कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सहरमा लोकप्रिय हुँदै पञ्चै बाजा

‘गाउँको वडा प्रमुख आउँदादेखि राष्ट्रपतिको सवारीसम्ममा पञ्चेबाजाको माग हुन थालेको छ । यो निकै राम्रो कुरा हो । तर, गाउँघरमा अझै यो बाजा बजाउनेलाई हेय दृष्टिले हेरिने भएकाले नयाँ पुस्ता यता आकर्षित हुन सकेको छैन ।’
मधु शाही

काठमाडौँ —  राष्ट्रकवि माधवप्रसाद घिमिरेको घर त्यो दिन उल्लासमय थियो । उनको सयौँ जन्मोत्सव शुभकामना दिनेमध्ये कतिपय छेउमै बजिरहेको पञ्चै बाजाको तालमा नाचिरहेका थिए । पञ्चैबाजा टोलीले घरी पाहुनाको चाहना अनुसार धुन बजाइरहेको थियो त घरी राष्ट्रकविको पूजा, स्वागत र सम्मान भाव झल्काउने गरी । केही समयपछि राष्ट्रकविले घरबाहिर निस्किनुपर्ने भयो ।

सहरमा लोकप्रिय हुँदै पञ्चै बाजा

सुनकोसी पञ्चेबाजा समूहको सहनाईले अब बिदाइ धुन फुक्न थाल्यो । पञ्चैबाजा टोलीका नाइके अमृतले भने, ‘पञ्चेबाजामा कथा भन्ने सूत्रधार नै सहनाई हो ।’


पञ्चेबाजा । सहनाई, नर्सिंगा, दमाहा, झुरुमा, टयाम्को गरी पाँच बाजाको समुच्च । यिनमा बेलाबेला कर्नाल र ढोलकी पनि मिसिने गर्छन् । के गाउँ के सहर, हरेकजसो शुभकार्यमा पहिले नटुट्ने यो बाजाको धून अचेल अपवाद हुँदै गएको छ । गाउँसहरलाई यस्तो आधुनिकताले छोप्दै लगेका बेला अमृतको समूहले भने राजधानीमा यसको प्रवद्र्धन गरिरहेको छ । राष्ट्रकविका लागि बजाउनुपर्ने निम्तो पाउँदा अमृतहरू उत्साहित बनेका थिए । तिनको हर्ष तिनको प्रस्तुतिमा पनि झल्किरहेको थियो ।


रामेछापको रामपुर–५ का अमृत उमेरले ६२ पुगे । पञ्चेबाजासँग उनको साइनो भने जन्मजातै हो । दमाई समुदायको यो पुख्र्यौली पेसालाई उनले सानैदेखि आत्मसात् गर्दै आए । उनलाई अझै पनि सम्झना छ, सानै छँदा बुबाको पछिपछि टयाम्को बोकेर बिहे र व्रतबन्धमा बाजा बजाउँदै पुगेको क्षण ।


हाल राजधानीको लैनचौरमा बस्दै आएका अमृत पुर्खाको नासो संरक्षण गर्न लागेका छन् । यद्यपि उनका पारिवारिक उत्तराधिकारी यी बाजासँग नजिक छैनन् । अमृतको जीवन भने यसैमा समर्पण हुने पक्का छ । ‘पुख्र्यौली संस्कृति भुल्न सकिँदैन,’ उनले भने ।

डेढ दशकअघि गाउँमा बस्दा अमृत बाजा बजाएरै घरखर्च चलाउँथे । उति बेला बालीघरे प्रथा थियो । वर्षभरि बाजा बजाउँदा एक घर बराबर बढीमा ६ पाथी अन्न पाइन्थ्यो । उनको भागमा ८० घरधुरी थिए । उति बेला त्यो ठूलै कुरा थियो । पैसा हैन, मनग्गे अन्न कमाइन्थ्यो । अहिले अन्न हैन, बजार पसेको छ गाउँमा । पञ्चैबाजा व्यावसायिक हुने बाटो फराकिलो बनेको छ । यही फराकिलो बाटो पछयाउँदै काठमाडौंमा आएका अमृत अहिले पञ्चैबाजाबापत मनग्गे पारिश्रमिक पाउँछन् ।


अमृतको पञ्चेबाजा समूहमा लीलाबहादुर लाखे ‘कुमार’, सीताराम नेपाली, सुन्दर सेवा, प्रवीण नेपाली, ध्रुव नेपाली, कृष्ण दर्जी छन् । कार्यक्रम या कतैबाट निम्तो आए समूहमा बाजा बजाउँछन्, अरू बेला आआफ्नै पेसामा सक्रिय ।


पञ्चेबाजा सिजनमा मात्रै बजाइने हुँदा पूर्ण रूपमा आत्मनिर्भर हुन नसकिने समस्या रहेको चाहिँ लीलाबहादुरको गुनासो छ । त्यहीमाथि बिहे–व्रतबन्धदेखि अन्य उत्सवमा टोलटोलमा पाइने आधुनिक ब्यान्डबाजाको दबदबा छँदै छ । दोलखाको चरिकोटका लीलाबहादुरले यही भएर ट्राभल एजेन्सीमा पनि काम गर्नुपरेको छ । तैपनि लोकबाजाप्रति उनको प्रेम अधिक छ । घरमै बेरोजगार बसेका दुई भतिजा प्रवीण र सीतारामलाई उनले केही अघि मात्रै काठमाडौंमा झिकाएर पञ्चेबाजा समूहमा आबद्ध गराए । यी दुवै जना नियमित पढाइसँगै फुर्सदमा बाजा बजाउँछन् ।


‘सिजनमा महिनाभरिको तलब एक दिनमा पाउन सकिन्छ,’ प्रवीणले सुनाए, ‘यहाँ आएदेखि खाली बस्नुपरेको छैन ।’ यो समूहले पारिश्रमिकचाहिँ दूरीअनुसार निर्धारण गर्छ । नजिकै छ भने दिनको कम्तीमा ५० हजार रुपैयाँ, टाढा छ भने कम्तीमा १ लाख रुपैयाँ ।


रेडियो नेपालबाट राष्ट्रिय कलाकारको विशिष्ट श्रेणीबाट रिटायर्ड भएपछि टोखाका कृष्ण दर्जी फुर्सदिला भए । ५९ वर्षे कृष्णले पुख्र्यौली पेसा पन्चै बाजाको संरक्षणमा लाग्ने सोच बनाए । साथ मिल्यो यही समूहको । कमाउने मात्र नभई उनी अचेल पञ्चेबाजाको महत्त्व बुझाउँदैसमेत हिँड्न थालेका छन् । राग, मंगलधुन, ख्याली, झयाउरे, लोक गरी हरेक भाकामा पञ्चेबाजा ढाल्न सकिने उनको दाबी छ ।

‘यो बाजाको जति समृद्ध जति छ, संरक्षण र प्रवद्र्धनको उति नै अभाव छ,’ उनले भने ।

बढ्दै बजार
सिजनअनुसार बिहे र व्रतबन्धमा सीमित हुने पञ्चेबाजा अहिले अन्य कार्यक्रमतिर पनि बजाउने गरिन्छ । रामेछापका सुन्दर सेवाले १५ वर्षदेखि यही काममा छन् । उनले कपडा सिलाउने र बाजा बजाउने दुइटै पुख्र्यौली सीपलाई अपनाउँदै आएका छन् ।


अरू समुदायले समेत पञ्चेबाजालाई व्यावसायिक रूपम अघि बढाउन थालेपछि ४१ वर्षे सुन्दरलाई आफ्नो संस्कृतिप्रति झनै गौरव लाग्न थाल्यो । कुनै समय जातीय विभेदको नजरले हेरिने हुँदा अझै पनि कतिपय युवाहरू पञ्चेबाजा बजाउन मान्दैनन् । तर, यस क्षेत्रमा लाग्नेप्रति राज्यले पनि लोक कलाकारको मान्यता दिँदै प्रवद्र्धन गर्नुपर्ने उनको तर्क छ ।

‘बजारले पञ्चेबाजाको माग बढाउँदै छ,’ उनले भने, ‘बजाउने मान्छेको अभाव देखिन थालेको छ ।’


सहरमा बाजा बचाउनुका केही चुनौती छन् । बजारको मागअनुसार धुन सिर्जना गर्नुपर्ने लीलाबहादुरले बताए । ‘कति बेला कस्तो फर्माइस आउँछ, थाहै हँुदैन,’ उनले भने, ‘त्यसैले पूरै तयारीका साथ बजाउनुपर्ने हुन्छ ।’


पञ्चेबाजाको धुन हरेक क्षेत्रमा फरकफरक हुन्छ– पश्चिमेली, पूर्वेली, नुवाकोटे, धादिङे, इलामे । यी भिन्नाभिन्नै आञ्चलिक धुन बजाउने गरी कलाकारहरू तयार हुनुपर्ने कृष्ण दर्जीले सुनाए ।


लीलाबहादुर पञ्चेबाजा बजाउने समूहलाई कलाले पूर्ण टिम भन्न रुचाउँछन् । यसमा संगीत, लय र गायन तीनै पक्षको सम्मिश्रण हुन्छ ।


मौलिकताको खोजी
अचेल सहरमा मौलिक लोकधुन र संगीतको खोजी गर्नेहरूले पञ्चेबाजा रुचाउन थालेको अमृतको अनुभव छ । गाउँमा रहँदा उनले बच्चा जन्मिँदा, भात खुवाउँदादेखि बिहेव्रतबन्धसम्ममा पञ्चेबाजा बजाउँथे । पूजापाठमा पनि पञ्चेबाजा बजाउनुलाई पवित्र मानिन्थ्यो । मानिस आधुनिकतातिर ढल्किन थाल्दा बीचमा केही समस्या आइपरेको भए पनि अहिले मौलिकताप्रतिको जागरण आएको अमृतको दाबी छ ।


राष्ट्रकविकै घरमा पनि साइत र उल्लासका लागि पञ्चेबाजा निम्त्याइएको राष्ट्रकविकी जेठी छोरी शान्तिले बताइन् । अमृतको अनुभवमा पञ्चेबाजा अचेल विदेशबाट घर फर्किएका आफन्तको स्वागतमा पनि बजाउन थालिएको छ । औपचारिक कार्यक्रम, विशेष समारोह र होटलहरूमा नेपालीपन झल्काउन पनि पञ्चेबाजाको माग हुन थालेको छ । ‘गाउँको वडा प्रमुख आउँदादेखि राष्ट्रपतिको सवारीसम्ममा पञ्चेबाजा बजाउन थालेका छन्,’ उनले भने, ‘यो निकै राम्रो कुरा हो ।’


तर, अझै पनि गाउँघरमा बाजा बजाउनेलाई हेयको दृष्टिले हेर्ने परम्परा भएका कारण नयाँ पुस्तामा यो सजिलै हस्तान्तरण हुन नसकेकोप्रति यो समूहको चिन्ता छ । ‘हीनताबोधले गर्दा नयाँ पुस्ता यतातिर आकर्षित छैन,’ लीलाबहादुरले भने, ‘यसको प्रचारप्रसार र संरक्षणमा राज्यले पनि सोच्नुपर्छ ।’


त्यस्तै, पैसा कमाउने नाममा बाजाको राग, लय र भाव नबुझी बजाउनेहरूको संख्या ठूलो रहेको पनि कृष्णको दाबी छ । यस्तो प्रवृत्तिले पञ्चेबाजाको मौलिकता अन्योलमा पर्ने उनीहरूको ठम्याइ छ ।

प्रकाशित : आश्विन १६, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?