कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

फजस्केपको मैथिली गीत

काठमाडौँ — मिथिला चित्रकलाका लागि जनकपुर नामी छ । तिनै चित्रकलालाई संगीतसँग जोडेर अहिले एउटा सांगीतिक डकुमेन्ट्री तयार पारिएको छ । डकुमेन्ट्रीमा भनिएको छ, ‘चित्रकला र संगीतको नाता गाढा छ । यहाँको हरेक चित्रसँग आफ्नै गीत छ ।’

फजस्केपको मैथिली गीत

सत्र मिनेट लामो डकुमेन्ट्रीको ओपनिङ नै चित्रमार्फत गरिएको छ । चित्रले लोककथा बताउने र कथाहरू गीतमार्फत पुस्तान्तरण हुँदै आएको स्थानीय कवि अशोक दत्तले बताए ।फज फ्याक्ट्री प्रोडक्सनले ‘फजस्केप’ शृंखलाको पाँचौं भागमा जनकपुरविशेष म्युजिकल डकुमेन्ट्री तयार पारेको हो ।

यसमा काठमाडौंबाट गएका तीन संगीतकर्मी र स्थानीय स्रष्टाको सहकार्यमा निर्मित गीत र त्यसको निर्माण प्रक्रिया समेटिएको छ । दक्षिण–पूर्वी तराईको कला, दैनिकी र संस्कृतिलाई संगीतमा घोल्न खोजिएको डकुमेन्ट्रीमा बताइएको छ । यसमा मिथिलाको जनजीवनलाई सांगीतिक रङमा प्रस्तुत गरिएको छ ।

फजस्केपमा यसअघि हिमाली भेगको शेर्माथाङदेखि पहाडको भोजपुर र तराईको वीरगन्जका ठेट सांगीतिक संस्कृति समाविष्ट थिए । झिझियादेखि गन्धर्व भाका सुन्न पाइएको थियो । ती भाका टिप्दै गर्दाको पहल भिडियोमा उतारिएको थियो । यस पालिको शृंखलामा ठेट लय सुन्न पाइँदैन । तर, भाषा र भाव भने नितान्त मौलिक छ । ‘मैथिली भाषाको गीतलाई इलेक्ट्रोनिक म्युजिकमा प्रस्तुत गरेका छौं,’ संगीतकार रोहित शाक्यले भने, ‘जनकपुरमा बलिउड म्युजिकको ठूलो प्रभाव रहेछ । त्यसबाट जोगिएर काम गर्नुपर्‍यो ।’

फजस्केपका करिब एक दर्जनको टोलीले दुई साताजति जनकपुर बसेर उक्त म्युजिकल डकुमेन्ट्री बनाइभ्याएको थियो । यसमा टोलीसँगै गायक एवं डीजे रञ्जन झा संलग्न थिए । लामो समयपछि आफ्नो जन्मथलो फर्किएका झाको अनुभूति डकुमेन्ट्रीमा हेर्न सकिन्छ ।

यो शृंखलामा रोहित र रञ्जनसँगै राजन श्रेष्ठ र शिवानी भगत गायन तथा संगीत रचनामा संलग्न थिए । कवि दत्तले शब्द कोरिदिएपछि ‘निश्चल झरना गीत गवैये...’ को सांगीतिक पक्रिया सुरु गरियो । शिवानीले मेकसिफ्ट (अस्थायी) स्टुडियोमा गीत रेकर्ड गरिन् । रोहित, रञ्जन र राजनले संगीत सिर्जना गरे । ‘यो तरिकाले पहिलो पटक गीत बनाएको देखेँ,’ कवि दत्तले भने, ‘सबै थोक अन द स्पट भयो ।’

स्थानीय कला–संस्कृतिको प्रवद्र्धनमा मैथिल नारीहरूले अहं भूमिका खेल्दै आएको भन्दै कवि दत्तले गीतमा आफूले उन्मुक्त नारीको भाव पोख्न खोजेको बताए । ‘समग्र दुनियाँ आफ्नो मानेर निस्फिक्री उड्न खोजेका नारीको भावना व्यक्त गर्न चाहेको थिएँ,’ उनले कान्तिपुरसँग भने, ‘हाम्रो कला–संगीत जोगाउन नारीहरूले नै अहं भूमिका खेल्दै आएका छन् । यस्ता डकुमेन्ट्रीले मिथिलाको खास पहिचान विस्तार गर्छन् ।’

नेपाली संस्कृति झल्काउने संगीत र स्थानीय कलाकारको उत्थानका लागि यस्ता डकुमेन्ट्री बनाउँदै आएको फज फ्याक्ट्रीले जनाएको छ । प्रिन्स क्लाउस फन्ड र ब्रिटिस काउन्सिलसँगको सहकार्यमा पछिल्लो शृंखला तयार पारेको जनाइएको छ । डकुमेन्ट्रीको निर्देशन राजन श्रेष्ठले गरेका हुन् । क्यामेरामा प्रशित स्थापित, बर्खा मुखिया र रेवत श्रेष्ठ थिए ।

प्रकाशित : आश्विन १, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?