अर्जुनसँग आस ग्रुप

कान्तिपुर संवाददाता

काठमाडौँ — संगीतकार अर्जुन पोखरेल, गायक सुगम पोखरेल र गायिका अञ्जु पन्तको सहकार्य धेरै गीतमा सुनिएको छ । उनीहरू आफूलाई ‘आस ग्रुप’ भन्दा रहेछन्  ।

अर्जुनसँग आस ग्रुप

अर्जुन, अञ्जु र सुगमको अङ्ग्रेजी पहिलो अक्षरबाट ‘आस’ बनाइएको सुगम शनिबार सुनाउँदै थिए । यो रहस्योद्घाटनसँगै अर्जुनको संगीतमा बनेका तीन गीत अञ्जु र सुगमले गाए पनि ।

उनीहरूले ‘म यस्तो गीत गाउँछु....’, ‘भन्छु आज मनका कुरा...’ र ‘तिमी रोएको पल...’ प्रस्तुत गरिसकेपछि अर्जुनले गदगद हुँदै भने, ‘उहाँहरूले एकसाथ गाएको देख्न पाउनु मुस्किल छ । दुवै सधंै व्यस्त । एउटै मञ्चमा उभ्याउन साह्रै गाह्रो पर्छ ।’

सुगम र अञ्जुको प्रत्यक्ष युगल गायनको तारतम्य मिलाइएको थियो, ‘अर्जुन पोखरेल एकल साँझ’ मा । सांस्कृतिक संस्थान (नाचघर) मा आयोजित समारोहमा अर्जुनका एक दर्जन गीत प्रस्तुत गरिए ।

विन्ध्यवासिनी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा विभिन्न गायक–गायिकाले अर्जुनका कम्पोज सुनाए । संगीतकार स्वयंले पनि कतिपय गीतमा स्वर हाले ।


ज्ञानु राणाको ‘कसैले बुझेन मेरो...’ गीत गाएर अर्जुनले एकल साँझ उद्घाटन गरेका थिए । निशान भट्टराई र सुनिता थेगिमले ‘तिम्रो आँखामा आँसु...’ प्रस्तुत गरे भने सन्तोष लामा र स्वेच्छा ठकुरीले ‘मैले सोचेको जस्तै...’ सुनाए ।

‘दिलमाया’ फिल्ममा समाविष्ट ‘छुट्छ कि साथ...’ गीत दुर्गा खरेलले सुनाइन् । उनले ‘काले केटाले...’ प्रस्तुत गर्दा दर्शक–श्रोताले रमाइलो मानेको देखिन्थ्यो । सुरेश लामाले ‘सुन्छु तिमीले अचेल...’ गाएपछि अञ्जु र सुगम स्टेजमा आएका थिए । तिनको प्रस्तुतिलगत्तै दोहोरी गायिका मञ्जु पौडेललाई मञ्चमा निम्त्याइयो । पौडेललाई अर्जुनले नै साथ दिए । उनीहरूले ‘तिमी लाइटर...’ दोहोरी गाए ।

कन्सर्टमा कुमार महर्जन, प्रमोद उपाध्याय, अनुप दास, रूपेश सिंह, गोपाल देव, सञ्जीव बराइली, सरोज बिस्ट र प्रदीप श्रेष्ठले वाद्यवादनमा सघाएका थिए । संगीत संयोजन थियो प्रदीपको ।

पहिलो पटक एकल साँझ गरेका अर्जुनले कन्सर्ट अवधिभर आफ्ना सांगीतिक अनुभव सुनाइरहे । ‘मेरा बुबा खैंजडी बजाउनुहुन्थ्यो’, उनले भने, ‘आमा रत्यौली गाउने । चाडबाड आउनुअघि हामी घरमै गाउने/बजाउने गर्थ्यौँ ।’

उनले रोयल्टीको कुरा गर्दागर्दै नेपालमा म्युजिकल कार्यक्रम गर्न राम्रो हलसमेत नभएकोमा दु:ख बिसाए । संघर्षका दिनमा साथ दिनेहरूप्रति आभार व्यक्त गरे । संगीतकर्मीले त संगीत सिक्नु परिहाल्यो, स्रोताले समेत संगीत बुझ्न आवश्यक रहेको तर्फ उनले ध्यानाकर्षण गराए ।

‘संगीत बुझेर सुन्नका लागि संगीत सिक्दा हुन्छ’, उनले भने, ‘रहर गरेर गाउनुभन्दा आफ्नो प्रतिभा चिन्न/चिनाउन सकियो भने राम्रो प्रतिफल आउँछ ।’

अर्जुनको एकल साँझ सुरु हुनुअघि आयोजक विन्ध्यवासिनीले स्रष्टा सम्मान कार्यक्रम गरेको थियो । गायिका ज्ञानु राणालाई संगीत साधना सम्मान स्वरूप ५० हजार रुपैयाँ प्रदान गरियो । सरस्वतीको कृपाले आफूमा गायन कला भएको भन्दै ज्ञानुले सरस्वती वन्दना गाइन् । बिरामी अवस्थामा रहेका गायक बुद्धिकृष्ण लामिछानेको सहयोगार्थ विन्ध्यवासिनीले ५० हजार रुपैयाँ प्रदान गरेको थियो ।

प्रकाशित : आश्विन २९, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?