तीन महिनादेखि बेपत्ता छिन् चिनियाँ सुपरस्टार

काठमाडौँ — फयान बिङबिङ, विश्वकै महँगी अभिनेत्रीमध्ये एक, कहाँ कुन अवस्थामा छिन् भन्नेबारे अझै अत्तोपत्तो लाग्न सकेको छैन । कसैले उनको खुटखबर नपाएको तीन महिनाजति भयो ।ट्वीटरजस्तै चीनको लोकप्रिय सामाजिक सञ्जाल सिना वेबोमा उनका ६ करोडभन्दा बढी फलोअर्स छन् ।

तीन महिनादेखि बेपत्ता छिन् चिनियाँ सुपरस्टार

उनले जुलाई २३ यता वेबो अपडेट गरेकी छैनन् । लाइमलाइटमा छाइरहेकी, व्यस्त र चर्चित सेलिब्रेटी एकाएक हराउनुलाई बडो रहस्यमयी मानिएको छ । उनी हलिउडमा पनि नामी थिइन् ।

बीबीसी, द न्युयोर्क टाइम्स, सीएनएन लगायत विश्वका ठूला मिडियाले उनी हराएको समाचार प्रकाशन/प्रसारण गरिरहेका छन् । टाइम म्यागाजिनका अनुसार उनी पछिल्लो पटक जुलाई १ मा चीनकै एउटा बाल अस्पतालमा देखिएकी थिइन् । त्यसयता अभिनेत्रीको कुनै अत्तोपत्तो छैन । मलेसियाको ‘द स्टार अनलाइन’ ले भने यही सेप्टेम्बर १६ मा उनी वेबोमा झुलुक्क अनलाइन देखिएको बताएको छ । स्टारका अनुसार अभिनेत्रीले आफ्नो ३७ औं जन्मदिनका अवसरमा नयाँ स्टाटस पोस्ट गरेकी थिइन् । तर, उक्त पोस्ट तुरुन्तै डिलिट भयो ।

हलिउड फिल्म ‘एक्स–म्यान : डेज अफ फयुचर पास्ट’ र ‘आइरन म्यान ३’ मा अभिनय गरेकी बिङबिङ गायन र मोडलिङमा समेत स्थापित थिइन् । उनी अभिनीत ‘माई फेयर प्रिन्सेस’, ‘सेल फोन’, ‘लस्ट इन बेइजिङ’, ‘बुद्ध माउन्टेन’, ‘आई एम नट म्याडम बोभारी’, ‘माई वे’ जस्ता फिल्म चर्चित छन् । यीमध्ये कति त चीनमा सबैभन्दा बढी कारोबार गर्ने फिल्ममा पर्छन् । केही फिल्मले उनलाई चीनको गोल्डेन ग्लोब मानिने हन्ड्रेड फ्लावर अवार्डसमेत दिलाएका थिए ।

कर छलीको आरोप
गत मेमा अभिनेत्रीलाई कर छलीको आरोप लगाइएको थियो । उनले यिङ एन्ड याङ सम्झौतामा हस्ताक्षर गरेको हल्ला छ । यसको अर्थ उनले वास्तविक कमाइ लुकाएर सरकारलाई झूटो विवरण पेस गर्ने गरेकी थिइन् । स्थानीय सीसीटीभीले बिङबिङको यिङ एन्ड याङ सम्झौताको प्रति सार्वजनिक गरेको थियो । त्यसमा अभिनेत्रीले दोहोरो बिल बनाएको प्रस्ट देखिने टाइम म्यागाजिनमा उल्लेख छ । बिङबिङको स्टुडियोले भने त्यस्तो कुनै सम्झौता नभएको दाबी गर्दै यथाशीघ्र अनुसन्धान गरेर तथ्य बाहिर ल्याउन आग्रह गरिरहेको छ ।

चिनियाँ फिल्म उद्योग राज्यबाट नियन्त्रित छ । तसर्थ कर छलीलाई राज्यविरुद्धकै अपराध मानिन्छ । अभिनेत्रीले एउटै फिल्मबाट झन्डै ७० करोड रुपैयाँ लुकाएको आरोप लागेपछि चीनको स्टेट एडमिनिस्ट्रेसन अफ टयाक्सेसनले त्यसबारे गम्भीर अनुसन्धान हुने बताएको थियो । यसैबीच, चीन सरकारले अभिनेत्रीको नाम उल्लेख नगरीकनै एउटा चेतावनी सार्वजनिक गर्‍यो । त्यसमा भनिएको छ, ‘करसम्बन्धी कानुन अवज्ञा गरेको पाइएमा कानुनअनुरूप नै कडा ढंगले प्रक्रिया अघि बढाइनेछ ।’

अभिनेत्रीका प्रतिनिधिले भने कर छलीको आरोप मिथ्या भएको पटकपटक जिकिर गर्दै आएका छन् । यो विवादपश्चात् उनलाई कन्ट्रयाक्ट साइन गरिसकेको फिल्मबाट पनि हटाइएको थियो । आगामी अगस्टमा प्रदर्शन हुने ‘अनब्रेकेबल स्पिरिट’ फिल्मको प्रचार सामग्रीबाट उनको नाम र उपस्थिति मेटाइएको छ । उनी संलग्न कतिपय व्यापरिक विज्ञापन देखाउनबाट रोकिएका छन् । कस्मोपोलिटन अनलाइनका अनुसार उनलाई सरकारले नजरबन्दमा राखेको छ । तर, यो खबरको पुष्टि हुन सकेको छैन । उनी आबद्ध संस्थाले कर छलीमा अभिनेत्रीको संलग्नता नरहेको बताए पनि उनी कहाँ छिन् भन्नेबारे खुलाउन सकेको वा चाहेको छैन ।

बिङबिङ जस्ती सुपरस्टार बेखबर भएपछि सामाजिक सञ्जालममा तरंग पैदा भएको छ । यो मुद्दामा एकताका ज्याकी च्यान पनि मुछिएका थिए । अभिनेताले बिङबिङलाई अमेरिकामा शरण लिन सुझाव दिएको बताइन्छ । कर छलीको आरोपबाट बच्न उनलाई त्यस्तो सल्लाह दिएको भनिए पनि च्यानले यो फगत हल्ला मात्र भएको बताउँदै आएका छन् ।

बिङबिङ हराएको यत्रो समय बितिसक्दा पनि चीन सरकारले उनीविरुद्ध कुनै कसुर लगाएको छैन । यद्यपि, उनी कम्युनिस्ट पार्टीकै नियन्त्रणमा रहेको कुरा डँढेलोसरि फैलिएको छ । ‘हिजो साँझ रेड कार्पेटमा हिँडेकी जेनिफर लरेन्स भोलिपल्टदेखि एक्कासि गायब भइन्,’ सीएनएनले लेखेको छ, ‘सम्झिनुस् त, त्यस्तो भए कस्तो लाग्ला ? कति हाँसउठदो र भयावह सुनिन्छ ! यो अहिले चीनको यथार्थ भइरहेको छ ।’

प्रकाशित : आश्विन ४, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?