ज्योतिषीसँगको फरक प्रेम

काठमाडौँ — एउटा ज्योतिषी जो देशमै पनि नामी छ । कुनै अन्तर्राष्ट्रिय अवार्ड थाप्ने क्रममा विदेश गएपछि सोही देशमा एमबीबीएस पढदै गरेकी युवतीसँग भेट हुन्छ । भेट छोटो भए पनि माया गाढा बस्छ । तर ज्योतिषी देश फर्किनुपर्छ, युवतीले परीक्षाको तयारी गर्नुपर्ने कारण केही महिना दुईबीच भेट हुँदैन ।

ज्योतिषीसँगको फरक प्रेम

फिल्म ‘शुभ लभ’ को शुक्रबारदेखि छायांकन आरम्भ भएको छ । फिल्ममा ज्योतिषीको भूमिकामा हरिहर अधिकारी र उनकी प्रेमिकाको भूमिकामा क्रिस्टिन पौडेलले अभिनय गरिरहेका छन् । ज्योतिषी अधिकारी र २०१७ की मिस टिन पौडेल दुवैको ‘शुभ लभ’ डेब्यु फिल्म हुनेछ ।

शनिबार छायांकनको दोस्रो दिनमा भने हरिहर र क्रिस्टिन दुवैबीच भेट भइरहेको दृश्य चलिरहेको छ । निर्देशक सन्तोषबाबु लोहनी महाराजगन्जस्थित एक कार्यालयमा दुवैलाई खिचिरहेका छन् । क्रिस्टिन फिल्ममा मामाको भूमिकामा रहेका अभिनेता सरोज खनालको साथ लागेर हरिहरको कार्यालय आएकी छन् । तर यतिबेला दुईबीच कुनै प्रेमालाप चलिरहेको छैन ।

बरु कुनै गम्भीर समस्याबारे कुरा भइरहेको छ । ‘यही सिनबाटै फिल्मको कथा खुल्छ,’ निर्देशक लोहनी अहिले नै कथा खुलाउने मनस्थितिमा देखिएनन् । बरु अनौठो प्रेमकथामा आधारित रहेर फिल्म बनाउन लागेको बताए । भने, ‘केही जटिल लाग्ने कथामा कमर्सियल फ्लेभर दिन खोजेका छौं ।’

ज्योतिषी अधिकारीको कथामा आधारित रहेर यसअघि ‘ए मेरो हजुर २’ बनाइएको थियो । यसपटक पनि उनको कथामा अभिमन्यू निरवीले पटकथा तथा संवाद लेखेका हुन् । फिल्ममा मुख्य हिरोलाई ज्योतिषी बनाइनु र ज्योतिषीलाई नै डेब्यु गराउनु संयोग मात्रै रहेको निर्देशक लोहनीले बताए । दृश्य चलिरहँदा मनिटरमा प्रिभ्यु हेरेर सट ओके गरेपछि लोहनीले थपे, ‘नयाँ भएर पनि धेरै टेक लिनुपर्ने वा हामीले भन्न खोजेका कुराहरू नबुझ्ने खालको भएको छैन । अहिलेसम्म टेक्निकल कारणले पनि पाँच टेकभन्दा बढी लिनुपरेको छैन ।’

हिरो भन्नेबित्तिकै राजेश हमाल वा विराज भट्ट जस्ता सुगठित भीमकाय शरीर भएकाकै स्वरूप दिमागमा आउने अवस्थामा सानो काँटीका हरिहरलाई लिनुको उद्देश्यबारेमा प्रश्न गर्दा निर्देशक लोहनी भन्छन्, ‘नयाँ कथावस्तुमा नयाँ नै कलाकार लिएर काम गर्नुमा मलाई बढी सहजता लाग्यो । भीमकाय शरीरको हिरो छैन । राजेश हमाल मार्काका भयंकर एक्सनवाला जस्ता फिल्ममा हरिहर जस्ता सानो काँटीका हिरो लिएको भए समस्या आउँथ्यो होला । तर हाम्रो स्टोरीमा उहाँले जसरी चारित्रिक रूपमा पर्फमेन्स गर्नुहुन्छ, त्यसमा चाहिँ राजेश हमाल नै लाग्नुहुन्छ । त्यस हिसाबले पनि हामी एकदमै सन्तुष्ट छौं ।’

पूर्व मिस टिन पौडेललाई यसअघि पनि केही फिल्ममा हिरोइन बन्न आएका प्रस्तावलाई उनले स्वीकार गरिरहेकी थिइनन् । ‘शुभ लभ’ को स्क्रिप्ट सुनेपछि भने यो प्रोजेक्ट गुमाउनु हुँदैन भन्ने लागेपछि डेब्युका लागि तयार भएकी रहिछन् । दोस्रो दिनको सुटिङ सकेर निस्कने क्रममा उनले कान्तिपुरसँग भनिन्, ‘दर्शक भएर फिल्म हेर्नुमा भन्दा यसरी काम गर्नु विल्कुलै फरक हुने रहेछ । तर पनि इन्जोय गरिरहेकी छु ।’ उनले को–स्टारका रूपमा हरिहर पनि कलाकारमा नयाँ नै भए पनि क्षमतावान् र सहयोगी पाएको बताइन् ।

नौ वर्षअघि नै रेखा थापा, मिथिला शर्मा, सुनील थापा आदि कलाकारलाई लिएर ‘नारी’ बनाए पनि स्वभाविक प्रदर्शन नपाएका लोहनीले यति बेला ‘शुभ लभ’ लाई कमब्याक भन्दा पनि डेब्यु नै भन्न बढी रुचाउँछन् । नौ वर्षको अन्तरालमा प्राविधिक रूपमा धेरै परिवर्तन पाएका लोहनी ‘शुभ लभ’ बाट कन्फिडेन्ट देखिन्छन् । ‘कथा, पटकथालाई फिल्मको मेरुदण्ड मानिन्छ । हाम्रो बलियो पक्ष भनेकै यही छ,’ यसबाहेक पनि उनले कथासँग पात्र चयन राम्रो भएको सुनाए ।

फिल्ममा हरिहर, सरोज र क्रिस्टिनसहित प्रदीप बाँस्तोला, रवीन्द्र झा, राजाराम पौड्याल, डा. सूर्या थापा लगायतको पनि अभिनय रहेको छ । धर्मराज सुवेदीको लगानी रहेको फिल्मको प्रस्तुतकर्ताका रूपमा प्रदीपकुमार उदय रहेका छन् । ४५ दिनको सेड्युअलमा काठमाडौंसहित लुम्बिनी, पोखरा, अन्नपूर्ण बेसक्याम्प र एक गीतका लागि दुबई गएर खिचिने फिल्मलाई प्रदर्शन भने चैत १५ मा गरिने बताइएको छ ।

रामेश्वर कार्कीको छायांकन तथा अर्जुन पोखरेलको संगीत रहेको फिल्म अहिले चलिरहेको ट्रेन्डभन्दा अलि फरक किसिमको कथालाई व्यवसायिक हिसाबले पस्किने कोसिस गरिरहेको निर्माण पक्षको दाबी छ । निर्देशक लोहनी पनि ‘शुभ लभ’ आफ्नो कमब्याकका लागि शुभ हुने आशामा देखिए । उनले भने, ‘डेढ दुई वर्षदेखि कमब्याकको योजना बनाएर यसबीचमा ८/१० कथा सुने पनि चित्त बुझिरहेको थिएन । त्यही क्रममा हरिहरजीले ‘शुभलभ’ को स्टोरी सुनाएपछि मलाई अन्त कतै जान पनि मन लागेन । यसैमा गर्नुपर्छ भन्ने लागेर त्यसैमा वर्कआउटमा लागेका हौं ।’

प्रकाशित : भाद्र २४, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?