कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

फिल्म व्यापार कि हल्ला बजार ?

सुशील पौडेल

काठमाडौँ — सनाम होस्, बदनाम होस् तर गुमनाम नहोस् । यो भनाइ कतै लागू हुन्छ भने नेपाली फिल्म क्षेत्रमा हुन्छ । बर्सेनि सयभन्दा बढी फिल्म प्रदर्शनमा आउने यहाँ सातैपिच्छे निर्माता, वितरकले कमाइको डंका पिटिरहेका हुन्छन् । नेपाली फिल्मक्षेत्र हल्ला बजारमा परिणत भइरहेको छ ।

फिल्म व्यापार कि हल्ला बजार ?

यस वर्षको पाँच महिनामा ४२ नेपाली फिल्म प्रदर्शनमा आए । तिनको बजेट र कमाइ अनुपात हेर्ने हो भने नाफा कमाउने फिल्म एउटा पनि देखिएको छैन । तर खल्ती रित्तो पारेरै ‘सफलताको केक’ भने धेरै निर्माताले काटिसकेका छन् ।

केकी अधिकारीले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ रिलिजपछि हिन्दी फिल्म ‘मुम्बई एक्सप्रेस’ सँग हुबहु मिल्न गएका कारण बदनाम भयो । फिल्म युनिटले यसलाई चिर्न चलाखी गर्‍यो, सफलताको केक काटेर । प्रदर्शनमा आएको छैटौं दिनमै युनिटले फिल्मले एक करोड रुपैयाँमाथिको कलेक्सन गरेको भन्दै ‘सक्सेस पार्टी’ गर्‍यो । मिडियाका बुम तेर्सिए, कलम चल्न थाले अनि क्यामेरा फ्ल्यासको चमकमा केकीले भनिदिइन्, ‘सीमित शो र सीमित दर्शकबाट ओपनिङ गरे पनि त्यो बढ्दै पहिलो सातामा करोड क्लब ज्वाइन गरेका छौं ।’

‘कोहलपुर एक्सप्रेस’ को एक महिनापछि अर्की नायिका ऋचा शर्माले निर्माण गरेको फिल्म ‘सुनकेशरी’ रिलिज भयो । हरर जनराको फिल्मले दुई दिने ओपनिङ राम्रो गर्‍यो । तर तेस्रो दिनदेखि दर्शकले फिल्ममा हरर कम हास्यास्पद दृश्य ज्यादा भएको टिप्पणी गरिदिएपछि दर्शक संख्या ओरालो लाग्यो । तर ऋचा चुप लागेर बसिनन् । पर्सिपल्टै फिल्म करोड क्लब प्रवेश गरेको भन्दै केक काटिन् । मिडियामा सर्वत्र सफलताका कुरासँगै ‘सुनकेशरी २’ बनाउनेसम्मका खबर छाए ।


वर्षको छोटो अवधिमा केक काट्ने संस्कृति बढेर गयो । ‘वीरांगाना’ ले समेत करोडको केक काट्न भ्यायो । ‘भैरे’ र ‘रोज’ ले पनि सफलताको केक काट्न खोजे । कार्यक्रमको निम्तो पनि पठाइयो । कतिपय हलमा दर्शक नभएर शो रद्द गर्नुपर्ने स्थिति आइरहेका बेला गर्न लागिएको उक्त कार्यक्रम निर्माताले चर्को नैतिक दबाबका कारण रद्द गरे ।

केक नकाटे पनि ‘ब्ल्याक’ ले तीन दिनमा एक करोड १० लाख रुपैयाँको ग्रस, ‘नाइँ नभन्नु ल ५’ ले त्यति नै दिनमा दुई करोड ३० लाख ग्रस कलेक्सनको रिपोर्ट पेस गर्दा ‘रामकहानी’ ले एक सातामा दुई करोड ४६ लाख रुपैयाँ ग्रस गरेको रिपोर्ट प्रचार गरियो । सँगै रिलिज भएको ‘रोज’ पनि के कम ? ‘रामकहानी’ को भन्दा ३० लाख रुपैयाँ बढाएर कलेक्सन रिपोर्ट सार्वजनिक गरिदियो । जबकि हलमा दर्शक चाप तुलनात्मक रूपमा ‘रोज’ मा कम थियो । चलचित्र विकास बोर्डले साउनदेखि काठमाडौं उपत्यकाभित्रका हलमा बक्सअफिस प्रणाली लागू भइसकेको जनाए पनि फिल्म व्यापारको पारदर्शी रिपोर्ट अझै आउन सकिरहेको छैन । त्यही गलत समाचारलाई आधार बनाई विदेशमा फिल्म बेच्न र नयाँ फिल्मका लागि लगानीकर्ता लोभ्याउन सफल देखिएका छन् ।

किन गरिन्छ हल्ला ?
फिल्म व्यवसायमा मुनाफाको कर तिर्नुपर्छ । तर, मिडिया प्रचारमा आएजस्तो न फिल्मले मुनाफा गरेका छन् न त निर्माताले नै त्यसअनुरूप कर तिरेका छन् । आखिर बढी आम्दानीको हल्ला किन गरिन्छ त ? नेपाल चलचित्र संघका अध्यक्ष तथा वितरक कम्पनी एफडीका प्रदीपकुमार उदय जवाफमा भन्छन्, ‘फिल्म व्यवसायमा नभएकालाई आकर्षित गर्न र विदेशमा आफूलाई पुर्‍याउनका लागि भयंकर बिजनेस गरेको हल्ला गरिन्छ ।’


यस्ता हल्लाले नवनिर्माताको भीड बढेको र फिल्म क्षेत्रमा भाँडभैलो भएको उनको तर्क छ । ‘यस्तै हल्ला मच्चाउने हुँदा ‘भैरव’ फिल्ममा निर्माता र वितरकबीच हात हालाहालकै स्थिति आएको थियो,’ उदयले थपे । बेथिति अचाक्ली बढेर मनमुटावको स्थिति आउन थालेपछि चलचित्र संघले विकृति रोक्न भन्दै निर्माता, वितरक वा हलवालालाई फिल्मको व्यापार घटबढ नपारी सही रिपोर्ट दिन आग्रहसहितको विज्ञप्ति नै जारी गरेको थियो । तर संघको आग्रह कागजमै सीमित देखियो ।

हलमा कलाकार उतारेर दर्शकको भीड जम्मा पार्न सक्यो भने मिडियाबाजीदेखि विदेशमा फिल्म बेच्नसमेत सजिलो हुने निर्माताहरू बताउने गर्छन् । एक निर्माता नाम भन्छन्, ‘विदेशमा जति पनि फिल्म किन्छन्, यहाँको मिडियामा आएका समाचारमा आधारित भएरै हो । समाचारमा फिल्म हाउसफुल भएको हल्ला गर्न सक्यो भने विदेशी पार्टीबीच फिल्म किन्न हानाथाप भइहाल्छ ।’


एक सातामै करोड कलेक्सनको केक काट्न हतारिएको केकीको ‘कोहलपुर एक्सप्रेस’ ले नेपालभरबाट मुस्किलले ३५ देखि ४० लाख रुपैयाँ निर्माताको खल्तीमा दिलायो । ‘सुनकेशरी’ ले पनि राजधानीबाहिरका हलबाट १२ लाख रुपैयाँ मात्रै सेयर बटुलेको थियो । ‘वीरांगाना’ ले मोफसलबाट मुस्किलले पाँच लाख रुपैयाँ सेयर ल्यायो भने राजधानीको अवस्था पनि उस्तै छ । बरु उपत्यकाबाहिर ‘बोबी’ ले हल्ला नमच्चाई ३० लाख रुपैयाँ सेयर बटुल्यो भने उपत्यकाबाट पनि यही अनुपातमा
कमायो । ‘भोर’, ‘जय शम्भु’, ‘लम्फू’, ‘ब्ल्याक’, ‘बेबी आई लभ यू’, ‘हरि’ लगायत थुप्रै फिल्मले देशभरबाट दस लाख रुपैयाँ सेयर पनि नउठाएको फिल्म वितरक बताउँछन् ।

प्रकाशित : आश्विन ६, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?