१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जोडी बनेर आए विपिन–नम्रता

फिल्म

काठमाडौँ — ‘सानो संसार’ बाट डेब्यु गरेपछि नम्रता श्रेष्ठ रोमान्टिक हिरोइनका रूपमा बढी रुचाइन् । विपिन कार्की भने फुटकर भूमिकामा गरेको अभिनयकै दमले माथि आए । पछि ‘पशुपति प्रसाद’ को भस्मे डन र ‘जात्रा’ को फणिन्द्रको भूमिकाले उनलाई जीवन दिए ।

जोडी बनेर आए विपिन–नम्रता

फिल्मपिच्छे फरक शैली र अभिनय पस्कन सिपालु विपिन खासगरी अलग धारका फिल्ममा काम गर्न रुचाउँछन् । व्यावसायिक र आर्ट फिल्मका दुई छुट्टाछुट्टै उम्दा कलाकारलाई निर्देशक दिनेश राउतले आफ्नो फिल्म ‘प्रसाद’ मा जोडी बनाएर कास्टिङ गरिदिए । यति बेला यही जोडी अभिनीत फिल्मको पहिलो लिरिकल भिडियो सार्वजनिक भएको छ । ‘लै लै...’ बोलको उक्त गीतमा फिल्मका दृश्य समेटिएका छन् ।

नि:सन्तान दम्पतीबीच आउने प्रेमको आरोह–अवरोहलाई समेट्ने प्रयास गरिएको ‘प्रसाद’ को पटकथा, संवाद सुशील पौडेलले लेखेका हुन् । गीतमा प्रयोग गरिएका दृश्यमा विपिन र नम्रतालाई निम्न मध्यमवर्गीय दम्पतीका रूपमा देख्न सकिन्छ । केतन क्षत्रीको गायकी रहेको उक्त गीत गणेश शाहीले लेखेका हुन् । सुवास भुसालको संगीत तथा उदयराज पौडेलको एरेन्जमेन्ट रहेको गीतले समग्र फिल्मको कथा मर्मलाई समेट्न खोजेको निर्देशक राउतले बताए ।

दृश्यमा निश्चल बस्नेत पनि समेटिएका छन् भने विपिन र नम्रता कपडा सिउने पेसासँग आबद्ध भएको देखिन्छ । सुवास थापाको निर्माण रहेको ‘प्रसाद’ मा राजेश श्रेष्ठको छायांकन रहेको छ । शिव विकको नृत्य निर्देशन रहेको फिल्ममा हिमाल केसीको एक्सन र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ । नम्रता र विपिनको जोडीलाई हलमा भने मंसिर २१ देखि हेर्न पाइने भएको छ ।

प्रकाशित : आश्विन ३, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?