कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीज गीतमा स्याङजाली

प्रतीक्षा काफ्ले

स्याङजा — तीजको भाकामा महिलाका स्वर मात्रै छैनन्, पुरुषले पनि बराबरी गाएका छन् । यसपटक बजारमा आएका अधिकांश तीज गीतमा स्याङ्जाली मूलका कलाकारको वर्चश्व देखिएको छ ।

तीज गीतमा स्याङजाली

कतिपयले आफ्नै रचनामा लय र स्वर दिएका छन् भने कतिपयले आफूले लेखेर अरूलाई गाउन लगाएका छन् ।


गायक घनश्याम रिजालले यस पटक आधा दर्जनभन्दा बढी तीज गीत गाएका छन् । अधिकांश गीत उनैले लेखेका हुन् । कतिपयमा स्वर दिएका छन् भने आफ्ना सिर्जनामा अरूलाई गाउन पनि लगाएका छन् ।


‘यसपालि छुन हुनि भए त मायालाई...’ ले पछिल्लो समय बजार लिइरहेको रिजालले बताए । यसमा पशुपति शर्माले लय दिएका छन् भने रिजाल र सुमित्रा काफ्लेको स्वर छ । यस्तै ‘जन्मघर माइतैमा...’ भन्ने गीतमा रिजाल र सुनीता पौडेलको स्वर छ । रिजालले नै लेखेको ‘टलक्कै टल्केको सारी...’ मा राजन कार्कीले स्वर दिएका छन् । ‘नहेर राजै त्यसरी...’ मा लय रामजी खाँडको छ ।


‘यस पटक तीजसँग जोडिएका थुप्रै गीत बजारमा ल्याइयो,’ रिजालले भने ।


यस्तै लोकदोहोरी गायिका कला पंगेनीले यो वर्ष ‘चिटिक्कै मलाई सुहायो...’ गीत तीजकै छेकोमा ल्याइन् । विदेश गएको श्रीमान् र घर चलाएर बसेकी श्रीमती बीचको मायाप्रेम र झगडालाई गीतमा उन्न खोजेको उनले सुनाइन् ।


लोकदोहोरीमा बेग्लै पहिचान बनाइसकेका पशुपतिका पनि तीजमा यस पालि एक दर्जन गीत आएका छन । कोमल वलीलाई व्यंग्य गर्दै गाएको ‘माननीयज्यू...’ ले लोकप्रियता पाइरहेको छ । गत वर्षको तीजमा ‘बिहे नगरी नेता बन...’ गीतले पनि बजार लिएको थियो । ‘तीज भनेर, किन आउँथे मामा लिन माइजू छाडेर...’ गीतमा पनि पशुपतिकै शब्द र स्वर छ ।


मौलिक तीज भाका समेटर गायक रमेश बीजीको गीत पनि बजारमा निस्किएको छ । ‘अहिलेको समयमा मौलिक गीत बजारमा आउनु भनेको ठूलो कुरा हो,’ विन्ध्यवासिनी म्युजिक प्रालिका निर्देशक सुवास रेग्मीले भने, ‘यस्ता दुईचार स्रष्टाले मात्रै संस्कृतिको प्रतिनिधित्व गर्दै मौलिक तीज गीतलाई अगाडि ल्याएका छन् ।’


रिजाल, शर्मा, पँगेनी, बीजी र खुमन अधिकारी स्याङजावासी हुन् । अधिकारीले पनि तीजको भाकामा चेलीबेटीका मर्म समेटेर आधा दर्जन गीत बजारमा ल्याएका छन् ।

प्रकाशित : भाद्र २५, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?