कामना फिल्म अवार्डको मनोनयन

कान्तिपुर संवाददाता

काठमाडौँ — सीजी कामना फिल्म अवार्डस्को चौथो संस्करणको मंगलबार विधागत उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ ।

गतवर्षभर सार्वजनिक प्रदर्शनीमा आएका नेपाली फिल्मबाट ३१ विधामा अवार्ड प्रदान गर्ने सीजी कामनाले यसपटक ‘छक्का पन्जा २’ लाई सर्वाधिक १४ विधामा मनोनीत गरेको छ । फिल्मसहित ‘छक्का पन्जा २’ बाट निर्देशनमा दीपाश्री निरौलासहित अभिनेता, हास्य कलाकार, सहअभिनेता, सहअभिनेत्री, नव अभिनेता, पटकथा, संवाद, छायांकन, सम्पादन लगायतका महत्त्वपूर्ण विधामा परेको हो । तर सोही फिल्म उत्कृष्ट फिल्म विधातर्फ भने अटाउन सकेको छैन । हास्य कलाकार विधामा ‘छक्का पन्जा’ बाटै केदर घिमिरे र जयनन्द लामा मनोनयमा राखिएको छ ।


उत्कृष्ट फिल्मतर्फ भने १३ विधामा परेको ‘कृ’ ले ‘ब्लाइन्ड रक्स’, ‘घामपानी’, ‘लिलीबिली’ र ‘शत्रु गते’ सँग प्रतिस्पर्धा गर्ने भएको छ । निर्देशकतर्फ दीपाश्रीको भिडन्त मिलन चाम्स, नवल नेपाल, प्रदीप भट्टराई र सुरेन्द्र पौडेलसँग हुने भएको छ ।

Yamaha


दीपकराज गिरी, दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी, प्रदीप खडका र पुष्प खडका अभिनेतातर्फको विधामा मनोनयमा पर्दा अभिनेत्रीतर्फ बेनिसा हमाल, मेनुका प्रधान, निता ढुंगाना, प्रियंका कार्की, सारा सिरपाली र शिल्पा पोखरेल गरी ६ जना परेका छन् । गतवर्ष मात्रै ‘रुद्र’ फिल्मबाट डेब्यु गरेकी सारा उक्त फिल्मबाट नवअभिनेत्रीमा मनोनयनमा पर्दा ‘पिँजडा ब्याक अगेन’ बाट भने उत्कृष्ट अभिनेत्रीको विधामा पनि अटाएकी हुन् ।


मनोनयनमा ११ विधामा आएको ‘ए मेरो हजुर २’ बाट झरना थापा र सलिनमान बानियाँ क्रमश: नवनिर्देशक र नवअभिनेतामा परेका छन् । त्यसैगरी ‘लिलीबिली’ १० र ‘शत्रु गते’ तथा ‘मंगलम्’ समान नौ–नौ विधामा मनोनीत भएका छन् ।


यस वर्षको अवार्डअन्तर्गत सर्वोत्कृष्ट अभिनेता र अभिनेत्री विधामा तीव्र प्रतिस्पर्धाका कारण उत्कृष्ट ६ को नाम अगाडि आएको छ भने सारा सिरपाली रुद्रबाट नवअभिनेत्री र पिँजडा ब्याक अगेनबाट अभिनेत्रीको प्रतिस्पर्धामा छिन् । त्यसैगरी कोरियोग्राफर कविराज गहतराज भने उत्कृष्ट नृत्यनिर्देशकको उत्कृष्ट पाँचमध्ये चार फिल्मबाट परेका छन् भने उनको प्रतिस्पर्धा केवल मिलन चाम्ससँग मात्रै हुनेछ ।


अवार्डमा एक लाख रुपैयाँसहित कीर्तिमय दीर्घ योगदान सम्मान पनि दिइनेछ भने निर्णायकका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित : भाद्र २७, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

“बुलबुल” फागुनमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नायिका स्वस्तिमा खडका टेम्पो चालकको भूमिकामा देखिँदै गरेको खबर बाहिरिएपछि ‘बुलबुल’ यति बेला प्रतीक्षित फिल्मको पंक्तिमा उभिएको छ ।

त्यसो त फिल्ममा अर्की कलाकार लक्ष्मी बर्देवा पनि टेम्पो चालककै भूमिकामा छिन् । पात्र चरितार्थका लागि दुवैले महिना दिन टेम्पो चलाउन सिकेका पनि थिए । यति बेला भने ‘बुलबुल’ छायांकन सकिएर पोस्ट प्रोडक्सनको चरणमा पुगेको छ । फागुन ३ मा रिलिज हुँदै छ यो फिल्म ।


विनोद पौडेल निर्देशित फिल्मको छायांकन २५ दिनमा सकिएको हो । एउटा गीत भने खिच्न बाँकी रहेको निर्देशक पौडेलले बताए । ‘गीतका लागि मौसम सफा चाहिने भएकोले हामी त्यसैको प्रतीक्षामा छौं । सम्भवत: दसैं–तिहारको बीचमा खिच्छौं,’ उनले भने । यसअघि ‘साँघुरो’ को पटकथा लेखिसकेका पौडेलको ‘बुलबुल’ पहिलो निर्देशन हो ।


निर्माता अविरल थापाले फिल्म भ्यालेन्टाइन्स डेको छेको पारेर फागुन ३ मा रिलिज गरिने जनाए । ‘डायस्पोरामा प्रिमियर गरेर बल्ल सार्वजनिक प्रदर्शन थाल्ने सोचअनुरूप फागुनको समय राखेका हौं,’ उनले भने ।


फिल्ममा बुद्धि तामाङ, मुकुन भुसाल, उज्ज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे लगायतको अभिनय छ । सुसन प्रजापतीको छायांकन रहेको फिल्म निर्देशक पौडेलले नै लेखेका हुन् । फिल्ममा कोशिश क्षेत्री र उद्गम परियारको संगीतमा रजिना रिमाल र निश्चल बस्नेतले गाएका छन् । फिल्म पुरुषोत्तम पाण्डे, अविरल थापा, भीम थापा र राजु पौडल मिलेर बनाएका हुन् ।

प्रकाशित : भाद्र २७, २०७५ ०८:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT