१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बालुवाटारमा तीज उल्लास

काठमाडौँ — खासमा उनलाई तीजको शुभकामनाका लागि स्टेजमा बोलाइएको थियो । तर, टोखा नगरपालिकाकी उपमेयर ज्ञानमाया डंगोलले कविता सुनाउन थालिन् । पछिल्लो पटक बढदो तडकभडकका कारण तीजको मौलिक पहिचान गुम्दै गएको भन्दै उनले कवितामै व्यंग्य कसिन् ।

बालुवाटारमा तीज उल्लास

तीज आउनु महिना दिनअघि नै देखासिकी गर्ने सहरियाप्रति उनी कटाक्ष गर्दै थिइन् :

गाउँमा तीज कहिले हो कहिले
सहरमा एक महिना पहिले...

स्थानीय तहका महिला जनप्रतिनिधि, सांसददेखि मन्त्री पत्नीहरूसहितले प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार यसरी तीजमा बढदै गएको विकृतिप्रति चिन्ता जनाए । उनीहरूले तिजको नेपाली परम्परा जोगाउँदै यसलाई विकृत हुनबाट बचाउन घरघरबाट पहल हुनुपर्ने औंल्याए । त्यस्तै चिन्ताकै गीत गाए, नाचे अनि शाकाहारी दर खाए । यसको चाँजोपाँजो मिलाएकी थिइन् प्रधानमन्त्रीपत्नी राधिका शाक्यले । ‘तीज र तिहार भनेको त सबै नेपाली चेलीहरूको पर्व हो,’ दर खाँदै गर्दा सांसद सरिता न्यौपानेले भनिन्, ‘अचेल यो सभ्य हुनबाट अलिक चिप्लिन थालेको छ । तीजको साख हामी आफैँले जोगाउनुपर्छ ।’


कलाकार संगीता लामा नाच्दै गर्दा एकै छिनका लागि आइपुगेका प्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जालका कारण पछिल्लो पुस्ताको मनोविज्ञानमाथि प्रहार भइरहेको बताए । संगीताले नृत्य गर्दैगर्दा चेली माइतीको भलाकुसारी गुन्जिएको थियो, गीतमै । प्रधानमन्त्रीको चिन्ता भने अहिलेको तीज ‘चेली–माइतीबीचको भलाकुसारी’ भन्दा पर पुगेको प्रति थियो ।


‘हामीले हुर्किंदै गरेको नयाँ पुस्ताप्रति चासो दिन छाडेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘अभिभावक भएपछि सन्तानप्रतिको उत्तरदायित्व पनि पूरा गर्नैपर्छ । निश्चित समयसम्म उनीहरूलाई गाइड गर्नुपर्छ । अहिले सामाजिक सञ्जालबाट हाम्रो संस्कृतिमाथि प्रहार गर्ने काम भइरहेको छ । यो एक प्रकारको घुमाउरो हस्तक्षेप हो । हाम्रो मौलिक ज्ञान, परम्परा र संस्कृति जोगाउन यतातिर पनि ख्याल पुर्‍याउनुपर्छ ।’


यसपछि प्रधानमन्त्रीले महिलाहरूलाई व्रत बस्दा आफ्नो स्वास्थ्यको पनि ख्याल पुर्‍याउन सुझाए, समाजमा बढदै गएको महिला हिंसाविरुद्ध आवाज उठाउन पनि तीजको प्लेटफर्म प्रयोग गर्न आग्रह गरे ।


कवि अनिता लामाद्वारा तीजकै सन्दर्भ जोडिएको सिर्जना वाचनसहित सुरु भएको समारोहमा आमाघरकी सञ्चालक दिलशोभा श्रेष्ठ, सूर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेत, बिना बाँस्तोला, शोभा श्रेष्ठ लगायतले तीजलाई नारी विभेदविरुद्धको चाडका रूपमा मनाउन आग्रह गरे ।


‘तीजलाई सांस्कृतिक सद्भावको रूपमा पनि जोड्न सकिन्छ,’ कार्यक्रम संयोजकसमेत रहेकी अनिताले भनिन्, ‘संस्कृति जोगाउने कुरा त छँदै छ,’ उनले आफ्नो रचनामा भने तीजलाई विम्ब बनाएर नारी समानताको वकालत गरेकी थिइन् ।

प्रकाशित : भाद्र २७, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?