ।


लोवेलले राज्याभिषेकलाई नजिकबाट खिच्ने मौका पाएको उल्लेख गर्दै मैनालीले भने, ‘उनले राजालाई यस्तो गर्नू, त्यस्तो नगर्नू भनेर सल्लाहसमेत दिएका थिए रे †’
मैनालीका अनुसार, त्यो बेला बेलायतको पत्रिकाले लोवेलले बोलेको ‘वेल डन किङ’ शब्दलाई नै शीर्षक बनाएर समाचार छापेको थियो । यसरी हेर्दा राज्याभिषेकका कतिपय अंश पनि स्वाभाविक नभएर ‘स्टेज्ड’ भएको मानिन्छ । ‘डकुमेन्ट्रीमा गर्न नहुने चिज यसमा भएकाले मैले मेरो आर्टिकलमा यसलाई डकुमेन्ट्री नभएर फिचर फिल्म भनेको थिएँ,’ मैनालीले भने, ‘तर, त्यो बेलाको हाम्रो युग, चलन र वातावरण बुझ्न यसले धेरै सघाउँछ ।’


माइकल पिसेलको पुस्तक ‘टाइगर फर ब्रेकफास्ट’ र ‘सर्च फर प्याराडाइज’ को ट्रेलर हेरेका भरमा आर्टिकल लेखेका मैनाली बिहीबार फुल लेन्थ फिल्म हेर्न पाएर निकै हर्षित देखिए । फिल्म समीक्षक समाज नेपाल (फिक्सन) ले मार्टिन चौतारीमा गर्दै आएको ‘फिक्सन सेरिज’ मा यस पालि लोवेलले खिचेको पुरानो नेपाल देखाइएको थियो, जुन फिल्ममेकर अमिताभ जोशीले अमेरिकाबाट ल्याएका हुन् ।


‘यस्ता ऐतिहासिक डकुमेन्ट्री अझै खोज्न बाँकी छ,’ जोशीले भने, ‘यसबाट तत्कालीन समाजका धेरै कुरा थाहा पाउन सकिन्छ ।’


त्यसअघिका राज्याभिषेकमा क्यामेरा प्रतिबन्ध रहेको भनेर लोवेल स्वयंले आफ्नो भिडियोमा बोलेका छन् । उनले चाहिँ कसरी नजिकबाट खिच्न पाए ? ‘लोवेल अमेरिकी राष्ट्रको प्रतिनिधिका रूपमा पनि उपस्थित भएकाले भिडियो खिच्ने अवसर पाएको हुनुपर्छ भन्ने एकथरी भनाइ छ,’ मैनालीले भने, ‘राजाको श्रीपेचमा लगाइएको चराको प्वाँख उनैले अमेरिकाबाट ल्याएका रहेछन् । श्रीपेचको पछिल्लो भाग (कल्की) मा बर्ड अफ प्याराडाइज प्रजातिका सय वटा चराका प्वाँख राखिएका छन् ।’ ती प्वाँख संग्रहालयका चराको भएको बताइन्छ ।

सिनेरामा शैली
डकुमेन्ट्रीको सिनेमाटिक फम्र्याटको सन्दर्भ कोट्टयाउँदै अमिताभ जोशीले सिनेरामा अर्थात् यो वाइड स्क्रिन शैलीमा खिचिएको हुनाले यसको ‘क्लासिक भ्यालु’ रहेको बताए । ‘यसमा क्लोज सट लिन गाह्रो हुन्थ्यो,’ उनले भने, ‘लिए पनि दृश्य टुक्रिन्थे । ३५ वा १७ मिलिमिटरका तीनवटा क्यामेराले खिच्नुपथ्र्यो ।’ सिनेमास्कोप प्रविधि आएपछि वाइड स्क्रिन सट लिन सहज भएको अमिताभले बताए ।


सिनेरामा फम्र्याटका फिल्म देखाउन हलमा समेत तीनवटा प्रोजेक्टर आवश्यक हुने गरेको अमिताभको बुझाइ छ । लोवेलको डकुमेन्ट्रीलाई सामान्य प्रोजेक्टरबाट हेर्दा प्रकाश र रङ अमिल्दो देखिन्छ । ‘आजै पनि कति वटा दृश्य सेताम्मे देखियो,’ उनले भने, ‘यो त झन् रेस्टोरेसनपछिको भिडियो हो । सन् २०१४ मा क्यालिफोर्नियाका फिल्मकर्मीले यसको रेस्टोरेसन गरेका थिए । मैले उनीहरूबाटै यो सीडी पाएको हुँ ।’

नेपाल चासो
राणा शासन अन्त्यपछिको प्रजातान्त्रिक नेपालमा महेन्द्रको राज्याभिषेकलाई अवसर बनाई थुप्रै विदेशी कूटनीतिज्ञ नेपाल आएको मैनालीले बताए । उनीहरूले त्यसलाई सम्भवत: अन्तिम राज्याभिषेक मानेका थिए । यही कारण विदेशीहरू बडो चासोसाथ हप्तौं हिँडेर नेपाल आएको उनको बुझाइ छ । ‘१ सय ६० जना पत्रकार र ४ सय विदेशी पाहुना आएको तथ्य छ,’ उनले सुनाए, ‘नेपालप्रति विदेशीको ठूलो चासो थियो ।’


माइकल पिसेलको किताबलाई उद्धृत गर्दै मैनालीले थपे, ‘राज्यको स्पोन्सरसिप पनि थिएन होला । भुटानी र सिक्किमी पाहुनालाई ब्रेकफास्ट दिन बिर्सिएको थियो रे † यहाँ फ्रिज नभएर कलकत्ताबाट आइस मगाएका कुराले पनि पाहुनाहरू स्वत:स्फूर्त आएको बुझ्न सकिन्छ ।’ भौगोलिक र जातीय सौन्दर्यको प्रचार भएकाले त्यही आकर्षणका कारण उनीहरू आएको हुनुपर्ने उनले अनुमान गरे ।


लोवेल आफैं भने १४ फोटोग्राफर, सहयोगी र अन्य क्रु मेम्बरसहित आएको मैनालीको दाबी छ । उनले दिल्लीबाट बीस वटा गाडी मगाएका थिए । ‘आफैं गाडी चढेर आएका मान्छेले फिल्ममा चाहिँ गाडी बोकेर ल्याएको दृश्य राखेका छन्,’ उनले भने, ‘यस्तो किन गरिएको होला भने उनी नेपाललाई एक्जोटिक ढंगले उतार्न चाहन्थे । यहाँको पानोरमिक भ्यु देखाउन चाहन्थे ।’

तत्कालीन समाजको ऐना
लोवेलको निर्माणमा बनेको एक घण्टा २० मिनेट लामो डकुमेन्ट्रीमा नेपालसँगै अन्य देशका भिडियो पनि छन् ।


‘द रोयल कोरोनेसन’ शीर्षकमा उनले महेन्द्रको राज्याभिषेक समेटेका छन् । यसमा काठमाडौंको पुरानो रूप देख्न सकिन्छ । थापाथली पुल, न्युरोड, टुँडिखेल, बौद्ध स्तूप, बूढानीलकण्ठका तत्कालीन स्वरूप अहिले रोचक लाग्छ ।


न्युरोडको रूप कसरी फेरिएको छ भन्ने कुरा यो फिल्म हेरेपछि छर्लंग हुन्छ । ‘यसअघिका डकुमेन्ट्रीमा टोपी नलगाएका मान्छे देखिन्थे,’ मैनालीले भने, ‘यसमा चाहिँ केहीले टोपी लगाएका छैनन्, तर चप्पल छ ।’


राज्याभिषेकका क्षणमा लोवेलले गरेको एउटा न्यारेसन सुन्दा जोकोही हाँस्न बाध्य हुन्छन् । उनी भन्छन्, ‘यी राजाकी एउटी मात्र रानी छन् तथापि उनका धेरैवटी रानी हुन सक्थे ।’ भरियाहरूले काँधमा नोल हालेर गाडी बोक्दै ल्याएको दृश्यलाई उनले निकै स्थान दिएका छन् ।


डकुमेन्ट्री प्रदर्शनपछि कतिपय दर्शकलले तत्कालीन समारोह र अहिलेको बिमस्टेक सम्मेलनलाई लिएर पनि तुलना गर्न भ्याए । ‘त्यो बेला सर्वसाधारणले निर्धक्क राज्याभिषेक हेर्न पाउँदा रहेछन्,’ केहीले भने, ‘अहिले हामीलाई पेटीमा हिँड्न पनि रोकिएको छ ।’

प्रकाशित : भाद्र १५, २०७५ ०९:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT