“स्वेच्छाचारी बन्दै” चलचित्र बोर्ड

सुशील पौडेल

काठमाडौँ — फिल्मकर्मीहरूले एकातिर फिल्मकर्मी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्ड स्वायत्त हुनुपर्ने माग गर्दै आइरहेका छन् भने अर्कातर्फ बोर्ड स्वेच्छाचारी बन्दै जान थालेको आरोप पनि लगाइरहेका छन् ।

चलचित्र दर्तादेखि जाँचपासका लागि स्वीकृति प्रदान गर्नेसम्मको अधिकार बोकेको बोर्ड पछिल्लो समय दायराबाहिर जान थालेको तिनको तर्क छ ।

राजकुमार राई अध्यक्ष रहँदा बोर्डले गणेशदेव पाण्डे निर्देशित ‘गाजाबाजा’ फिल्मको नाममा आपत्ति जनाउँदै जाँचपासका लागि अनुमति दिन नमान्दा विवाद उत्पन्न भएको थियो । राईले नाममा पहिले राखिएको ‘गाँजा’ शब्दमा अडको थापेर लामो समय सेन्सरमा अड्काएका थिए । उनै राईले आफ्नो कार्यकालमै युटयुबमा राखिने नेपाली कन्टेन्टमा सेन्सर लगाउने अभिव्यक्ति दिएका थिए ।

Yamaha

यति बेला आएर बोर्डले ‘कथा काठमाडौं’ फिल्मको प्रोमोलाई अश्लील भन्दै हटाउन निर्माण पक्षलाई पत्राचार गरेको छ । बोर्ड अध्यक्ष निकिता पौडेलद्वारा हस्ताक्षरित पत्रमा सम्बन्धित ब्यानरलाई सम्बोधन गर्दै ‘कथा काठमाडौं’ को प्रोमो युटयुबमा अश्लील दृश्यसहित प्रदर्शन भइरहेकोले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै भनिएको छ, ‘यस प्रकारको प्रोमोले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकोले यथाशीघ्र प्रोमो हटाई सोको लिखित जानकारी बोर्ड समक्ष पेस गर्न जानकारी गराइन्छ ।’

‘कथा काठमाडौं’ को आधिकारिक कन्टेन्ट प्रवाह गर्ने युटयुब च्यानल हाइलाइट्स नेपाल भए पनि बोडले उक्त पत्रमा वेभ लिंकसहित उल्लेख गरेको कन्टेन्ट भने अनधिकृत रूपमा राखिएको दृश्य सामग्रीको हो ।

‘कन्टेन्ट अरू कसैले तानेर हाल्छ भने त्यसको जिम्मेवारी हाम्रो फिल्मले लिन सक्दैन,’ ‘कथा काठमाडौं’ की निर्देशक संगीता श्रेष्ठले बोर्डको पत्रमा आपत्ति जनाउँदै भनिन्, ‘चिठी नै नपठाए पनि अश्लीलताका मामिलामा हामी फिल्ममेकर पनि आफैंमा जिम्मेवार हुन्छौं । त्यसमाथि युटयुबले पनि अपलोड गरिने भिडियोलाई सेन्सर नै गरेको हुन्छ । त्यत्रो मर्यादित संस्थाले मैले गर्दै नगरेको गल्तीका लागि कारबाही गर्न मिल्छ ?’

अश्लील भन्ने आधारमाथि प्रश्न तेस्र्याउँदै श्रेष्ठले थपिन्, ‘बरु आपत्तिजनक हुन सक्ला । तर अश्लील भन्ने आधार के छ ? जब कि उक्त प्रोमो हलमा समेत बजिरहेको छ ।’

बोर्ड अध्यक्ष पौडेलले भने आफूलाई सञ्चार मन्त्रालयबाटै कारबाही गर्न आदेश पत्र आएपछि बाध्य भएको कान्तिपुरसँग बताइन् । ‘प्रोमो अश्लील भएको सम्बन्धमा प्रधानमन्त्री कार्यालयबाट सञ्चार मन्त्रालय हुँदै बोर्डलाई कारबाही गर्नू भन्ने बेहोराको ठाडो पत्र आएको हो,’ पौडेलले युटयुबमा राखिने सामग्रीलाई नियमन गर्ने क्षेत्राधिकार बोर्डसमक्ष नभएको उल्लेख गर्दै भनिन्, ‘बोर्डलाई अप्ठयारो भयो ।

मन्त्रालयले बोर्डलाई हात बाँधिदिएर टेबलमा राखिएको खाना खा भने जस्तो गरेको छ ।’ पौडेलले मन्त्रालयबाट प्रतिनिधित्व गर्ने बोर्डका सदस्यसचिवलाई कारबाही के गर्न सकिन्छ भनेर सोध्दा ‘बोर्डले फिल्म निर्माण इजाजत दिन सक्छ भने खारेज पनि गर्न सक्छ’ भन्ने जवाफ पाएको खुलाइन् ।

राजधानीका तीन प्रतिनिधि कथालाई बुनेर निर्देशक श्रेष्ठले नै लेखेको कथामा बनेको ‘कथा काठमाडौं’ मा समावेश एउटा गीत ‘रातका कुरा...’ र प्रोमोमा समावेश गरिएका केही अन्तरंग दृश्यले यति बेला विवाद निम्त्याएको हो । उक्त दृश्यमा प्रमोद अग्रहरी र प्रियंका कार्की फिचरिङ छन् । यौन पिपासु चरित्रका रूपमा फिल्ममा चित्रण गराईएका प्रमोदले प्रियंकाको इच्छाविपरीत उनीसँग सम्बन्ध राखेका दृश्यलाई विम्बात्मक रूपमा देखाइएको छ ।

‘देशकै नम्बर एक नायिकामा गनिएकी प्रियंकाले त्यत्तिकै यो रोल गरिन् होला त ?’ निर्देशक श्रेष्ठले पत्रकार सम्मेलनमा भनिन्, ‘के उनलाई आफ्नो करिअरको चिन्ता छैन होला ? मलाई उनको चिन्ता छैन होला ? मैले आफूले चाहेको घरेलु हिंसाविरुद्धको विषयवस्तुमा फिल्म बनाउन किन नपाउने ?’

‘कथा काठमाडौं’ कै ती दृश्य एउटा पोर्न साइटमा समेत अपलोड भएपछि फिल्मको डिजिटल पार्टनर हाइलाइट्स नेपालले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयलाई अनधिकृत अपलोड गर्नेविरुद्ध कारबाहीको माग गर्दै एक महिनाअघि नै निवेदन दिएको थियो । रजिस्ट्रारको कार्यालयले सोही दिन महानगरीय प्रहरी परिसर, टेकुलाई कारबाहीका लागि पत्राचार गरेको थियो ।

‘फिल्मका दृश्यलाई गलत ढंगले प्रयोग गरिँदा हामी आफैं पीडित भई गुहार मागिरहेको अवस्थामा बोर्डको पत्रले घाउमा नुन छर्कने काम गरिदिएको छ,’ निर्देशक श्रेष्ठले दु:खेसो पोखिन् ।

बोर्ड अध्यक्ष पौडेलले भने कारबाहीका लागि बल बोर्डको कोर्टमा आए पनि त्यसलाई सेन्सर बोर्डको जिम्मा लगाउन चाहेको बताइन् । भनिन्, ‘बोर्डको पत्रको जवाफ ‘कथा काठमाडौं’ बाट आइसकेकाले त्यसलाई मन्त्रालयमा जानकारी गराइसकिएको छ । मन्त्रालयबाट के आदेश आउँछ, नत्र बोर्डले चलचित्र जाँचपासको क्रममा हेरेर कारबाही चलाउन सेन्सरलाई नै जिम्मा दिनेछ ।’

‘कथा काठमाडौं’ असोज १२ मा प्रदर्शन हुँदै छ ।

प्रकाशित : भाद्र २७, २०७५ ०८:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

कम्ब्याट त्यागेर फिल्म

बेलायती सेनामा ‘बेस्ट सोल्जर’ अवार्ड जितेकै वर्ष जागिर छाडेर स्वदेश फर्किएका मिलन चाम्स यतिबेला नेपाली फिल्म निर्देशनमा व्यस्त छन् ।
सुशील पौडेल

काठमाडौँ — मिलन चाम्लिङ उर्फ चाम्सले १२–१३ वर्षको छँदै भोजपुरमा शिवशक्ति फिल्म हल चलाउन थालिसकेका थिए । उनी राई परिवारमा जन्मिएकैले रहर मारेरै भए पनि ब्रिटिस आर्मी (बेलायती सेना) बन्न पुगेका थिए । ‘मेरा बाउबाजे सबै ब्रिटिस आर्मीमा भएकाले मलाई पनि आर्मी नै बन्नुपर्छ भनेर दबाब दिन्थे । मलाई त्यता रुचि नै थिएन ।

बच्चैदेखि भाग्दै, लुक्दै नेपाली, हिन्दी फिल्म यति धेरै हेरें कि मलाई पनि फिल्म निर्माण गर्ने रहर भयो,’ उनले भने ।


फेब्रुअरी १९९८ मा लन्डनबाट चाम्सको फौजी जीवन सुरु भयो । धन्न, आर्मीतर्फ पनि प्रशासनिक विभागमा भएकाले मिलनलाई कम्ब्याटमा बन्दुक भिरेर भने हिँड्नुपरेन । तैपनि घर र फिल्मको यादले खुब सताउँथ्यो । ‘साथीहरू मलाई ५ प्रतिशत मात्रै आर्मी र बाँकी सबै मनोरञ्जनले भरिएको छ भनेर जिस्काउँथे,’ त्यस बेला भर्खर १७ वर्ष पार गरेका मिलनले रोएरै पश्चाताप गर्नुमा भन्दा आर्मी जीवनलाई अवसरमा बदल्ने सोचेको बताए, ‘त्यसपछि फिल्म इडिटिङदेखि मेकिङसम्म पढ्न थालें ।’


उनले आफ्नै बलबुताले फाटफुट म्युजिक भिडियो निर्देशन पनि गर्न थाले । भिडियोमा राम्रै जमिरहेका बेला सन् २००५ मा उनले पहिलोपटक सर्ट फिल्म ‘पश्चाताप’ बनाए । यसबाट उनले पश्चाताप गर्नुपरेन । बरु १५ वर्षपछि आर्मी छोडेर पूर्णकालीन फिल्म निर्देशक बन्न त्यसले भर्‍याङको काम गर्‍यो । उनले बेस्ट सोल्जरको मेडल जितेकै वर्ष मन चंगा पारेर ब्रिटिस आर्मी छोडेका थिए ।


सन् २०१२ मा नेपाल फर्केर मिलनले पहिलो फिल्म बनाए, ‘हँसिया’ । आफू मात्रै नयाँ थिएनन्, छायांकार, सम्पादक, द्वन्द्व निर्देशकदेखि अधिकांश नयाँ लिएर एक्सन फिल्म बनाए । फिल्म खासै चलेन तर त्यसपछि मिलन भने खुबै चले । कारण, पहिलो फिल्ममै उनले आफूमा प्रचुर सम्भावना रहेको देखाइदिए ।


‘तर त्यो बेला ममा भयंकर घमण्ड थियो । म जत्तिको जान्ने कोही पनि छैनझैं गर्थें । द्वन्द्व निर्देशकलाई पनि सिकाइदिन्थें । अहिले सम्झिँदा लाज लाग्छ,’ मार्शल आर्ट्स पनि खेलेका मिलनले आफू घमण्डी भएर नै त्यो फिल्म कमजोर बनेको निष्कर्ष निकाल्दै भने, ‘मैले एक्सनका नाममा इमोसनलाई छोडेको रहेछु ।’


त्यसपछि आफ्नो सहज र रुचिको जानरा एक्सनबाट हटेर बनाएको लभस्टोरी फिल्म ‘वीरविक्रम’ हिट भएपछि भने मिलनको फिल्मप्रतिको बुझाइ फेरियो । भन्छन्, ‘आम मानिसको जीवनको भोगाइभित्र छिर्न सक्नुपर्ने रहेछ । जब दर्शकले फिल्मलाई आफूसँग रिलेट गर्छ तब मन पराइने रहेछ ।’ त्यसपछि ‘लिलिबिली’ हुँदै पछिल्लो फिल्म ‘बोबी’ बाट मिलनले सफलता हात पारे । त्यसो त बीचका उनका दुई फिल्म ‘ब्लाइन्ड रक्स’ र ‘ह्याप्पी डेज’ आशातीत सफल भएनन् । तैपनि मिलनको निर्देशकीय क्रेज घटेन । यतिबेला उनले अनमोल केसीलाई लिएर ‘ब्याचलर बन्टी’ र त्यस लगत्तै ‘वीरविक्रम २’ बनाउँदै छन् ।


पाँच वर्षभित्र ६ फिल्म रिलिज गरिसकेका मिलन यतिबेला छिटो फिल्म तयार पार्नेमा दरिएका छन् । उनी यसो हुनुमा आफूमा भएको सम्पादन र छायांकनको ज्ञान रहेको टिप्पणी गर्छन् । ‘म सम्पादकको दृष्टिकोणले फिल्म खिच्ने भएकाले अनावश्यक सट हुँदैनन् । जसले गर्दा सुटिङ पनि छिटो सकिन्छ,’ मिलन यतिबेला दुई नेपाली प्रोजेक्टसँगै एक विदेशी प्रोजेक्टको तयारीमा पनि छन् । उनी झन्डै पाँच वर्षदेखि नै गृहकार्य भइरहेको फिल्म ‘गोर्खा प्रोटेक्टर’ लाई सन् २०२० को अन्त्यसम्म रिलिज गर्ने गरी फ्लोरमा जाने तयारी कस्दैछन् ।
एकाध नेपाली कलाकारबाहेक सबै विदेशी कलाकार रहने गोर्खा प्रोटेक्टरमा गोर्खाली, गौतम बुद्ध र सगरमाथालाई समावेश गरिने उनले बताए । ‘यो फिल्म रिलिजपछि नेपालमा पर्यटक बढ्नेछन् । गोर्खालीको इमानदारिता र बहादुरितालाई मुख्य गरी जोडिन्छ । क्वीन एलिजावेथदेखि सगरमाथा शिखरसम्म यसको कथा जोडिएको छ,’ विदेशी लेखकसँग मिलेर स्क्रिप्ट तयारी गरिरहेका मिलनले झन्डै २२ करोड रुपैयाँको बजेटमा फिल्म तयार पारिने जनाए ।


मिलन त्यस्तो उत्कृष्ट फिल्म बनाउँदैनन् तर भाग्यमानी छन् । उनका फिल्म चल्छन् पनि । प्राय: टिममा नयाँ व्यक्ति लिएर काम गर्न रुचाउने मिलनलाई अचेल स्टारको आडमा चलेको आरोप पनि लाग्छ । ‘हँसिया’ मा उनले राजेश हमालको कपाल कटाएको विषयलाई क्यास गराएका थिए भने ‘लिलिबिली’ सम्म आइपुग्दा उनको फिल्म चलाउने हतियार प्रदीप खड्का बनेका थिए । तर उनी यसमा सहमत छैनन् ।


‘कलाकारकै कारणले मात्रै फिल्म हिट हुँदैन । हो, स्टारडमका हिसाबले सुरुआती व्यापार गर्छ तर त्यसपछि चल्न फिल्म नै राम्रो हुनुपर्छ,’ उनले पनि आफ्नाबारे हुने गरेका टीकाटिप्पणी सुन्ने गरेका छन् । थप्छन्, ‘मेरोबारेमा त्यति राम्रो प्रतिक्रिया पाइँदैन । ‘बोबी’ कै विषयमा पनि मैले ३० लाख रुपैयाँको टिकट काटेको भन्ने हल्ला रहेछ । त्यसो भए के त्यो आँसु पनि मैले नै किनेको रहेछु ?’


मिलनलाई राम्रोसँग थाहा छ, फिल्मले व्यापार गर्नुपर्छ । निर्माताको लगानी सुरक्षित भएमात्र उद्योगका अरू पनि सुरक्षित हुन्छन् भन्ने उनको मान्यता छ । फेरि बच्चैदेखि फिल्मको व्यापार थालेका उनले त्यसलाई लन्डनमा रहँदा पनि निरन्तरता दिए । ‘सम्भवत: बेलायतमा नेपाली फिल्म चलाउने म नै पहिलो होला,’ मिलनले ठोकुवा नै गर्न नसके पनि नेपाली फिल्म चलाउन घरघरमा पुगेर टिकट बेचेको संघर्ष ताजै छ । उनै मिलन अचेल आफ्ना फिल्मको विदेशमा रेड कार्पेट प्रिमियरमा कुदिरहेका हुन्छन् । सिंगापुर, लन्डन वा नर्वेमा त्यसको सुरुवात पनि गरिसके ।


केही न केही नयाँ गर्न रुचाउने स्वभावका मिलन ‘ब्याचलर बन्टी’ लाई चार देशमा छायांकन गर्ने सुरसारमा छन् भने ‘वीरविक्रम २’ मा भारतकै कोरियोग्राफर, टेक्निसियन राखेर २०० क्राउडमा भारतमै गीत खिच्दैछन् । ‘बलिउडले काम कसरी गर्दोरहेछ भनेर मलाई सिक्नु छ । आखिर टेक्नोलोजीमा त लगभग सबै बराबरी नै भइसक्यो । हाम्रो कमजोरी कहाँ छ भन्ने फरक हेर्न पनि यो प्रयोग गर्न लागेको हुँ,’ उनले भने ।


बेनिशा हमाल नायिका


उहाँ (मिलन चाम्लिङ) एकदमै मिहिनेती र वचनको पक्का गर्ने स्वभावको मान्छे हुनुहुन्छ । उहाँसँग मेसिन जसरी काम गर्न सक्ने खुबी छ । एकै वर्ष ३–४ वटा फिल्म गरिदिनु हुन्छ जुन कुरा हामीले सोच्न पनि सक्दैनौं । त्यति धेरै जाँगर कहाँबाट आउँछ होला ?


उहाँले काम गरेको देख्दा हामीलाई नै जाँगर चल्छ । फेरि कहिल्यै कामको दबाब महसुस गर्नुहुन्न । अरू त अरू बेला, बिरामी हुँदासमेत जोस घटेको देखिन्न । निर्देशकका रूपमा उहाँ कलाकारलाई स्वतन्त्रता दिने भएकाले इनपुट दिन पाइन्छ । कलाकारका कुरा सुन्ने र एकदमै आदर गर्ने स्वभावको डाउन टु अर्थ लाग्छ । यति हुँदाहुँदै पनि उहाँले ३–४ फिल्मको सट्टा एउटै फिल्मलाई समय दिएर बनाएमा एउटै चीज झनै राम्रो बनाउन सक्नुहुन्थ्यो होला भन्ने सुझाव दिन चाहन्छु ।

मिलनका निर्देशन
फिल्म : हँसिया
सन् २०१४
व्यापार : सफल

फिल्म : वीरविक्रम
सन् २०१६
व्यापार : ब्लकबस्टर्स हिट

फिल्म : ब्लाइन्ड रक्स
सन् २०१८
व्यापार : असफल

फिल्म : ह्याप्पी डेज
सन् २०१८
व्यापार : असफल

फिल्म : लिलिबिली
सन् २०१८
व्यापार : सफल

फिल्म : बोबी
सन् २०१८
व्यापार : सफल

sushilpaudel2@gmail.com

प्रकाशित : भाद्र २२, २०७५ १०:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT