किशोरलाई लाइफ टाइम

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको एलजी सिने सर्कल अवार्डमा वरिष्ठ नेपाली फिल्म निर्देशक किशोर रानाले लाइफटाइम अचिभमेन्ट अवार्ड पाउने भएका छन् ।

‘राँको’, ‘करोडपति’, ‘सीमारेखा’, ‘घामछायाँ’, ‘एक नम्बरको पाखे’, ‘कर्जा’, ‘घुम्टो’ जस्ता फिल्मका निर्देशकलाई नेपाली फिल्म उद्योगमा पुर्‍याएको अतुलनीय योगदानबापत अवार्ड दिन लागिएको विज्ञप्तिमा जनाइएको छ । अवार्डमा ५१ हजार रुपैयाँ रहेको अवार्ड समितिका दिनेश डीसीले जनाए ।

केही भारतीय र भोजपुरी फिल्मसमेत निर्देशन गरेका रानाको दुवै मृगौलामा खराबी देखिएपछि हाल मानव अंग प्रत्यारोपण अस्पताल भक्तपुरमा उपचाररत छन् । वि.सं. २०१२ मा सुनसरीमा जन्मिएका रानाले मुम्बईबाट फिल्मी यात्रा तय गरेका थिए ।

Citizen

मुम्बईमा गोपाल भुटानीसँग भेट भएपछि फिल्म क्षेत्रमा लागेका उनी बी.एस थापा निर्देशित फिल्म ‘कान्छी’को मुख्य सहायक निर्देशकको रूपमा नेपाली फिल्म उद्योगमा प्रवेश भएका थिए । पछिल्लो फिल्म ‘प्रतिबिम्ब’मा काम गर्ने क्रममा उनको मृगौलामा समस्या देखिएको हो । यही भदौ ३१ गते राजधानीमा अवार्ड समारोह हुँदै छ । सिनेमा सर्कल नेपालको आयोजना र द दिनेश डीसी प्रोडक्सनको व्यवस्थापनमा हुने अवार्डको यो तेस्रो संस्करण हो ।

वर्ष २०७४ मा प्रदर्शनमा आएका तथा एलजी सिने सर्कल अवार्डमा नि:शुल्क नाम दर्ता गराएका ६३ नेपाली कथानक फिल्मबाट २२ विधामा अवार्ड प्रदान गरिने डीसीले जनाए ।

अवार्डको पहिलो संस्करणमा भारतीय अभिनेता एवम् सांसद शत्रुघ्न सिन्हा, जापानी फिल्म निर्देशक मात्सुवयासी र हलिउड फिल्म निर्देशक डिगर मेस समेत आएका थिए भने दोस्रो संस्करणमा पहिलो नेपाली फिल्म ‘माइतीघर’का प्रमुख कलाकार माला सिन्हा र सीपी लोहनी आएका थिए ।

लाइफ टाइम अचिभमेन्ट अवार्ड भने यसअघि कला संयोजक उद्धव भट्टराई (जुँगे) र द्वन्द्व निर्देशक एनबी महर्जनले पाइसकेका छन् ।

प्रकाशित : भाद्र १८, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘कथा काठमाडौं’ को ट्रेलर

कान्तिपुर संवाददाता

काठमाडौँ — असोज १२ मा रिलिज हुन लागेको फिल्म ‘कथा काठमाडौं’ को आइतबार ट्रेलर सार्वजनिक गरिएको छ । यसअघि फिल्मकै एक गीत ‘रातका कुरा...’ रिलिज गर्दा मिश्रित प्रतिक्रिया आएका थिए ।

गीतको भिडियोमा प्रमोद अग्रहरी र प्रियंका कार्कीबीचको अन्तरंग दृश्यलाई लिएर कतिपयले अश्लीलताको आरोप पनि लगाए ।

तर काठमाडौंको एक कथाअन्तर्गत ती पात्रहरूको चरित्रअनुरूप दृश्य रहेको भन्दै फिल्मकी निर्देशक संगीता श्रेष्ठले बचाउ गरेकी छन् । गीतको प्रसंग उनलाई ट्रेलर सार्वजनिक कार्यक्रममा पनि सोधियो । ‘त्यो गीतको भिडियोपछि चर्चा, परिचर्चासँगै गाली पनि आयो । तर मैले ती सबै प्रतिक्रियालाई दर्शकको फिल्मप्रतिको चासोका रूपमा लिएकी छु,’ पहिलो पटक फिल्म निर्देशनमा होमिएकी श्रेष्ठले थपिन्, ‘काठमाडौंमा सकारात्मक र नकारात्मक दुवैखाले कथाहरू छन् । तर हामी नकारात्मक कुरामा बढी केन्द्रित हुन्छौं । फिल्ममा प्रेम पनि छ ।’

निर्देशक श्रेष्ठले भने गीतमा आफूले प्रयोग गरेको दृश्यलाई सामान्य हिसाबले मात्रै लिएको बताइन् । भनिन्, ‘मैले तिनै दृश्य एउटा म्युजिक भिडियोमा राखेर रातारात हिट हुने नियतले बनाएको थिएँ भने गलत पनि हुन्थें होला । किनकि म्युजिक भिडियोमा जति देखाइन्छ त्यति नै हुन्छ । तर फिल्ममा त्यसको पृष्ठभूमिमा थुप्रै कथा लुकेको हुन्छ । सायद फिल्म हेरेपछि मैले किन गीतमा त्यस्ता दृश्य राखें भन्ने जवाफ दर्शकले पाउनुहुन्छ ।’ सोही गीतबाट नकारात्मक प्रतिक्रिया बढी आएपछि प्रियंकाले ‘कथा काठमाडौं’ बारे टिप्पणी समेत गर्न नचाहेको प्रसंग पनि पत्रकारले उठाएका थिए । ट्रेलर सार्वजनिक कार्यक्रममा पनि प्रियंका अनुपस्थित रहिन् ।

प्रमोद अग्रहरीले फिल्ममा तीन भिन्न अवतारमा आफूलाई उतारेको बताइएको छ । जसमध्ये एकमा उनी लागूऔषधको कुलतमा लिप्त र यौन पिपासुका रूपमा चित्रण गरी देखाइएको छ । ट्रेलरको एक दृश्यमा उनले प्रियंकालाई जबरजस्ती करणी गरेको समेत समावेश गरिएको छ । यसबारेमा प्रमोदले भने, ‘ती सबै एउटा चरित्रको जीवनमा बाँच्ने यात्रा मात्रै थियो । कलाकारका लागि ती ठूला कुरा हैनन् ।’ उनले आफूलाई यस्तै चुनौतीपूर्ण भूमिकामा काम गर्न रुचि हुने पनि खुलाए ।

काठमाडौंमा घट्ने तीन भिन्न भिन्न कथालाई देखाउने कोसिस गरिएको फिल्ममा मुस्कानभित्र लुकेको व्यथा नै फिल्मको मुख्य विषयवस्तु रहेको निर्देशक श्रेष्ठले बताइन् । फिल्मको पटकथा पनि निर्देशक स्वयंकै हो ।

आहाना फिल्म्सको ब्यानरमा विजय राईले निर्माण गरेको ‘कथा काठमाडौं’ मा प्रियंका र प्रमोदसँगै आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका रहेको छ । अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मलाई लुज सिंहले छायांकन गरेका हुन् भने मित्र गुरुङको सम्पादन, भस्एफएक्स र कलर भरत रेग्मीको रहेको छ ।

प्रकाशित : भाद्र १८, २०७५ ०८:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT