कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

अभिनय हैन अनुहार

सुशील पौडेल

काठमाडौँ — ‘अचेल हिरो हिरोइन नै पाउन गाह्रो भइसक्यो ।’ फिल्म बनाउन तम्सिएका प्राय: निर्देशक, निर्माता यसै भन्छन् । एकातिर केही सीमित कलाकारको मागले गर्दा पारिश्रमिक बढेको बढयै छ, अर्कोतर्फ बाँकी कलाकार काम नपाएर फुर्सदिला देखिएका छन् ।

अभिनय हैन अनुहार

यति बेला नेपाली फिल्म क्षेत्रले गतिला कलाकार भित्र्याउन सकिरहेको छैन ।

अहिलेका चल्तीका अभिनेता अनमोल केसीलाई पाँच वर्षअघि हेमराज बीसीले ‘होस्टेल’ फिल्मबाट डेब्यु गराए । उनैले ‘जेरी’ मा दोहोर्‍याए, ‘गाजलु’ मा तेहेर्‍याए । यस बेलासम्म अनमोल नेपाली फिल्मका स्टार भइसकेका थिए । नेपाली फिल्म बनाउन भनी मुम्बईदेखि नै आएका बीसीले त्यो बेला यहाँ योङस्टरको प्रतिनिधित्व गर्न सक्ने अभिनेता नै देखेनन् र खोजे अनमोल ।

‘म यहाँ आउँदा क्षमतावान् युवा कलाकार नै भेटिनँ, पुरानै मात्र देखें,’ उनले भने । पछि अनमोलको कास्टिङ उनका लागि त सही भइदियो, यति बेला फिल्म क्षेत्रलाई नै नेतृत्व गर्न सक्ने अभिनेताको लाइनमा पनि उनी छन् ।आफ्नै बलबुतामा ‘इस्केप’ बाट हिरो हुन खोजेका प्रदीप खडकालाई सुरुमै झटका लाग्यो । फिल्म फ्लप भयो । त्यसपछि उनलाई निर्देशक सुदर्शन थापाले ‘प्रेमगीत’ मा अडिसनमार्फत हिरोमा लिए । यस पटक भने उनी इस्केप हुनु नपर्ने भयो । फिल्म राम्रै चल्यो ।

अनमोल र प्रदीप अहिलेका चल्तीका कलाकार भए पनि दुवैले अभिनयको औपचारिक प्रशिक्षण लिएका छैनन् । कोरियन फिल्म र कलाकारको जगजगी भएको समयमा आएकाले पनि अनमोल चलेको टिप्पणी गर्ने पनि उत्तिकै छन् । प्रदीपको लुक्सले पनि दर्शकमा त्यही छाप छोडयो । ‘प्रेमगीत’ बाट प्रदीपलाई नोटिस गराउने सुदर्शन कलाकारको लुक्सलाई बढी प्राथमिकता दिने गर्छन् । भने, ‘पहिले त कलाकारको सम्भावना हेर्ने हो । त्यसपछि लुक्स हेर्ने गर्छु । लुक्स राम्रो छ तर अभिनय ठीकठाक मात्रै छ भने पनि कन्फिडेन्ट भए कास्टिङ गर्छु ।’

निर्माता सुनीलकुमार थापाले गत वर्ष ‘ए मेरो हजुर २’ बनाउँदा नयाँ हिरोको रूपमा सलिनमान बनियाँलाई लिए । चकलेटी लुक्सका सलिन पनि अहिले उदाउँदो कलाकारका रूपमा देखिएका छन् । निर्माता थापाले भने, ‘त्यसमा अनमोललाई नै लिन चाहेका थियौं । तर, उसले नभ्याउने भएपछि नयाँ नै लिएर काम गर्ने ठान्यौं । धेरै खोजी गरेपछि सलिन क्युट र हयान्डसम लाग्यो । बिक्न सक्छ भन्ने लागेर लियौं ।’सलिनले पनि अभिनयको औपचारिक शिक्षा भने लिएका छैनन् ।

कुनै बेला थियो, फिल्म क्षेत्रमा आबद्ध हुनु भनेको अरू सबै सम्भावनाका बाटाहरू बन्द भएर यसमा होमिएको मानिन्थ्यो । त्यसैले पनि फिल्म क्षेत्रमा लाग्नुलाई अधिकांशले गतिलो नजरले हेर्ने गर्दैनथे । समयसँगै सोचमा परिवर्तन आउन थालेको छ । पढेका र फरक पेसामा राम्रै गरिरहेकाहरू पनि कलाकार बन्न लोभिन थालेका छन् । कलाकै पुजारी भने अझै भित्रिन सकेका छैनन् वा भित्र्याइएका छैनन् ।

धेरै फिल्ममा कास्टिङ गरेका रंगकर्मी अनुप बराल सुरुआतमा पात्रअनुसार मिल्दोजुल्दो आवरणको व्यक्ति नै खोज्दा रहेछन् । समूहमा मिलेर काम गर्न सक्ने क्षमता र बौद्धिकता उनको दोस्रो रोजाइमा पर्ने रहेछ । ‘कलामा निपुण र नयाँपन दिन सक्ने हुनुका साथै असल चरित्रको हुनु पनि उत्तिकै जरुरी छ,’ बरालले भने ।

फिल्म समाजकै दर्पण हो भने यसका अभिनेता–अभिनेत्रीलाई पनि समाजले आदर्श व्यक्तिका रूपमा लिने गर्छ । स्टार वा सुपरस्टारको टयाग झुन्डयाउने कलाकारको बोली र व्यवहार समाजमा रूपान्तरित हुने भएकाले कलामा मात्रै नभई समाजका लागि पनि संवदेनशील हुनु जरुरी ठानिन्छ । तर निर्देशक मनोज पण्डित यसमा सहमत छैनन् । उनी कलाकारलाई सामाजिक भारबाट मुक्त गरिदिनुपर्ने धारणा राख्छन् ।


‘कलाकार केवल आफ्नो कामप्रति केन्द्रित हुनुपर्छ,’ उनको भनाइ छ, ‘उसले अभिनयलाई राम्रोसँग बुझेको हुनुपर्छ । तर, सेलेब्रिटीका नाममा समाजलाई नै नेतृत्व दिने हुनुपर्छ भन्ने आदर्श मान्यताले कलाकारमा भ्रम फैलाएको छ । समाजले आफूहरूलाई मान्नुपर्छ भन्ने घमण्ड छ । कलाकार यी सबै कुराबाट मुक्त हुनुपर्छ । एउटा पात्रलाई जीवन्त बनाउनुबाहेक ऊ पनि सामान्य मान्छे नै हो ।’

पछिल्ला वर्ष राजधानीमा नाटकघर सञ्चालनमा आएपछि एक हदसम्म कलालाई बुझेकाहरू फिल्म क्षेत्रमा प्रवेश त गरेका छन् तर अझै पनि अभिनेता वा अभिनेत्रीको नेतृत्व तहमा पुग्न सकेका छैनन् । त्यसका लागि फिल्मकर्मीको नजर गुड लुकिङमै जाने गर्छ । यो नजर अभिनेत्रीको हकमा त झन् पुरानै हो ।

‘कलाकारलाई अध्ययन त अत्यावश्यक नै हो,’ निर्देशक बीसीले भने, ‘कसैले पढ्न नसकेर वा अन्त केही गर्न नसकेर फिल्म क्षेत्रमा छिर्न खोजिरहेको छ भने त्यो सोच गलत छ । अध्ययन नगरेको मान्छे फिल्म सेटमा पुगेपछि त्यसै छुट्टिन्छ । आम मान्छेभन्दा फरक ढंगले सोच्न सक्दैन भने त्यो कलाकार हैन । फरक सोच्न पनि चेतनशील हुन जरुरी छ । अनि चेतनास्तर अध्ययनकै उपज हो ।’

डेब्यु कलाकार एउटा फिल्मको मात्रै सदस्य नभई पूरै फिल्म उद्योगको सदस्य पनि हो । कुनै फिल्ममा कस्ता कलाकार आबद्ध भए भन्ने कुराले उद्योगमा कस्ता कलाकार छिरे भन्ने पनि बुझाउँछ । ‘पहिलो त कलाकारको बानीबेहोरा असल हुनुपर्छ,’ निर्माता सुनीलकुमार थापाले भने, ‘त्यसपछि पढाइ हुनुपर्‍यो र तेस्रोमा अभिनय क्षमता हुनुपर्छ । अभिनय भनेको जति गर्दै गयो उति निखारिँदै जाने हो ।’

आर्यन सिग्देलदेखि नम्रता श्रेष्ठ, प्रदीप खडका, पल शाहसम्मका कलाकारलाई दोस्रो फिल्मबाट सफल कमब्याक गराउने जस पाउने निर्देशक सुदर्शन थापा भने कलाकारमा घमण्ड हुनै नहुने औँल्याउँछन् । ‘स्क्रिप्ट र रोललाई छान्न सक्ने हुनुपर्छ,’ उनले भने ।

मनोज पण्डितले भने कलाकार छनोट गर्दा उसको फिल्मसँगसँगै सामाजिक चेतको पनि हेक्का राख्ने गर्दा रहेछन् । दयाहाङ राईको यथार्थवादी अभिनयको सोचका कारण ‘दासढुंगा’ मा खेलाएको बताउने पण्डितले खगेन्द्र लामिछानेमा जीवनको अन्तर्भावनालाई फिल्मले समेट्नुपर्छ भन्ने चेत पाएको बताउँछन् । आफ्नो डेब्यु फिल्म ‘लक्ष्य’ मा अनुप बराललाई पनि डेब्यु गराएका पण्डितले उनको ‘नो एक्टिङ प्लिज’ को अवधारणाबाट प्रभावित भएको बताए । भने, ‘फिल्मबारेको चेतनाले सम्बद्ध कलाकारले गर्ने प्रयत्न, संघर्षको खाका स्पष्ट हुन्छ ।’

प्रकाशित : आश्विन ८, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?