ब्रेकअप गर्ल जोनिता

मैले पैसा कमाउन कभर सङ गाएकी होइन । तीबाट सिकूँ भनेर गाउँछु । तिनको मौलिकता नबिग्रियोस् भन्नेमा सचेत छु । -जोनिता गान्धी
सजना बराल

काठमाडौँ — फिल्म ‘ये दिल है मुश्किल’ को ‘ब्रेकअप सङ...’ खुब चर्चित बन्यो । यसपछि गायिका जोनिता गान्धीलाई ‘ब्रेकअप गर्ल’ भन्न थालियो ।

ब्रेकअप गर्ल जोनिता

बुधबार काठमाडौंमा भेटिएकी जोनितालाई मिराकी इभेन्टका अनिश शाक्यले पनि ब्रेकअप गर्ल भन्दै सम्बोधन गरे । जोनिता लजाइन् अनि चित्त नबुझेको शैलीमा दायाँ–बायाँ टाउको हल्लाइन् ।


‘म एउटै गीत, एउटै विधामा सीमित हुन चाहन्नँ,’ उनले कान्तिपुरसँग भनिन्, ‘नयाँ–नयाँ शैलीमा प्रयोग गर्न रुचाउँछु ।’


क्यानडामा हुर्किएकी भारतकी यी गायिका शुक्रबार होटल अन्नपूर्णमा हुने ‘टुबोर्ग मिराकी लाइभ : जोनिता गान्धी इन नेपाल’ कन्सर्टका लागि बुधबारै काठमाडौं आएकी थिइन् । अमेरिकाको सांगीतिक भ्रमण सकेर सोझै नेपाल आएको हुनाले अलि थाकेको बताइन् । यहाँ हुने कन्सर्टका लागि पाँच जना वाद्यवादक र अन्य गरी आठ जनाको टोली उनले ल्याएकी छन् । समारोहमा उनीअघि दीपक बज्राचार्य र ज्योभान भुजूले प्रस्तुति दिनेछन् । नेपाली र विदेशी आर्टिस्टलाई एकै स्टेजमा प्रस्तुत गर्न चाहेको मिराकीका शाक्यले बताए ।


गएको फेब्रुअरीमा पनि जोनिता सुटुक्क नेपाल आएकी रहिछन् । काठमाडौंकै कुनै होटलमा प्रस्तुति दिएर गएको बताइन् । ‘प्राइभेट इभेन्ट थियो,’ उनले भनिन्, ‘कुनचाहिँ होटल हो भन्ने थाहै छैन ।’ यस पालि नेपाली संगीतकर्मीको प्रस्तुति हेर्न पाउने भएकाले खास उत्साहित भएको बताइन् । कन्सर्टमा लाखे नाच, पुलु किसी र धामी–झाँक्री नृत्य पनि समावेश गरिने थाहा पाएपछि उनी झनै पुलकित बनिन् ।


‘यहाँको मौलिकता बुझ्न पाउने भएँ,’ उनले भनिन्, ‘मैले विभिन्न भाषामा गीत गाएकी छु । नेपाली सिक्ने विचार छ अब ।’

युटयुबबाट बलिउड
पछिल्लो समय एआर रहमानका कन्सर्टमा व्यस्त जोनिता सुरुमा युटयुबमा लोकप्रिय थिइन् । वेस्टर्न क्लासिकल र हिन्दुस्तानी शास्त्रीय संगीत दुवै सिकेकी उनी कभर सङमार्फत चिनिएकी हुन् । ‘चुरा लिया है तुमने...’, ‘लग जा गले...’, ‘बोल दो ना जरा...’, ‘सौ आसमान...’ जस्ता गीतको कभर भर्सनले उनलाई युटयुब स्टार बनाइदिएको थियो । तिनै भिडियोका कारण बलिउडमा उनलाई ब्रेक मिल्यो ।


‘कभर सङबाट हामीले अर्थोपार्जन गर्न पाउँदैनौं,’ उनले भनिन्, ‘जति पनि रिभेन्यु उठ्छ त्यो सबै कपिराइट होल्डरले लिन्छन् । मैले पैसा कमाउन कभर सङ गाएकी पनि होइन । तीबाट सिकूँ, राम्रो गीतको आनन्द उठाऊँ भनेर कभर गाउँछु ।’ कभर भर्सनले पुराना गीतलाई ताजगी दिने उनको बुझाइ छ । कभर गर्नु भनेको मौलिक गीतको पुन:सिर्जना गर्नु हो भन्ने उनलाई लाग्छ । ‘अरूका गीत आफ्नो शैलीमा गाउँछु,’ उनले भनिन्, ‘तर, मौलिकता नबिग्रियोस् भन्नेमा सचेत छु ।’


उनी युटयुबलाई राम्रो प्लेटफर्म मान्छिन् ।


रोकटोक गर्ने कोही नहुँदा आफ्नो सिर्जना जस्ताको त्यस्तै अभिव्यक्त गर्न सकिने बताइन् । यहाँ आउने इमानदार प्रतिक्रियाले आफूलाई सुधारिन र ऊर्जाशील बन्न प्रेरित गर्ने उनको भनाइ छ । आफ्ना पुराना फयानका लागि उनी अझै पनि कभर सङ गाइरहेकी हुन्छिन् ।


जोनितालाई अब कभर गाउन जरुरी छैन । फिल्मी गीतका प्रस्ताव मनग्गे आउँछन् । बलिउडका नामी संगीत निर्देशकसँग काम गरिसकेकी छन् । एआर रहमानदेखि सलिम सुलेमान, प्रितम, विशाल–शेखर, अमित त्रिवेदी, विशाल भारद्वाजलगायत संगीतकर्मी उनलाई खोज्छन् ।


‘बलिउडमा चान्स पाउन सजिलो छैन,’ क्यानडाबाट स्वदेश आएर संघर्ष गरेकी जोनिताले भनिन्, ‘मजस्तो गीत गाउने मान्छे कति छन् त्यहाँ † तर, त्यो भीडमा आफूलाई छुट्टै देखाउन सक्यो भने धेरै माथि पुगिन्छ ।’ सन् २०१३ मा ‘चेन्नई एक्सप्रेस’ फिल्मको शीर्ष गीतमार्फत बलिउड प्लेब्याक सिंगिङमा प्रवेश गरेकी उनले त्यसयता ‘हाइवे’, ‘दिलवाले’, ‘ढिसुम’, ‘पिंक’, ‘ये दिल है मुश्किल’, ‘दंगल’, ‘डियर माया’, ‘जब हयारी मेट सेजल’, ‘प्याडम्यान’ लगायतका लागि गाएकी छन् ।


‘नेपालमा पनि मेरा फयान छन् नि,’ उनले जाँदाजाँदै भनिन्, ‘मलाई युटयुब र सोसल मिडियामा कत्ति धेरै म्यासेज पठाउनुहुन्छ ! बलिउड म्युजिकको ठूलो अडियन्स नेपालमा हुनुहुन्छ भनेर थाहा पाएरै म यहाँ आएकी हुँ ।’ उनले डेढ घण्टा प्रस्तुति दिनेछिन् ।

प्रकाशित : भाद्र २९, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?