दोहोरीमा फर्किंदै राजु
सुर्खेत — एकताका नेपाली लोकसंगीतमा गायक राजु परियारको एकछत्रजस्तै थियो । दिनमा पाँच वटासम्म गीत रेकर्ड गर्थे भने मेला र महोत्सवमा उत्तिकै माग थियो । तर जसरी चम्किएका थिए, उसै गरी एकाएक गुमनाम बने ।
लामो अन्तरालपछि उनी फेरि सांगीतिक हिसाबले नै झुल्किएका छन् । उनले यो वर्ष लागेयता तीन दर्जनजति गीत गाइसकेका छन् । जातीय छुवाछूतबारेको ‘दमाईको छोरो’ दोहोरीमा उनी बढी नोटिस भएका छन् ।
‘दर्शकश्रोताको माया र गीतसंगीतप्रतिको सानैदेखिको लगावले यो क्षेत्रलाई छाड्न दिएन,’ राजुले हालैको भेटमा कान्तिपुरसँग भने, ‘अहिलेका गीतबाट पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छु । थप ऊर्जा मिलेको छ ।’
‘सुनपानी...’, ‘भैंसी पालेर...’, ‘आँधीखोला उर्लेर आयो...’, ‘झिमझिम सानु...’, ‘पञ्चेबाजा...’, ‘रुमाल धोको छु...’, ‘खैरेनीमा गेट...’ जस्ता चल्तीका गीत गाइसकेका राजुले २०५६ मा ‘किसिमकोटमा चरी नाचेको...’ बोलको गीतबाट सांगीतिक क्षेत्रमा पाइला सारेका थिए ।
उनले आफ्नै रचनाका करिब तीन सय गीत गाइसकेका छन् । ‘विषयवस्तुले छुनेबित्तिकै फुरिहाल्छ, त्यसलाई गीतमा उतार्छु,’ उनले भने, ‘त्यसैले रचनालाई पनि निरन्तरता दिँदै आएको छु । अब स्वरले साथ दिएसम्म गाउँछु ।’
आफ्नै रचनामा ‘डोरी बाटेर’, ‘दुराडाँडे दाइ’, ‘सुनपानीले छर्क मायालु ’ गाइसकेका उनी अहिले र पहिलेको लोकगीतमा धर्ती–आकाशको फरक आएको बताए । ‘हामी प्राय: गीत गाउँदा गायक, संगीतकार, रचनाकारसँगै बसेर गीतमाथि छलफल र अभ्यास गथ्र्यौं । सबैबाट पास भयो भने मात्र गीत गाइन्थो,’ ३८ वर्षे लोकगायकले भने, ‘अहिले सबै कुरा हटयो । गीत जसरी गाउँदा पनि हुन्छ ।’
प्रकाशित : भाद्र २२, २०७५ ०९:१७