१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

रंगमञ्चमा ‘बस स्टप’

काँकडभिट्टा — काठमाडौंबाट पूर्वतर्फ हुइँकिएको बसलाई कृष्णभीरको पहिरोले रोक्छ । पहिरो हटाउन लामै समय लाग्ने बुझिन्छ । रातको समय छ । त्यही भएर यात्रुहरू थकाइ मार्न नजिकैको होटलमा पस्छन् ।

रंगमञ्चमा ‘बस स्टप’

कृष्णभीरको पहिरोले अलपत्र ७ जना यात्रु र होटल साहुनीका भिन्नाभिन्नै कथाहरू छन् । तिनै कथा नाटक ‘बस स्टप’ ले क्रमश: भन्दै जान्छ । परिवर्तन थिएटर झापाले मञ्चन गरेको नाटक ‘बस स्टप’ को मूल कथा हो यो ।

राजमार्गमा लामो समयदेखि होटल व्यवसाय गरेकी गंगा (कविता नेपाल) र दिदीकी छोरी अञ्जु (प्रतीक्षा आचार्य) यात्रुको पर्खाइमा छन् । बाहिर हावाहुरीसँगै मल्याकमिलिक छ । यस्तो मौसममा गाडीहरू आउँदैन कि भन्ने चिन्ता छ उनीहरूलाई ।

यतिकैमा एउटी युवती लुक्ने ठाउँ खोज्दै अत्तालिँदै होटलमा छिर्छिन् । ती युवतीको नाम चेरी (सम्झना सुब्बा) हो । काठमाडौंको एउटा होटलमा काम गरिरहेकी उनलाई बबेन्द्रकुमार (एन्जल खडका) ले जबर्जस्ती चितवन लिएर जाँदै छ ।

बबेन्द्र चितवनको माउते हो । हात्ती पोलोको राम्रो खेलाडी पनि हो । तर, गत वर्षदेखि सरकारले हात्ती पोलो बन्द गराएपछि रोजीरोटी खोसिएको उसको भनाइ छ । त्यही कारण बबेन्द्रको आक्रोश दर्शकले पटकपटक महसुस गर्छन् । कहिले चेरीसँग त कहिले विक्रम सई (दिनेश राजवंशी) सँग बबेन्द्र जाइलाग्छ ।

चेरीको खास घर सिन्धुपाल्चोक हो । तर, भूकम्पपछि यिनी काठमाडौंमै बस्छिन् । भूकम्पले आमा, बुबा, दाइ सबै गुमाइन् । भाइ र उनी बाँचे । भाइलाई होस्टल राखेर पढाउँदै छिन् । आफू चाहिँ होटलमा काम गर्छिन् ।

पहिलो पटक होटलमै आँखा जुझेको थियो चेरी र बबेन्द्रको । बबेन्द्रले उनलाई एकोहोरो प्रेम गर्छ । तर, चेरीलाई चाहिँ बबेन्द्र गुन्डा, नालायक र संसारकै सबैभन्दा खराब मान्छे लाग्छ । बबेन्द्रसँग बिहे गर्ने मन छैन । बबेन्द्र भने जसरी पनि उनलाई पाएर छाड्ने अड्डीमा छ ।

उसले देखाउने उदण्ड व्यवहार उसैका लागि घातक बन्छ । एक पटक विक्रम सईको कुटाइ पनि भेट्छ । सईको कुटाइले हातै मर्किन्छ । यी घटनापछि उसले चेरीलाई बिर्सिने धेरै प्रयत्न गर्छ । तर, सक्दैन । अन्तत: चेरी र बबेन्द्रको सुखद मिलन हुन्छ ।

बबेन्द्रले चेरीको साथ त पाउँछ । तर, दाइ तेजनारायण (गणेश बस्नेत) ऊबाट टाढिन्छ । एकातिर चेरीको अप्रत्यारिलो साथ र अर्कातिर तेजनारायणसँगको अकाल्पनिक बिछोडका बीच नाटक टुंगिन्छ । बबेन्द्र र तेजको बिछोडले दर्शकलाई भावुक बनाउँछ ।

बसका चालक चन्द्रे (दिवेश लामिछाने) र होटल साहुनी गंगा (कविता) बीचको हिमचिम । डाक्टर साहेब (लोमस पौडेल) र अञ्जु (प्रतीक्षा) बीचको प्रेमिल वार्तालापले नाटकलाई रोचक बनाएको छ । दिनेश राजवंशीको डेब्यु अभिनय अब्बल छ । उनले प्रहरीको भूमिकालाई न्याय गरेका छन् । निर्देशक सागर आफैंले दिने लाइभ संगीतले नाटक थप जीवन्त बनेको छ । उनलाई गितारमा पुरन दियालीको साथ छ ।

अमेरिकी लेखक विलियम इंगद्वारा लिखित ‘बस स्टप’ को नेपाली रूपान्तरण हो यो । नाटकलाई रंगकर्मी सागर खातीले परिकल्पनासँगै निर्देशन गरेका छन् ।

प्रकाशित : भाद्र २२, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?