१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सबैतिर आवश्यक छ मी टु मुभमेन्ट

एजेन्सी

काठमाडौँ — अभिनेत्री राधिका आप्टेले बलिउडमा ‘हयासटयाग मी टु मुभमेन्ट’ को आवश्यकताबारे बोलिरहँदा काजोलले पनि यसमा सही थापेकी छन् । तर, उनले बलिउड मात्र होइन, समाजका सम्पूर्ण अंगले महिलाविरुद्धको हिंसा अभियानमा साथ दिन जरुरी रहेको औँल्याएकी छन् ।

सबैतिर आवश्यक छ मी टु मुभमेन्ट

हलिउडबाट सुरु भएको मी टु मुभमेन्टलाई लिएर विश्वभर ज्वारभाटा उठे पनि बलिउडमा यो अभियानले आकार पाउन सकेन । त्यहाँका कुनै स्टारले अभियानका पक्षमा आफ्ना अनुभव साझा गरेनन् । तर, राधिकाले यो मौनता तोडिन् ।

‘म एक दिन सुटिङ सकेर अपार्टमेन्ट फर्किंदै थिएँ,’ उनले भनेकी छन्, ‘फिल्ममा सँगै काम गरेर पनि खास बोलचाल नभएका एक व्यक्ति लिफ्टमा थिए । उनले मेरो जीउ मालिस गर्दिन आफू तयार रहेको बताए ।’ राधिकाले ती व्यक्तिबारे फिल्म टोलीलाई अवगत गराएपछि समस्या सुल्झिएको रहेछ ।

राधिकाको यो अनुभूति सार्वजनिक भएपछि काजोलले पनि मी टु मुभमेन्ट महत्त्वपूर्ण रहेको अभिव्यक्ति दिएकी छन् । तर, यो अभियानलाई फिल्म उद्योगमा मात्र सीमित राख्न नहुने उनको तर्क छ । ‘यो फिल्म क्षेत्रको मात्रै समस्या होइन,’ उनले भनेकी छन्, ‘स्पटलाइटमा भएकाले बलिउड बोलोस् भन्ने चाहनु स्वाभाविक हो, तर हामीले जुरुक्क उठेर आफूमाथि भएका दुव्र्यवहारबारे बोल्यौं भने हामीलाई कसले साथ दिन्छ ? हामीलाई ब्याकअप चाहिन्छ । अन्यायविरुद्ध बोल्न लजाउनुपर्दैन । तर, मी टु मुभमेन्टलाई बलिउडमा मात्रै सीमित राख्नुभएन । समाजको एउटा तप्काको मात्रै समस्या होइन यो ।’

हलिउड र विश्वका अन्य फिल्म जगतले मी टु मुभमेन्टका क्रममा यौन दुव्र्यवहारविरुद्ध ऐक्यबद्धता जनाएका थिए । ठुल्ठूला सेलिब्रिटीले आफूमाथि भएका त्यस्ता कृत्य साझा गर्दा जोकोही महिला यसबारे बोल्न थालेका थिए । बलिउड भने चुपै रहयो । ‘महिला मात्र होइन, पुरुषले पनि बोल्नुपर्छ,’ राधिकाले भनेकी छन्, ‘यो विषयमा मुख खोल्न हामी नडराऔं ।’ उनले पनि यसबारे बोल्न महिलाका लागि दह्रो सपोर्ट सिस्टम हुनुपर्ने बताएकी छन् ।

काजोलले मी टु मुभमेन्टबारे बोल्नुअघि आफू र पति अजय देवगणले आफ्ना सन्तानलाई कसरी हुर्काइरहेका छन् भन्नेबारे जानकारी दिएकी थिइन् । आमाहरू मीठो खाना बनाउन सिपालु हुन्छन्, सधैँ घरै बस्छन्, छोरीछोरीका लागि जे पनि त्याग्न तयार हुन्छन् भन्ने खालका मान्यताले महिलालाई चाहिनेभन्दा बढी आदर्श देखाउने उनको भनाइ छ ।‘म त हिटलर आमा हुँ,’ उनले भनेकी छन्, ‘बच्चाहरूसँग हामी प्रशिक्षार्थी भएर काम गर्नुपर्छ ।’

प्रकाशित : आश्विन २, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?