अभिनय हुँदै निर्देशनतिर

कान्तिपुर संवाददाता

काठमाडौँ — नाटक कस्तो लाग्यो ?’ सो सकिनेबित्तिकै रंगकर्मी सविन कट्टेल दर्शकको प्रतिक्रिया लिन थाल्छन् । दर्शकको ‘थम्स अप’ पाएपछि उनी दङ्ग ।

अभिनय यात्रासँगै पहिलो पटक नाटक निर्देशन गरेका सविनले यति बेला आफ्नो परीक्षाको नतिजा दर्शकबाट पाइरहेका छन् । बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा उनी निर्देशित नाटक ‘मुनामदन’ को मञ्चन जारी छ ।

पाँचवर्षे रंगमञ्च यात्रामा डेढ सयभन्दा बढी सडक र केही स्टेज नाटकमा काम गरिसकेपछि सविनले यति बेला आफूलाई पहिलो पटक निर्देशकका रूपमा उभ्याएका हुन् । तैपनि निर्देशनमा हात हाल्नु धेरै तरिकाले चुनौती मोल्नु रहेको उनी ठान्छन् । एकातिर सिक्नकै लागि पनि निर्देशन गर्नु जरुरी ठान्छन् भने अर्कोतर्फ परिपक्व बन्न समेत काम गर्नुपर्ने बाध्यता छ ।

Yamaha

‘दर्शकले राम्रै छ भनेका छन्,’ उनी भन्छन्, ‘सिनियर रंगकर्मीले केही सुझाव दिनुभएको छ । त्यो अर्को पटक सुधार गर्छु ।’ सविनले यति बेला आफू नाटक खेल्दा निर्देशकहरूले गरेको गाली सम्झन्छन् । त्यो गाली वास्तवमा गाली नभएको उनले अहिले महसुस गरेका छन् । ‘निर्देशकले यो भएन त्यो भएन भन्दा खुब रिस उठ्थ्यो,’ उनी भन्छन्, ‘अहिले आफूले निर्देशन गर्दा थाहा पाएँ, गाली नगरी नहुँदो रहेछ ।’


रंगमञ्चमा एक दशक बिताएपछि विकास जोशीलाई निर्देशनमा आउन मन लाग्यो । उनी तीन वर्षदेखि नाटक निर्देशनमा लागेका छन् । उनले ‘आरोप’, ‘मीरा मिराज’ देखि हालै अनामनगरस्थित मण्डला थिएटरमा मञ्चित ‘सके तिरौला नत्र फिरीमा’ गरी तीनवटा नाटक निर्देशन गरिसके ।

अभिनयभन्दा निर्देशनमा धेरै कुरा सिक्ने अवसर मिल्ने विकासलाई पनि लाग्छ । ‘नाटक खेल्दा एउटा पात्रमा सीमित हुन्थें भने निर्देशन गर्दा सबै चरित्रसँग घुलमिल हुन सक्छु,’ विकास भन्छन् । नाटक निर्देशक बन्न उनलाई अभिनयले नै सिकाएको हो । निर्देशन परिपक्व भयो या भएन भन्ने कुरा काम गरेरै थाहा हुने उनको बुझाइछ । त्यसैले प्रत्येक वर्ष नाटक निर्देशन गर्दै जाने अनि सिकेरै परिपक्व हुने लक्ष्य बोकेका छन् उनले ।

रंगकर्मी पवित्रा खडकाले आठ वर्ष नाटकमा अभिनय गरिन् । त्यसपछि उनलाई निर्देशन गर्दा कस्तो हुन्छ ? अनुभव बटुल्न मन लाग्यो । सरुभक्तको लेखन रहेको नाटक ‘भृकुटी’ मञ्चन गरेपछि उनले आफूले आफैंलाई समीक्षा गर्ने मौका पाइन् । एक वर्षअघि मञ्चित यस नाटकबाट पवित्रा निर्देशनमा अझै परिपक्व हुन बाँकी रहेको महसुस गरिन् ।

यद्यपि निर्देशन नगरेको भए उनले रंगमञ्चका धेरै जटिल पाटासँग जुध्ने अवसरबाट वञ्चित हुन्थिन् । ‘निर्देशन गर्नैपर्छ तर अलि परिपक्व भएर गर्छु भन्ने लागेको थियो,’ उनी भन्छिन्, ‘तर आगोमा हात नहाले पोल्छ भन्ने कसरी थाहा हुन्छ ?’ रंगमञ्चमा अभिनय गर्दै नाटक निर्देशनसमेत सँगै लाने पवित्राको अबको योजना छ । दसैंतिहारपछि अर्को नाटक ल्याउने तयारी रहेको उनले बताइन् ।


रंगकर्मी प्रदीपकुमार चौधरीले पाँच कक्षा पढदादेखि नै नाटक खेल्न थाले । जानेर वा नजानेर उनी अभिनयमा जोडिए । आरोहण गुरुकुलमा आएपछि उनले रंगमञ्चको औपचारिकता बुझे । यस बीचमा उनले केही नाटक खेले । तर, अधिकांश नाटकमा नेपाली कला, संस्कृति र भाषाको सम्बोधन नभएको ठाने ।

त्यसपछि मौलिक संस्कृति उठान गर्ने उद्देश्यले उनी आफैं नाटक लेख्ने र निर्देशन गर्ने निधोमा पुगे । ७ वर्षदेखि प्रदीप निर्देशनमा पनि लागिरहेका छन् । अहिलेसम्म ‘विगत वर्तमान’, ‘घरबेटी आतंक’, ‘मसानटार’, ‘उठौं जागौं’ र ‘कालापत्थर’ गरी पाँच नाटक लेखन तथा निर्देशन गरेका उनले अभिनयमा पनि उत्तिकै समय दिएका छन् । अबको नाटक बहुभाषिक र बहुसांस्कृतिक पक्ष झल्काउने खालका हुनुपर्ने उनी बताउँछन् । भन्छन्, ‘हाम्रै परिवेशका कथा उठाउन मन लागेर लेखन, निर्देशनमा लागेको हुँ ।’

अभिनयमै आनन्द
रंगमञ्चमा डेढ दशक बिताएकी सिर्जना सुब्बालाई अभिनय गरेर अझै पुगेको छैन । उनको भने पात्रअनुसार नाटक गर्दाको रमाइलो निर्देशनबाट नपाइने धारणा छ । दुई वर्षअघि नाटक ‘युमा’ गरेपछि उनी आफू अझै नाटक निर्देशनमा परिपक्व नभएको महसुस गरिन् । नाटक खेलेरै तिखारिनुपर्छ भन्ने उनलाई लाग्छ ।

उनको विचारमा निर्देशन गर्नु र नगर्नु गलत वा सहीको कुरा नभए पनि क्षेत्र बुझेर लाग्नुपर्छ । सिर्जनाका अनुसार निर्देशकले नाटक देखाउनुभन्दा पनि विषयवस्तुप्रति न्याय गर्न सक्छु कि सक्दैन भन्ने सोच्नुपर्ने हुन्छ । हतारमा निर्देशनतिर लाग्नुभन्दा बुझेर लाग्नु उपयुक्त हुने सिर्जनाको मत छ ।

रंगकर्मी विजय बराललाई आफू नाटक खेल्नकै लागि जन्मेको लाग्छ । निर्देशनको पाटो उनी कहिल्यै सम्झन चाहँदैनन् । आफ्ना साथी मात्रै होइन, रंगमञ्चमा भर्खरै उदाएका नवप्रवेशीले समेत निर्देशन गर्न हतार गरेको देख्दा उनी अलमलमा पर्छन् । विजयका अनुसार एउटैले सबै क्षमता राख्नुपर्छ भन्ने छैन । निश्चित विषयमा निरन्तर लागेर त्यसैमा दक्षता हासिल गर्नु उचित लाग्छ उनलाई । त्यसैले विजय नाटक खेल्नेमै रमाइलो मान्छन् ।

प्रकाशित : भाद्र १९, २०७५ ०९:१२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रौनक गौराको

डीआर पन्त

डडेलधुरा — भदौरे झरीले भत्के/बिग्रेका बाटाघाटा बनिसके । मठमन्दिरदेखि घरआँगनसम्म चिटिक्क छन् । वारि डाँडा र पारि डाँडामा भोक्कर, नरसिंह, बिगुल, मृदंग र दमाहा गुञ्जिन थालेका छन् । यो गुञ्जन यति बेला गौरा पर्वले लिएर आएको हो ।

लालावाला पाल्न बिदेसिएका वा तराई झरेका कतिपय परिवार पनि गाउँ फर्किएका छन् । सदरमुकाम र स्थानीय बजारमा किनमेल गर्नेको घुइँचो छ । समृद्ध सांस्कृतिक पर्वका रूपमा मनाइने गौरा पर्वका अवसरमा गाउँगाउँमा विभिन्न भाका र लयमा देउडा घन्किन थालेका छन् । सबै वर्ग, जातजातिले मनाउने सांस्कृतिक संगमको पर्वले यति बेला सिंगो सुदूरपश्चिम गौरामय भएको छ ।

गौरापर्वका बेला गाउँगाउँमा रहेका मठमन्दिरमा महिला, पुरुष, बालबालिका भेला भएर विभिन्न लोकगाथा गाउने र देवीदेउताको पूजाअर्चना हुने गर्दछ । ‘गाउँगाउँमा बेग्लाबेग्लै गौरा हुन्छिन्,’ संस्कृतिविद् डा. भोजराज पन्त भन्छन् । जातीय सद्भाव, सामाजिक सद्भाव र सांस्कृतिक मिलनको रूपमा गौरा समूहगत रूपमा मनाइने पर्व हो ।

गाउँगाउँमा गौरा महोत्सव आयोजक समितिले पर्व मनाउनका लागि व्यवस्थापन गरिरहेका छन् । पञ्चमीका दिन पाँच प्रकारका अन्न भिजाएर बनाइने बिरुडासँगै सुरु हुने गौरा झन्डै एक हप्तासम्म धुमधामका साथ मनाइन्छ ।

धार्मिक पर्वका रूपमा मनाइने गौरा शिव पार्वतीको परम्परागत पूजासँगै डोटेली संस्कृतिमा देव जागरण पर्वका रूपमा समेत मनाउने गरिएको छ । बल, तील, गुभा, धान र साउंँका बोटबाट बनाइने गौरा र शिवका रूपमा काठको प्रतिमा स्थापित गरी एक हप्तासम्म पूजा गर्ने परम्परा रहेको छ ।

अविवाहित कन्याहरूले घर भित्र्याउने गौरा सेलाउँदा भने विवाहित बुहारीहरूले टाउकोमा नचाउँदै धार्मिक गीत गाउँदै स्थानीय मठमन्दिरमा लैजान्छन् । मठमन्दिरमा धामी, पुजारीहरूले गौरालाई विधिवत् विसर्जन गर्ने परम्परा रहेको छ ।

कुनै गाउसँग गौरा नभए धार्मिक विधिअनुसार गौरा हुने गाउँबाट माग गर्ने परम्परा रहेको पन्तले बताए । ‘यति पुरानो आदि सभ्यता र मौखिक रूपमा पुस्तान्तरण हुँदै आएका लोककाव्य अन्य कुनै पनि संस्कृतिमा भेटिँदैन,’ डा. पन्तले भने, ‘गौरामा गाइने लोककाव्यहरूको संग्रह बनाउने हो भने महाकाव्य नै निर्माण हुन्छ ।’ यो पर्वमा महिलाले गौरी र शिव पूजा गर्छन् । पुरुषहरूले विभिन्न देव गाथाहरू चैत र ठाडोखेलका रूपमा गाउँदै देवतारुलाई आह्वान गर्छन् ।

डोटेली संस्कृतिका शोधकर्ता डा. नरेन्द्रदेव भट्ट भन्छन्, ‘गौरा एउटा मात्र पर्व नभई सांस्कृतिक पर्वहरूको संगम पर्व हो ।’ रामायणकालीन सभ्यतासँग जोडिएका दर्जनौं लोककाव्यहरू गाइने र विविध संस्कृतिलाई गौरा पर्वमार्फत एकै ठाउँमा जोड्ने अद्भुत संस्कृतिको संगम मानिन्छ गौरा पर्व ।

हिमालय पुत्री गौरीले शिव प्राप्त गरेका लोककाव्य, त्रेता युगमा अवतार लिने भगवान् रामका कथा, भगवान् कृष्णका लीलादेखि महाभारतकालीन वीरहरूका पौराणिक गाथासँगै नेपाल एकीकरणका वीरहरूको लडाइँका गाथा गाइने यो गौरा पर्व डोटी प्रदेशमा रहेका बहुल सांस्कृतिक पर्वलाई एकै ठाउँमा जोड्ने पर्वका रूपमा युगौंदेखि मनाइँदै आएको संस्कृतिविद् डा. पन्तले बताए ।

‘गौरा आदिपर्व हो,’ ‘गौरा संस्कृति र डोटी प्रदेशको इतिहास’ पुस्तकका लेखक पं. दयानन्द पन्तले भने, ‘आर्य सभ्यताको सबैभन्दा पुरानो संस्कृति कालान्तरमा गौरा सभ्यताका रूपमा विकसित हुँदै आएको हो ।’ नेपालको सुदूरपश्चिममा मात्र नभई कर्णाली प्रदेश, भारतको कुमाउँ, गढवाल, हिमाञ्चलका केही भू–भाग हुँदै कश्मीरसम्म मनाउने परम्परा रहेको उनले बताए । कुमाउ, गढवाल र सुदूरपश्चिममा गौरा मनाउने परम्परा एउटै भए पनि हिमाञ्चल र कश्मीरमा भने केही भिन्न रहेको पं. पन्तले बताए ।

अमुक्ताभरण सप्तमीका दिन भित्र्याइने गौरा एक हप्तासम्म पूजाअर्चना गरी स्थानीय देवीदेवताका मठमन्दिरमा लगेर विर्सजन गरिन्छ । प्राध्यापक डा. भोजराज पन्त भन्छन्, ‘माइतबाट चेलीबेटी बिदा गरेजस्तै गौरा देवीको बिदाइ हुन्छ ।’

अचेल गौरापर्व देउडा र नाचगानमात्रै सीमित थालेको डडेलधुराका साहित्यकार कैलाश पाण्डेयको चिन्ता छ । भने, ‘पुरानो पुस्ताले चाडपर्वका बेला लगाउने पहिरन पनि लोप हुँदै गएको छ, गौरा पर्वको महत्त्वलाई जीवन्त राख्न र संस्कृति जोगाउन सामाजिक जागरण आवश्यक छ ।’

प्रकाशित : भाद्र १९, २०७५ ०९:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT