१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पर्यटन प्रवर्द्धन गर्न म्युजिक भिडियो

काठमाडौँ — नेपालमा पर्यटन तथा शान्ति पर्यटन प्रवर्द्धनका लागि सहयोग पुर्‍याउने उद्देश्यले ‘द भ्याली अफ लाइट’ नामक म्युजिक भिडियो सार्वजनिक गरिएको छ । 

पर्यटन प्रवर्द्धन गर्न म्युजिक भिडियो

नेपाल पर्यटन बोर्डका लागि युरोपियन युनियनको सहयोगमा तयार गरिएको यो भिडियो शुक्रबार आयोजित कार्यक्रममा युरोपियन युनियनका राजदूत भेरोनिका कोडी र बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले सार्वजनिक गरेका हुन् । उक्त भिडियो नेपाल पर्यटन बोर्डको फेसबुक पेजमा हेर्न सकिन्छ ।

राजदूत कोडीले नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धनका लागि यो गीत एउटा उत्कृष्ट माध्यम भएको बताए । बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले म्युजिक भिडियो एउटा संगीत मात्रै नभएर लक्षित उद्देश्यका लागि सिर्जना गरिएकाले यसबाट नेपालमा शान्ति स्थापना तथा पर्यटन प्रवद्र्धनमा समेत सहयोगी हुने बताए ।

जम्मा छ मिनेट ३० सेकेण्ड अवधिको गीतमा नेपाली कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, रवीन तामाङ, कुन्ति मोक्तान, इन्दिरा जोशी, क्यानेडियन कलाकार ताहिर कबालसहित केही विदेशी कलाकारले समेत आवाज दिएका छन् ।

गीतमा नेपाली बालबालिका र भारतको एआर रहेमान संगीत विद्यालय चेन्नइका विद्यार्थीको आवाजसमेत सुन्न सकिन्छ । रञ्जन झाको संगीत संयोजन रहेको उक्त भिडियोको निर्देशन मीरा अरदले गरेकी हुन् । गीतलाई तबला, सारङ्गी, बाँसुरी, नगराजस्ता परम्परागतबाजादेखि बेस गीतार र ड्रमको उत्कृष्ट संयोजन र हिमाली शृङ्खला, त्यहाँको जीवनशैली, विविधतापूर्ण धार्मिक तथा सांस्कृतिक दृष्यले जीवन्त बनाएको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकामा उक्त बोर्डले यसलाई सफल बनाउन विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ । यो म्युजिक भिडियोको निर्माण पनि त्यस्तै गतिविधिअन्तर्गत गरिएको बोर्डले जनाएको छ । गीत संगीतप्रति धेरै मानिस आर्कषित हुने भएकाले यसले विश्वमा नेपालबारे थप जानकारी सञ्चार गर्ने विश्वास गरिएको छ ।

प्रकाशित : आश्विन ६, २०७५ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?