कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

फयुजन पेकिङ ओपेरा

काठमाडौँ — दुवै हातमा बीस मिटर लामो रेसमको सल फर्फराउँदै नाच्दा उनी परीकथाकी राजकुमारीझैं लाग्थिन् । नीलो–सेतो चिनियाँ जामामा सजिएर उनले ‘डिप नाइट’ शीर्षकमा लोक नृत्य देखाइन् ।

फयुजन पेकिङ ओपेरा

सांस्कृतिक प्रस्तुति ‘फ्लावर अफ सिल्क रोड’ का लागि चीनबाट नेपाल आएकी लिउ यानयानले पेकिङ ओपेरा र पेकिङ डान्सको संयुक्त रूप प्रस्तुत गरेकी थिइन् ।

‘यो एकल नृत्य हो,’ उनले भनिन्, ‘यसमा परीहरू आकाशमा उडेझैं गरी प्रस्तुति दिनुपर्छ । रेसमको रंगीन सल फर्फराउँदा दर्शक लठ्ठ पर्छन् ।’ लिउले योसँगै ‘साओलिन एट सेक्सन ब्रोकेड’, ‘डबल चाई ची’, ‘कुन्झेङ सोलो’, ‘डबल साउथ बक्सिङ’ लगायत थिममा नृत्य देखाएकी थिइन् । यी सबै चीनका परम्परागत नाचअन्तर्गत पर्छन् । सबैको आ–आफ्नै सांस्कृतिक, ऐतिहासिक मह–व रहेको उनले बताइन् ।

‘साओलिन एट सेक्सनमा सुस्त र नरम मुद्रामा प्रस्तुत हुनुपर्छ,’ उनले भनिन्, ‘यो नाचको हजारौं वर्ष पुरानो इतिहास छ । उहिले–उहिले साओलिन मन्दिरका भिक्षुहरूले यसलाई शारीरिक व्यायामका रूपमा अभ्यास गर्थे रे ।’ यो नाचमा लिउलाई लिय लुलुले साथ दिएका थिए । कालो र सेतो पोसाकमा सजिएका उनीहरू डबल साउथ बक्सिङमा पैतालाको मुद्रा देखाए ।

यो मार्सल आर्ट परफर्मेन्स निकै ओजस्वी देखिन्थ्यो ।

नेपालस्थित चाइना कल्चर सेन्टर र चीनको नेटवर्क अफ इन्टरनेसनल कल्चरल लिंक इन्टाइटिजले बुधबार होटल याक एन्ड यतीमा चिनियाँ लोक नृत्य, लोक संगीत, वाद्यवादन र एक्रोबेटिक्सका अनेकन स्वरुप प्रस्तुत गरेका थिए । चीनबाट आएका दर्जन कलाकारले आफूहरूका पारम्परिक कला नेपाली दर्शकसामू प्रर्दशन गरे ।

उनीहरूले मंगलबार सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा पनि ‘सिल्क रोड’ कला देखाएका थिए । पूर्वी एसियादेखि अफ्रिका र युरोप जोड्ने चीनको प्राचिन मार्ग ‘सिल्क रोड’ लाई विम्ब बनाउँदै कार्यक्रममा प्राचिन चीनको झल्को दिने प्रस्तुति समावेश गरिएको थियो ।

मुखौटासहित लामो दाह्री भेषमा उपस्थित लु यिसाले पेकिङ ओपेरा मास्क प्रदर्शन गर्दै ‘द गुलेटिन केस...’ र ‘चिल टाउन...’ गाए । उनको भेष कार्यक्रमभर आकर्षण बन्यो । कलाकारको प्रस्तुतिलाई पृष्ठभूमिको तस्बिर र भिडियोले थप सशक्त बनाउन सघाएको थियो ।

चिनियाँ गाउन चौङ्सममा सजिएकी चउ यानको गायन निकै भिन्न थियो । उनले ओठ नचलाई ‘माइ सन...’ सुनाइन् । ‘यसमा गायकलाई कठपुतलीले साथ दिन्छ,’ हातमा गुडिया बोकेकी उनले भनिन्, ‘यसलाई भेन्ट्रिलोक्विजम भनिन्छ ।

गायकले ओठ नचलाई गाउँदा पपेटले भने मुख चलाएको अभिनय गराइन्छ ताकि उसले गाएजस्तो देखियोस् ।’ मार्सल आर्ट र एक्रोबेटको फ्युजन गराइएका नृत्य विधामा पनि हल उत्तिकै गुञ्जयमान बन्यो । याङ लिन र याङ जिआनले देखाएको ‘ब्यालेन्सिङ अ जार अन द हेड’ र ‘ब्ल्यालेन्सिङ अफ टिन फोर्स’ शीर्षकको नृत्यमा दर्शकले घत मानेर ताली पिटेका थिए ।

याङ दाजु–भाइको नाच एक्रोबेटिक फर्ममा थियो, जहाँ एकले अर्कालाई उचाल्ने, अर्काको टाउकोमा टेकेर उभिने, एकै औंलाले घैँला फनफनी घुमाउने जस्ता कलाबाजी गरिएका थिए ।

कताकता टुङ्नाझैं लाग्ने युचेङ बाजामा लिउ यानयानले ‘द होमबाउन्ड फिसरम्यान...’ र ‘न्यु सङ अफ डङटिङ...’ गीतका धुन सुनाएकी थिइन् । पेकिङ ओपेराकै एक अंश ‘फेयरवेल टु माई कन्कुबिन...’ गीत सुनाएपछि चाङ पेङले भनिन्, ‘म पहिलो चोटि नेपाल आएकी हुँ ।

यहाँको सत्कारले खुसी भएकी छु । गीत गाउन ऊर्जा आएको छ ।’ चेङ हावले बाँसुरीसँगै मौलिक चिनियाँ बाजा साओको धुन गुञ्जाएका थिए । कार्यक्रममा सहभागी अधिकांश कलाकार युवा थिए ।

तिनले आफ्ना लोक संस्कृतिको प्रचार गर्न पाउँदा खुशी लागेको कान्तिपुरलाई बताए । ‘हामीलाई विद्यालयदेखि नै लोक संस्कृतिबारे पढाइन्छ’, लिउ यानयानले भनिन्, ‘सरकारले सर्पोट गरेको छ । आफ्नो संस्कृति जोगाउनु सबै युवाको दायित्व हो ।’ आफूले बच्चैदेखि लोक गीत, लोक बाजा र लोक नृत्य सिक्दै आएको उनको भनाइ थियो ।

‘यसपाली हामी तपाईको देशमा आयौं’, नेटवर्क आफ इन्टरनेसनल कल्चर लिंककी प्रमुख चाङ लिले भनिन्, ‘हाम्रो लोक कला देखायौं ।

प्रकाशित : भाद्र २१, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?