कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिने सर्कल अवार्ड : नाजिर–नीता उत्कृष्ट प्रदीप–प्रियंका पपुलर

काठमाडौँ — सिनेमा सर्कल नेपालले आइतबार आयोजना गरेको सिने सर्कल अवार्डमा उत्कृष्ट अभिनेता–अभिनेत्रीको ट्रफी नाजिर हुसेन र नीता ढुंगानाको पोल्टामा गएको छ । नाजिरलाई ‘तिमीसँग’ फिल्मका लागि अवार्ड दिइँदा नीताले ‘पञ्चायत’ बाट जितेकी हुन् ।

सिने सर्कल अवार्ड : नाजिर–नीता उत्कृष्ट प्रदीप–प्रियंका पपुलर

पपुलरतर्फ भने ‘लिलिबिली’ बाट प्रदीप खड्का र ‘छक्का पन्जा २’ बाट प्रियंका कार्कीले अवार्ड पाए । गत वर्ष प्रदर्शनमा आएका फिल्ममध्ये अवार्डका लागि संलग्न ६३ फिल्मबाट मूल्यांकन गरी उत्कृष्टताका आधारमा अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

फिल्म ‘भुइँमान्छे’ बाट निर्देशकमा नवराज बुढाथोकी र छायांकारमा विदुर पाण्डेले अवार्ड पाउँदा अर्जुन पोखरेलले ‘म यस्तो गीत गाउँछु’ बाट उत्कृष्ट संगीतकारको अवार्ड जिते । ‘ऐश्वर्य’ जोडी रमेश उप्रेती र दीपिका प्रसाईलाई वर्षकै सर्वाधिक रुचाइएको अनस्क्रिन जोडीको टाइटल दिइयो ।

तेस्रो संस्करणको सिने सर्कल अवार्डमा उत्कृष्ट पाश्र्व गायक–गायिका सुगम पोखरेल र मेलिना राई दरिंदा नृत्य निर्देशकको अवार्ड भने कविराज गहतराजले जिते । ‘कृ’ बाट चन्द्र पन्तले द्वन्द्व निर्देशनको अवार्ड हात पार्दा सम्पादनमा मित्र डी गुरुङ अब्बल ठहरिए ।

पाश्र्व संगीतका लागि एलिस कार्की (लिलिबिली), भीएफएक्समा माओत्सुगु मिकामी (माई लभ), स्टन्टमा सिम्पसन तामाङ (पिंजडा ब्याक अगेन), ट्रेलरमा सुरेन्द्र पौडेल (कृ) र उत्कृष्ट पोष्टरमा शान थापा र विजय बस्यालले ‘शत्रुगते’ का लागि संयुक्त रुपमा अवार्ड थापे । वर्षकै सर्वाधिक पपुलर गीतको अवार्ड ‘दुई रुपैयाँ’ को ‘कुटुमा कुटु...’ का लागि राजनराज सिवाकोटीलाई प्रदान गरियो ।

सांगीतिक कम, अवार्ड वितरणले बढी समय लिएको समारोहमा ‘तिमीसँग’ ले उत्कृष्ट फिल्मसहित पटकथामा पनि अवार्ड जित्यो । प्रशंसनीय फिल्मको अवार्ड ‘पञ्चायत’ ले पाउँदा क्रिटिक्स अवार्ड पुष्प खड्कालाई दिइयो ।

उपराष्ट्रपति नन्दकिशोर पुन, बलिउड अभिनेता गोविन्दासहित फिल्मकर्मीहरूको बाक्लो उपस्थितिमा राजधानीको राष्ट्रिय सभागृहमा झन्डै तीन घण्टा चलेको समारोह मुख्यत: गोविन्दामै केन्द्रित रह्यो । गोविन्दाकै फिल्म करिअरसम्बन्धी भिडियो प्रिजेन्टेसनसहित नेपाल आर्मी ब्यान्डले उनकै एउटा फिल्मको गीतको धुन बजाएर सम्मान व्यक्त गर्‍यो । कोरियोग्राफर गम्भीर विष्टले समेत गोविन्दाकै अघि उनकै फिल्मको गीतमा क्यारिकेचर डान्स प्रस्तुत गरे । छोरी टीना आहुजासहित आएका गोविन्दाले लामै भाषण पनि दिए ।

‘मेरो त पहिलो प्रेम नै नेपाली युवतीसँग भयो,’ नेपाली चेली सुनितासँग विवाह गरेका अभिनेताले प्रफुल्लित मुद्रामा थपे, ‘मलाई भगवान्ले एउटी साक्षात् माता दिए । अर्की तपाईंकी छोरी ।’ कुनै बेला एकसाथ ७५ फिल्म खेल्न हस्ताक्षर गरेको प्रसंग कोट्याउँदै गोविन्दाले सम्झिए, ‘दिलीप कुमार सा’बले तीमध्ये २५ फिल्म नखेल्न भनेपछि पैसा नै फिर्ता गरिदिएको थिएँ ।’

समारोहमा उपराष्ट्रपति पुनले गोविन्दालाई ढाकाको दोसल्ला ओढाएर स्वागत गरेका थिए ।२२ विधामा ट्रफी प्रदान गरिएको सिने सर्कल अवार्डमा निर्देशक किशोर रानालाई दीर्घ साधना सम्मान अर्पण गरियो । १५ नेपाली र ६ भोजपुरी फिल्म निर्देशन गरेका राना नाजुक स्वास्थ्य अवस्थाका कारण समारोहमा अनुपस्थित रहे । ५१ हजार रुपैयाँसहितको सम्मान उनकी पत्नी गायिका संगीता प्रधानले ग्रहण गरिन् । समारोहमा रानाको जीवनीसहितको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिएको थियो ।

प्रकाशित : आश्विन १, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?