२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

रंगकर्मीका आफ्नै समस्या

काठमाडौँ — लामो समयदेखि रंगमञ्चमा लागेका राजकुमार पुडासैनीले थुप्रै नाटक खेले ।अभिनयमार्फत सामाजिक विभेदविरुद्ध सन्देश दिने काम पनि गरे । यति बेला भने उनी नाट्यकर्मीबीचमै हुने विभेदविरुद्ध काम गर्दै छन् ।

रंगकर्मीका आफ्नै समस्या

नेपाली रंगमञ्चमा हुने आर्थिक पारदर्शिता र कमजोरीहरूमाथि उनले नाटक तयार पारेका हुन् । उमा सुवेदीको लेख ‘बुधबारेमा फ्लप मंगलबारेमा हिट’ माथि आधारित रहेर उनले यसै शीर्षकमा नाटकको परिकल्पना तथा निर्देशन गरेका छन् ।

लेखमा उमाले आफू एसएलसी दिएपछि रंगमञ्चमा लागेको क्षण, यस क्षेत्रमा काम गर्दाको संघर्ष र आर्थिक पक्षमा हुने अपारदर्शितामाथि अनुभव पोखेकी थिइन् । राजुकमारले महिना दिनअघि मात्रै पढेको उक्त लेखले आफूजस्तै पूरै रंगमञ्चको वास्तविक अवस्थाको सम्बोधन गरेको हुनाले नाटकको रूपमा प्रस्तुति तयार पारेको बताए । ‘व्यावसायिक भनिएका थिएटरहरूमा पनि अनेक खालका आर्थिक विसंगतिहरू हुन्,’ राजकुमारले भने, ‘म स्वयं यसको भागिदार हुँ, पढदै जाँदा उमाको लेखले झस्काइदियो ।’ वान वल्र्ड थिएटरको प्रस्तुति ७० मिनेटको नाटक लिएर टोली मोफसल यात्रामा छ ।

शनिबार काठमाडौंमा ग्रान्ड रिहर्सल गरिएको नाटक आइतबार बिर्तामोडमा पहिलो मञ्चन हुने राजकुमारले जनाए । त्यसपछि मोरङ, चितवन, पोखरा, बुटवललगायतका थलोमा नाटक प्रस्तुत हुनेछ । काठमाडौंमा रंगमञ्चको केन्द्र भए पनि यहाँ आफ्नो नाटक देखाउनुको औचित्य नरहेको राजकुमारले दाबी गरे । ‘यहाँ देखाएर केही सुनुवाइ हुने होइन,’ उनी भन्छन्, ‘मोफसलमा रंगमञ्चको खाँचो छ, त्यही भएर सचेतनाका लागि राजधानीबाहिरको यात्रा तय गर्‍यौं ।’

नाटकमा एक किशोरीको रंगमञ्च सपना, उनको घरायसी माहोल, रंगमञ्चमा आउन गर्नुपरेको संघर्ष रंगमञ्चमा लागेपछिको अवस्था र नाटक देखाउन हिँडदाको यात्रा समेटिएको छ । राजकुमारसहित लुनिभा तुलाधर, कमलमणि नेपाल, रेनु यागी, सुरज तमु, आलोक थामी, हाना नगरकोटी, रोशनी स्याङो, सन्दीप श्रेष्ठ, अमृत दाहाल, दामोदर खतिवडालगायतले नाटकमा अभिनय गरेका छन् ।

प्रकाशित : आश्विन ७, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?