२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

अनेक स्वरमा कलकत्ते काइँयो

केही भाइहरूले रिमिक्स गर्ने रहर देखाए र गाऊ न त भनेर दिइहालेँ । तर, त्यसले मौलिक पहिचान मेटाइदियो । उनीहरू रोयल्टीको कुरामा सचेत भइदिए तै मन बुझाउने मेलो हुने थियो ।-जयनन्द लामा लोकगायक/अभिनेता
सजना बराल

काठमाडौँ — लोकगायक एवं अभिनेता जयनन्द लामाका धेरै गीत रिमेक/रिमिक्स्ड गरिएका छन् । ‘डल्ली रेसम...’, ‘चुइँचुइँ चुइँकने जुत्ता...’, ‘आँखाको रमझम...’ लगायत उनका गीत नयाँ–नयाँ भर्सनमा आए । यीमध्ये सबैभन्दा बढी चल्यो, ‘कलकत्ते काइँयो...’ ।

अनेक स्वरमा कलकत्ते काइँयो

चालीसको दशकमै लोकप्रिय यो गीत रिमिक्स्ड भएर आएपछि गायक रोज मोक्तान र र्‍यापर अविनाश घिसिङको पनि राम्रो प्रचार भयो । थुप्रै तामाङ सेलो गाएका भए पनि रोजलाई यही गीतले स्थापित गराइदियो ।


युट्युबमा अहिले ‘कलकत्ते काइँयो...’ का मूलत: चार वटा नमुना हेर्न/सुन्न सकिन्छ । एउटा त चालीसको सुरुआती दशकमै चर्चा पाएको जयनन्दको मूल गीत भइहाल्यो । त्यसपछि रोज/अविनाशको रिमिक्स भर्सन उपलब्ध छ भने अर्कोचाहिँ दृष्टिविहीन गायक वीरबहादुर विश्वकर्माले कुटुम्ब समूहसँग गाएको गीत हेर्न/सुन्न सकिन्छ । चौथोमा सशस्त्र प्रहरी बलका कलाकारले ‘कलकत्ते काइँयो...’ भाकामा दसैं–तिहार गीत गाएका छन् । यीबाहेक पनि कभर भर्सन र डान्स भिडियोमा ‘कलकत्ते काइँयो...’ थुप्रै प्रयोग भएको देखिन्छ ।


यो गीतका यत्तिका रूप किन बने ? जयनन्द यसको जवाफ दिँदैनन् । ‘यो सार्वजनिक सम्पत्ति हो’, उनले भने, ‘म स्रष्टा हुँ । श्रोताले मन पराउनुहोला भनेरै गीत लेखे/रचेको थिएँ । के कति कारणले मनपराउनुभयो, त्यो म जान्दिनँ ।’


उनलाई एउटै कुरामा घिटघिटो लागेको छ, त्यो के भने यसलाई रिमिक्स गर्न दिए । रिमिक्सले मौलिक पहिचान बिगारेको उनलाई आभास हुन्छ । ‘भाइहरूलाई गाऊ न त भनेर दिइहालेँ,’ उनले सुनाए, ‘तर, त्यसले मौलिक पहिचान मेटाइदिएको महसुस हुन्छ ।’


जयनन्दलाई युट्युबमा यसका नयाँ रूप देख्दा भने कहिलेकाहीँ रमाइलै लाग्छ । मान्छेले मनपराइदिएर नै यस्तो भइरहेको ठान्छन्, मन बुझाउँछन् । तर, रोयल्टीको कुरामा सचेत भइदिन भने उनले आग्रह गरे । मूल गीतमा जयनन्दसँगै डा. बलराम कार्की, बाबा बस्नेत र सरिता लामाको स्वर छ । शब्द र संगीत जयनन्दकै हो । यो गीत २०३८ मा रेकर्ड गरेर ४०/४१ सालतिर रिलिज गरिएको उनले बताए । त्यो जमानाको गीत अहिलेसम्म खोजी हुनुलाई उनले आफ्नो सिर्जनात्मक सफलता मानेका छन् ।


गीतको कथा
जयनन्दले २०२७ देखि लोकभाका गाउन थालेका थिए । त्यो बेला लोकगीत गाउनेलाई हेयको भावले हेरिने गरेको उनको सम्झना छ । उनकै साथी जनार्दन समले ‘वाग्मतीपारि खुर्सानी बारी, बार बार्नुपर्दैन...’ गीत आधुनिक लयमा गाएर राष्ट्रिय पदक जितेपछि जयनन्दलाई बडो झोँक चलेछ । आधुनिक र लोक विधामाथिको भेदभावलाई व्यंग्य गर्दै ‘कलकत्ते काइँयो...’ सिर्जना गरेको उनले बताए ।


जयनन्दले ‘पिरती मैले नलाको होइन, तकदिरमा रैनछ’ भन्ने हरफ व्यंग्यात्मक भएको भेद खोले । ‘हामी दुई समान भए पनि तिमीलाई पहिचान मिल्ने, मेरो चाहिँ पहिचानको कुरा तकदिरमै रहेनछ भन्ने आशय थियो,’ उनले भने, ‘जनार्दन समको गीतको उत्तरमा मैले यो गीत लेखेको थिएँ । तर, यसबारे कहिल्यै कसैलाई थाहा भएन । बरु, गीतलाई लिएर अरू–अरू अर्थ लगाइयो ।’ गीतको बेग्लै अर्थ लगाएकोमा उनलाई कुनै गुनासो भने छैन ।


गीत लेखिसकेपछि लामाले आफ्नै विद्यार्थीलाई गाउन लगाएछन् । त्यो बेला अहिलेकी साहित्यकार बाबा बस्नेत, गायिका (स्वर्गीय) सरिता लामा र गायक बलराम कार्की उनीसँग संगीत सिक्थे । जयनन्दले गीत सुनाउँदा आफूलाई मीठो लागेको बाबाले सम्झिइन् । ‘म भर्खर एसएलसी सकेर बसेकी थिएँ,’ उनले भनिन्, ‘जयनन्द लामा त्यो बेला खुब लोकप्रिय हुनुहुन्थ्यो । उहाँले गाउन आग्रह गर्दा म खुसीसाथ तयार भएँ ।’ त्यो बेला भर्खर स्थापना भएको म्युजिक नेपालको कालिकास्थानस्थित स्टुडियोमा यो गीत रेकर्ड गरेको बाबालाई याद छ ।


लोकगीतहरू सरल र सजिला हुन्छन् भन्ने सुने पनि आफूलाई त्यो खुब सकस परेको बाबाले बताइन् । ‘धेरै चोटि रिटेक गरेँ नि,’ उनी हाँसिन्, ‘स्वर तान्न नसकेर बिग्रेको बिग्य्रै हुन्थ्यो । लोक गीतमा सुर–ताल लगाउन धेरै कठिन हुन्छ ।’ रेकर्डिङताका गीत यतिविघ्न चर्चित होला भन्ने अनुमान नगरेको उनले बताइन् । पाण्डव सुनुवार, कुमार बस्नेत जस्ता लोकहस्तीसँग आफूहरू मिसिन आउँदा खासै केही होला भन्ने नठानेको उनले सुनाइन् ।


जयनन्दका अनुसार, गीतमा एक दर्जन बाजाको प्रयोग गरिएको थियो । नर्बु छिरिङ, शुभबहादुर सुनाम, गणेश परियार, श्याम परियार, मदन परियार, सीके रसाइली, न्हुच्छेबहादुर डंगोल, प्रेम राना औतारी, झलकमान गन्धर्व र अन्य दुई–चार जना युवा पर्कसनिस्टलाई पारिश्रमिक दिएको उनलाई हिजो झैं लाग्छ ।


‘गायक–गायिकालाई चाहिँ पैसा दिइनँ,’ उनले ठट्यौलो स्वरमा भने, ‘मेरै विद्यार्थी थिए, के दिनु †’ यी सबै आर्टिस्टको सामूहिक पहलले गीत बलियो बनेको हुनुपर्ने उनको अडकल छ ।

नयाँ रूप
तामाङ सेलो र शेर्पा संगीतको मिश्रण हो, ‘कलकत्ते काइँयो...’ । यसमा दुवै समुदायका लोकभाव समेटिएका छन् । अहिले चल्तीमा रहेको ‘फ्युजन ट्ेरन्ड’ लामाले तीस वर्षअघि नै प्रयोग गरेका थिए । जनजाति संस्कृतिबाट प्रभावित भाका र हिमाली विम्बमा सर्जकले प्रेमपरक शब्द बुनेका छन् । ‘हुन त यो परिवर्तनकारी गीत होइन,’ गायिका बाबाले भनिन्, ‘यसमा अर्काको मान्छेमाथि आँखा गाढिएको छ । पुरानो सोच हाबी छ । तर, फास्ट बिटको संगीतले यो ख्यालठट्टा हो भन्ने बुझाउँछ । प्रेमिल जोडीलाई विशेष मन पर्ने खालको गीत छ ।’


आफूहरूलाई गीतका शब्द र मौलिकपन मीठो लागेकाले यसलाई रिमिक्स्ड गरिएको गायक एवं र्‍यापर अविनाशले बताए । ‘शब्दहरू सरल छन्’, उनले भने, ‘मौलिक लय छ । गाउने/सुन्ने जोकोहीलाई आत्मीय महसुस हुन्छ ।’ रिमिक्स्ड गीतहरूको ट्रेन्ड रहेका बेला आफूहरू पनि ‘कलकत्ते काइँयो...’ सँग जोडिन पुगेको उनले बताए । यही गीतले आफू र रोज मोक्तानलाई श्रोतामाझ ‘नोटिस’ गराएको उनको अनुभव छ । ‘अहिलेसम्म जहाँ जाँदा पनि यो गीत नगाई हुन्नँ,’ उनले भने, ‘जनबिज्रोमा झुन्डिएको गीत हो यो ।’


कुटुम्ब समूहका रुबिनकुमार श्रेष्ठ पनि जयनन्द लामाको यो सिर्जनालाई लोकभाकाको उत्तम नमुना मान्छन् । आफूहरूले गायक वीरबहादुरसँग प्रस्तुति दिँदा निकै रमाइलो भएको उनले बताए । ‘उहाँले ट्युन मात्र लिनुभयो,’ रुबिनले भने, ‘आफ्नै शब्द राखेर कलकत्ते काइँयो गाउँदा छुट्टै मज्जा आयो ।’ सेलो बिट र मन समात्ने लयका कारण यो गीत सर्वदा प्रिय भइरहेको रुबिनको अनुमान छ ।

प्रकाशित : भाद्र २६, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?