देखाइयो ‘सेर्कु’

काठमाडौँ — दुई टुहुरा किशोरीको संघर्षको कथा रहेको तामाङ फिल्म ‘सेर्कु’ राष्ट्रिय नाचघरमा देखाइएको छ । फिल्मले दर्शकहरूबाट राम्रै प्रतिक्रिया पायो ।

देखाइयो ‘सेर्कु’

२०५० तिर ओखलढुंगामा भएको सत्य घटनामा आधारित फिल्म हेरेपछि प्रदेश ३ की उपसभामुख राधिका तामाङले भनिन्, ‘अभिनय र कथावस्तुले तान्यो ।’ उनले सामाजिक विषयवस्तुमा अर्थपूर्ण फिल्म बनाएको भन्दै निर्माण युनिटको प्रशंसा गरिन् ।

आमाबुबा नभएका दुई तामाङ किशोरीलाई उस्तै टुुहरो एक युवकले बहिनी बनाएर पालेको र तिनलाई शिक्षित र सुखी बनाउन युवकले गरेको प्रयत्न फिल्ममा समेटिएको छ । मातृभाषाका कारण पैदा हुने स्कुले पढाइका अप्ठ्याराहरूसँगै गरिबी र प्रेमका सन्दर्भ पनि फिल्ममा छन् ।

राजकुमार मोक्तान निर्देशित फिल्मको कथा तथा पटकथा रितुराज पाख्रिनले लेखेका हुन् । मुख्य भूमिकामा रितुराज स्वयं छन् । चाँदनी मोक्तान, उर्मिला वाइबा, सुषमा मोक्तान, श्याम योन्जन, सुषमा थिङ, बैरागी मोक्तान, विकास स्याङ्तान लगायतको अभिनय रहेको फिल्म रोशन फ्युबाले खिचेका हुन् ।

आधा दर्जन तामाङ फिल्म निर्देशन गरिसकेका फ्युबाले यो फिल्मको सम्पादनको पाटो पनि सम्हालेका छन् । सिद्धार्थ मोक्तानको निर्माण रहेको फिल्मका सहनिर्माता निमा दावा रुम्बा र तेन्जिङ शेर्पा ह्योल्मो रहेका छन् । फिल्मको छायांकन ओखलढुंगामै गरिएको हो ।

प्रकाशित : आश्विन १, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?