कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

निम्फ अवार्डमा १४ फिल्म

न्युयोर्क — आदिवासी विषय, समाज र संस्कृतिमाथि बनेका नेपाली फिल्म केन्द्रित रहेर अमेरिकामा हुँदै आएको नेपाल आदिवासी फिल्म महोत्सव (निम्फ) का लागि ९ फिचर फिल्म, ३ सर्ट फिल्म र २ डकुमेन्ट्री छनोटमा परेका छन् ।

निम्फ अवार्डमा १४ फिल्म

नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) ले गर्दै आएको यो फिल्म महोत्सव मुलुकबाहिर हुने सबैभन्दा ठूलो नेपाली आदिवासी फिल्म महोत्सव हो । यही सेप्टेम्बर १५ र १६ मा हुने महोत्सवको दोस्रो संस्करणका लागि सबै तयारी पूरा भएको आयोजकले बताएको छ ।


फिप्नाले न्युयोर्कको ज्याक्सन हाइटस्थित मुस्ताङ किदुङको कार्यालयमा पत्रकार सम्मेलन गरी अवार्डमा छानिएकाको सूची सार्वजनिक गरेको हो । फिचर, सर्ट र डकुमेन्ट्री फिल्मका लागि आवेदन परेका ४६ फिल्ममध्ये पहिलो चरणमा २४ वटा छनोट गरिएको र तीमध्ये पनि हरेक समुदायसँग सम्बन्धित संस्थाहरूद्वारा गठित जुरीबाट अन्तिम सूची निकालिएको विज्ञप्तिमा उल्लेख छ ।


छनोटमा परेका फिल्ममा गुरुङ समुदायबाट सुवास गुरुङ निर्देशित ‘भेडीगोठालो’, तामाङ समुदायबाट रोशन फयुबाको ‘सेम कि तम’, नेवार समुदायबाट अमृतमान महर्जनको ‘स्वयनगु’, मगर समुदायबाट मेजन पुनको ‘रैया’, राई समुदायबाट वीरबहादुर राईको ‘यारी’, शेर्पा समुदायबाट आङ कुंगा ङिमा शेर्पाको ‘टिन्छेन फमा’, लिम्बू समुदायबाट किशोर सुब्बाको ‘साम’, मनाङ समुदायबाट खुसबहादुर गुरुङको ‘मनांगे नानी’, याक्खा समुदायबाट अरुण प्रधानको निर्देशन रहेको ‘ओम्ला’ छन् ।


यी फिल्ममध्येबाट १२ विधामा निम्फ अवार्ड दिइनेछ । उत्कृष्ट फिल्म, अभिनेता, अभिनेत्री, कथा, भेषभूषा, निर्देशक, छायांकन, अभिनय कला, संगीतलगायत अडियन्स च्वाइस अवार्डलाई नगद पुरस्कार दिइनेछ । विज्ञप्तिअनुसार, उत्कृष्ट फिल्मलाई १ लाख २५ हजार रुपैयाँ, उत्कृष्ट लघु फिल्म र उत्कृष्ट डकुमेन्ट्रीलाई जनही ३१ हजार रुपैयाँ दिइनेछ ।


अवार्डलाई निष्पक्ष र विवादरहित बनाउन फिल्म, सञ्चार, अधिकारकर्मी तथा कला र संस्कृति क्षेत्रमा आवद्ध जुरी बनाइएको छ । सञ्चारकर्मी शैलेश श्रेष्ठ संयोजक रहेको जुरीमा शम्भु मोक्तान, रोज लामा, लीला राई, छिरिङ रिञ्जिन गुरुङ छन् । त्यसैगरी लघु फिल्म र डकुमेन्ट्रीका लागि फिप्ना संघीय परिषदका सभामुख विनोद पोमोको संयोजकत्वमा मच्छेदेवी गुरुङ र ङिमा पाख्रिन रहेको जुरी बनाइएको छ ।


फिप्नाका महासचिव प्रेम गुरुङका अनुसार महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा कला र संस्कृति झल्कने मनोरञ्जनात्मक प्रस्तुतिसमेत देखाइनेछन् । दर्शकको मतका आधारमा उत्कृष्ट प्रस्तुति गर्ने समूहले ५ सय डलरको पुरस्कारसमेत पाउनेछ ।

प्रकाशित : भाद्र २७, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?