२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

'डाकिनी' खोज्दै रिम्पोछे

यज्ञश

काठमाडौँ — काठमाडौं नजिकको प्राचीन सहर पनौती । कहिल्यै घाम नछिर्नेजस्ता ओसिला गल्ली पार गर्दै जाने हो भने भित्रभित्र सय वर्षभन्दा पुराना घर भेटिन्छन् । कुनै आधा भत्किएका । कुनै कलात्मक झ्याल र ढोकाको भरमा मात्रै धानिएका भित्ता ।

'डाकिनी' खोज्दै रिम्पोछे

पछिल्लो दुई सातादेखि कलाकार/निर्माता रवीन्द्र सिंह बानियाँ र म्याक्स दीपेश खत्रीको टोली यस्तै घर भित्रबाहिर सेट बनाइरहेको छ । यी सेटमा बुनिँदै छ, डाकिनीको कथा ।

यो फिल्म सेट अरूभन्दा धेरै कुरामा भिन्न छ । १ सय ११ जनाको सुटिङ टोलीमा ४३ जना विदेशी छन् । भारतीय, भुटानी र अमेरिकी । तर, फिल्म निर्माण नेपाली कम्पनी षटकोणले गरिरहेको छ । फिल्ममा प्रयोग हुने भाषा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली । फिल्मको सम्पूर्ण सुटिङ पनौती र पाटनमा हुँदै छ । कथा नेपाली, निर्देशक भुटानी । फिल्मको नेपाली नाम ‘डाकिनी’ । अंग्रेजी नाम– ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्टाच’ । बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी) हरूका थुप्रै मिथक, कथा छन् ।

सामान्यतया फिल्मको सुटिङ सेटमा सबभन्दा ठूलो स्वर निर्देशकको सुनिन्छ । हप्कीदप्की लगाइरहेका भेटिन्छन् । यो फिल्मका भने निर्देशक नै गुरु हुन् । रिम्पोछे । जोङसार खिन्से रिम्पोछे (खिन्से नोर्बु) । उनको बोली मन्त्रजस्तो छ । बुद्ध धर्मका ठूला गुरु रिम्पोछेको यो पाँचौं फिल्म हो । उनका बौद्ध धर्मबारेका प्रवचनहरू जति चर्चित छन्, फिल्म निर्देशकका रूपमा पनि त्यति नै । सन् १९९९ मा उनले बनाएको पहिलो फिल्म ‘द कप’ क्यान्स फिल्म फेस्टिभलमा देखाइएको थियो । उनको दोस्रो फिल्म ‘ट्राभल्र्स एन्ड म्याजिसियन्स’ पनि उत्तिकै चर्चित थियो । २०१७ मा उनले बनाएको ‘हिमा हिमा : सिंग मी अ सङ ह्वाइल आई वेट’ लोकार्नो र टोरन्टो फिल्म फेस्टिभलमा प्रदर्शन गरिएका थिए । २००७ मा प्रकाशित उनको पुस्तक ‘ह्वाट मेक्स यु नट अ बुद्धिस्ट’ संसारभर निकै पढिएको पुस्तक मानिन्छ । त्यसपछि पनि उनका तीन पुस्तक प्रकाशित छन् ।

तिब्बती मूलका यी भुटानी रिम्पोछेको काठमाडौं नाता भने निकै पुरानो छ । ‘यो बुद्ध जन्मिएको देश हो, हामीलाई त्यसै पनि प्यारो छ,’ उनी भन्छन्, ‘मैले त पढेको पनि यही काठमाडौंको बौद्धमा ।’फिल्मका निर्देशक मात्र होइन, सिनेम्याटोग्राफर (छायाँकार) पनि उत्तिकै हाई प्रोफाइल छन्– मार्क लि पिङ बिङ । २१ वटा अन्तर्राष्ट्रिय अवार्ड पाएका ताइवानका मार्कले सन् २००० मा वङ कर वाइको फिल्म ‘इन द मुड फर लभ’ का लागि क्यान्स फिल्म फेस्टिभलको ग्रान्ड टेक्निकल प्राइज पाएका थिए । एकेडेमी अफ मोसन पिक्चर एन्ड साइन्सका सदस्यसमेत रहेका मार्क लीले खिचेका केही चर्चित फिल्ममा ‘इन द मुड फर लभ’ का अलावा द असासियन, रेनोयर, नर्वेजियन उड, फ्लाइट अफ रेड बलुनलगायत पर्छन् ।

मुख्य भूमिकामा अभिनय गर्न अभिनेता छिरिङ तासी भियतनामबाट आएका छन् भने अभिनेत्री तेन्जिङ कुन्सेल अमेरिकाबाट । भारतमा जन्मिएका यी दुवै तिब्बती मूलका हुन् । दुवैले अभिनय गरेको यो पहिलो फिल्म हो । छिरिङ विज्ञापन र छोटा फिल्मका निर्देशक हुन् भने कुन्सेल गायिका । फिल्ममा कर्मा, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायत नेपाली कलाकारको पनि अभिनय छ । फिल्मको अनुमानित बजेट करिब ८ करोड ।

यो फिल्म सेटमा रिम्पोछे नै तीनजना छन् । निर्देशक नोर्बुबाहेक अर्का रिम्पोछे उर्गेन तोब्ग्याल रिम्पोछेले एउटा भूमिकामा अभिनय गरिरहेका छन् भने अर्का दुजुम याङ्सी रिम्पोछे प्रप्स मास्टरका रूपमा छन् । फिल्मका विभिन्न विभागमा ४ जना टुल्कु लामा पनि छन् । कलाकारका सहयोगी रूपमा कार्यरत दुजुम रिम्पोछेले आफू यो फिल्ममा जोडिनुको कारण बताए, ‘एउटा त निर्देशक नोर्बु मेरो गुरु हुनुहुन्छ । यो फिल्ममा काम गर्नु मेरा लागि गुरुको सेवा गर्ने मौका हो । दोस्रो फिल्म मेकिङमा मेरो रुचि छ, त्यसको ज्ञान लिन पनि आएको हुँ ।’

काठमाडौंमा क्याफे चलाएर बसिरहेका तिब्बती मूलका युवालाई एक दिन सपनामा केही संकेत मिल्छ । एक दिन उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ– तिमी अब जम्मा ७ दिन बाँच्छौं । तर, जब उसले यो संकट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ जुँगा र दाह्रा भएकी डाकिनीको खोजी । उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन ? यसकै वरपर फिल्मको कथा बगेको छ । मध्य दिनको सुटिङ सकिएपछि रिम्पोछेलाई सोधें, ‘काठमाडौंमा यस्तो फिल्म बनाउने विचार कसरी आयो ?’

‘मेरो कुरा बढी नै दार्शनिक लाग्न पनि सक्छ । तर, अहिले मानिसहरू विज्ञान र तर्कतिर निकै बढी आकर्षित भइरहेका छन् । जेमा पनि प्रमाण खोजिरहेका हुन्छन् । जे कुराको प्रमाण छैन, त्यो छँदै छैन भन्नेजस्तो छ । पुनर्जन्मका कुरामात्र होइन, भगवान्लाई नै अन्धविश्वास भन्न थालिएको छ, यसको कुनै प्रमाण छैन भनेर । तर, मलाई सधैं लाग्छ तर्क र कारणको दास हुनु ठीक होइन । हामी हाम्रो जीवनमा अनेकौं किसिमका चमत्कार गरिरहेका हुन्छौं । म यो कुरा बुझाउन, पढाउन चाहन्छु । यही कुरा भन्न पनि मैले यो फिल्म बनाइरहेको हुँ,’ रिम्पोछेले भने, ‘यसका लागि काठमाडौंजस्तो आध्यात्मिक र सांस्कृतिक सहर सबभन्दा उपयुक्त लाग्यो ।’

उनका अनुसार यो फिल्ममा विश्वास, अन्धविश्वास, चमत्कार र मिथक मिश्रित छ । उनी मिथकलाई इतिहासको महत्त्वपूर्ण पक्ष मान्दछन् । ‘मैले मेरा कलाकार र प्राविधिकलाई भन्दै आएको छु, यो फिल्ममा मुख्य भूमिका काठमाडौंको छ । कलाकारहरू त सहयोगीमात्र हुन् ।’ रिम्पोछे आफूलाई गुरु मान्दैनन् । ‘म गुरु कहलाइन योग्य छैन,’ उनी विनम्र हुन्छन्, ‘मैले गुरु हुँ भनेर दाबी गरें भने मानिसहरू पत्याइदिन्छन् अनि समस्या सुरु हुन्छ ।’ रिम्पोछेबारेका लेखहरूमा उनले सिनेमालाई आफ्नो बौद्ध ज्ञान पढाउने माध्यमका रूपमा प्रयोग गर्ने गरेको लेखिएको पाइन्छ । उनी आफैं भने यस्तो दाबी गर्न नसक्ने बताउँछन् । ‘बुद्धिस्ट भएका नाताले म सबै कुरामा केही न केही सिक्ने सिकाउने कुरा हुने ठान्छु तर सिनेमालाई मैले त्यसरी नै प्रयोग गरेको छु भनेर दाबी गर्न सक्दिनँ, मेरो फिल्म हेरेर कसैले सिक्नै पर्छ भन्ने छैन । यदि कसैले केही पाउँछ, सिक्छ भनेचाहिँ मलाई खुसी लाग्नेछ ।’'

रिम्पोछेले बनाएको पहिलो फिल्म ‘द कप’ भारतीय तिब्बती शरणार्थी शिविरको एक बाल भिक्षुबारे थियो । १९९८ को विश्वकप फुटबलप्रतिको उसको आशक्तिलाई लिएर बनाइएको यो फिल्ममा समीक्षकहरूले राजनीतिक तत्त्वहरू भेट्ने गरेका छन् । यसलाई उनी आफैं स्विकार्छन् । दर्शन र राजनीतिलाई उनी कसरी मिसाएर कथा बनाउँछन् त ? ‘राजनीति र धर्मलाई मिसाउनै हुँदैन । राजनीति मिसाएका ठाउँमा धर्म अधोगतितिर गएको छ, चाहे त्यो तिब्बत होस् वा जापान । तर, एउटा व्यक्ति भने एकैपटक बुद्धिस्ट र राजनीतिक हुन सक्छ । यस्तोमा चाहिँ मिसिन्छ ।’

प्राय: फिल्ममा रिम्पोछे ‘ननएक्टर’ लाई मुख्य भूमिकामा लिन्छन् । उनी यसको कारण बताउँछन् । एउटा कारण– ननएक्टर वा नयाँ मान्छेले फिल्ममा एउटा बेग्लै ताजापन ल्याउँछन् । दोस्रो– तपाईं फिल्म हेर्न हलमा जानुहुन्छ । एउटा फिल्म वकिलको बारे छ, अर्को सैनिकको, अर्को खेलाडीको । तर तपाईं देख्नुहुन्छ, सबै शाहरूख खानमात्रै छन् । व्यापारिक हिसाबले यसको अर्थ होला । व्यक्तिगत रूपमा मलाई यस्तो हेर्न मन पर्दैन ।’ उनलाई आफ्नै फिल्मको व्यापार कस्तो होला भन्ने चिन्ता पनि छैन । ‘व्यावसायिक रूपमा हाम्रो फिल्म नचल्न सक्छ । तर, हामी दु:खी हुँदैनौं । किनभने हामीले यो पैसाका लागि होइन, कलाप्रति हाम्रो प्रेमका कारण बनाएका हौं । हामी आफ्नो कामलाई प्रेम गर्छौं । यदि धेरै दर्शकले फिल्म हेरिदिनुहुन्छ भने मेरो फिल्म मात्र होइन, यस्ता अरू फिल्म बन्न सक्छन् ।’


ठूलो धर्म गुरु भएर फिल्ममेकर कसरी बन्नुभयो ? ‘सिनेमा अभिव्यक्तिको निकै शक्तिशाली माध्यम हो । बुद्धिस्टहरूले आफ्ना कुरा भन्नलाई जहिले पनि माध्यमको प्रयोग गरेका छन् । चित्र र मूर्तिहरू त्यस्तै माध्यम थिए । अहिलेको माध्यम सिनेमा हो, भोलि अरू नै केही हुन सक्छ,’ धार्मिक व्यक्तिले फिल्म बनाउनुमा पनि उनी कुनै विरोधाभास देख्दैनन् । ‘कलमलाई प्रयोग गरेजस्तै हो सिनेमा बनाउनु । माध्यमभन्दा पनि त्यसलाई कसरी प्रयोग गर्ने भन्ने ठूलो कुरा हो । कसैले कलम प्रयोग गरेरै हत्या पनि गर्न सक्छ । यसैगरी फिल्मबाट कसैले मानिसलाई नकारात्मक प्रभाव पार्न पनि सक्छ ।’

रिम्पोछेको नेपाली दर्शकका लागि एउटा भिन्न किसिमको सन्देश छ । ‘नेपाली दर्शकले साँच्चिकै राम्रो फिल्मको माग गर्नुपर्छ । दर्शकले नै राम्रो फिल्म नखोज्ने र जस्तो पनि हेरिदिने हो भने निर्देशकसँग झुर फिल्म बनाउनुको विकल्प हुनेछैन ।’केही दिन पनौतीमा सुटिङ सकेर एक साताका लागि पाटनका गल्लीहरूतिर आउने उनको योजना छ ।

एक्काइसौं शताब्दीमा बनेका संसारका सबभन्दा राम्रा फिल्ममध्येमा गणना गरिन्छ, ‘इन द मुड फर लभ’ को । यो फिल्म सिनेम्याटोग्राफी र सम्पादनका लागि निकै प्रशंसित फिल्म हो । ताइवानी मार्कले यसका लागि धेरै अवार्ड पाए । रिम्पोछेले आफ्नो अघिल्लो फिल्म ‘हिमा हिमा’ मै मार्कलाई लिन खोजेका थिए । ‘उहाँले खोज्नुभएको रहेछ, मेरो समय मिलेन । यसपालिचाहिँ त्यो मौका मिल्यो,’ मार्कले भने । मार्क पहिलो पटक नेपाल आएका हुन् । उनको अनुभवमा नेपालमा फिल्म खिच्न साह्रै सजिलो छ । मार्क धेरै प्रकाश प्रयोग नगर्ने सिनेम्याटोग्राफर मानिन्छन् । ‘नेचुरल लाइटमा खिच्न मन पराउनेका लागि नेपाल एकदम राम्रो ठाउँ रहेछ,’ उनले भने । फिल्मका निर्माता रवीन्द्रसिंह बानियाँले यसै फिल्मको एउटा किस्सा सुनाए । कोठाभित्रको दृश्य खिच्नका लागि निकै धेरै लाइट बालियो । सबै तयारी भएपछि मार्क आए । तर, जब उनले दृश्य खिच्ने बेला भयो, सबै लाइट हटाइयो । उनका एक सहायकले टर्च लाइट बाले । उनले त्यही प्रकाशमा दृश्य खिचे ।

वाङ कर वई र रिम्पोछेजस्ता निर्देशकसँग काम गर्दाको फरक के हुँदोरहेछ त भन्ने प्रश्नमा अल्पभाषी मार्कले जवाफ दिए, ‘हरेक फिल्मको कथा मात्रै फरक हुँदैन, निर्देशकले खोज्ने कुरा पनि फरक हुन्छ । सबको शैली फरक हुन्छ । रिम्पोछेसँग काम गर्दाको आनन्द बेग्लै छ ।’ फिल्मकी अभिनेत्री कुन्सेलले यसअघि काठमाडौंमा गीत रेकर्ड गरिसकेकी छन् । आफ्ना गीतको म्युजिक भिडियोमा अभिनय गरेकी उनका लागि फिचर फिल्मको अभिनय बेग्लै स्वादको भयो । ‘सबभन्दा ठूलो फरक म्युजिक भिडियोमा संवाद कण्ठ पार्नु पर्थेन, फिल्ममा संवाद बोल्दा नयाँ अनुभव भयो,’ उनले भनिन् । फिल्ममा उनी संगीतको विद्यार्थीको भूमिकामा छिन् ।


‘डाकिनी’ को स्क्रिप्ट अभिनेता छिरिङले लन्डनमा पाएका थिए । ‘मैले सोचें, सल्लाह सुझाव लिनका लागि पठाइएको होला,’ उनले भने, ‘पछि थाहा भयो, गुरुले मलाई मुख्य भूमिकामा नै अभिनय गराउन चाहनुभएको रहेछ ।’ गुरुले इच्छा गरेपछि आफू तयार भएको उनले बताए ।

अन्तिम कुरा सुरुको । अर्थात्, यो फिल्म निर्माण सुरु कसरी भयो भन्ने । म्याक्स दीपेश खत्री व्यवसायी । रवीन्द्रसिंह बानियाँ नाटक र फिल्मका कलाकार । दुवैलाई भेटायो बुद्ध धर्मले । जब दुवैले आफ्ना गुरु भेटे, त्यहींबाट बढ्यो संगत । यस्तैमा गत वर्ष जोङसार रिम्पोछेसँग दुवैजना पुनहिल ट्ेरकिङ गए । ‘त्यसैबेला गुरुले काठमाडौंमा यो फिल्म बनाउने कुरा सुनाउनुभयो । रवीन्द्र र म मिलेर गरौं न त भन्ने भयो,’ म्याक्सले सुनाए । ‘टलकजंग भर्सेस टुल्के’ र ‘जात्रा’ लगायत नेपाली फिल्मको निर्माण गरेका रवीन्द्रका लागि यो मौका थियो ।

‘गुरु र मार्कजस्ता फिल्ममेकरसँग आफ्नै निर्माणमा यस्तो फिल्म बनाउन पाउनु मौका हो,’ उनी भन्छन् । ताइवानमा पोस्ट प्रोडक्सनको काम हुने यो फिल्मलाई नेपाली भाषामा नेपालका सिनेमा घरमा रिलिज गर्ने योजना निर्माता म्याक्स र रवीन्द्रको छ । ‘हामी केही ठूला फिल्म फेस्टिभलमा पनि पठाउने छौं,’ म्याक्सले भने । ‘नेपाल र पूरा संसारमा यो फिल्म चल्छ । हामी यही फिल्मका माध्यमबाट नेपाली फिल्मका लागि झन् ठूलो बजारको खोजी गर्छौं,’ रवीन्द्रले थपे ।

प्रकाशित : आश्विन ६, २०७५ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?