२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

विविधतारहित दसैं गीत

कान्तिपुर संवाददाता

काठमाडौँ — दसैंको खुसी गीतमा उतार्ने चलन पुरानै हो । यो पर्वमाथि प्रशस्त सांगीतिक रचना तयार भएका छन् । यसपालि पनि त्यो क्रम दोहोरियो । नयाँ र स्थापित गायक/गायिका तथा सांगीतिक समूहले दसैं गीत सार्वजनिक गरे । केहीले भने दसैंलाई उपलक्ष्य बनाएर अन्य भावका आफ्ना नयाँ सिर्जना पनि रिलिज गरे । तर, विगतमा झैँ यस पालिका गीतमा पनि विविधता भेटिएन ।

विविधतारहित दसैं गीत

रक ब्यान्ड ‘अनुप्रस्थ’ ले पहिलो पटक दसैं गीत बनायो । यसअघि दसैंका कन्सर्टमा मालश्री धुन प्रस्तुत गर्दै आएकोमा अब आफ्नै गीत गाउन चाहेको ब्यान्डका भोकलिस्ट नीरन शाहीले बताए । ‘दशैंका नेवारी गीत धेरै गाएँ,’ उनले भने, ‘नेपाली भाषामा पनि एउटा गीत बनाउने खुब इच्छा थियो । त्यही भएर यसपालि कोसिस गरेका हौं ।’ युट्युबमा गीतको लिरिकल भिडियो अपलोड गरिएको छ ।


सुमन लाल श्रेष्ठको रचना रहेको ‘दशैं आयो...’ गीतमा यो चाड के हो र किन मनाइएको हो भन्नेबारे बोलिएको नीरनले बताए । चाडविशेष गीतले सकारात्मक भाव सञ्चार गर्ने भएकाले यस्ता गीत बन्नु आवश्यक रहेको उनको भनाइ छ ।


गायिका आस्था राउतले पनि यस पटक दसैं गीत तयार पारेकी छन् । घटस्थापनामै सार्वजनिक गर्न खोजिए पनि अलि नमिलिरहेको उनले बताइन् ।
‘यसमा दसैं–तिहारको प्रसंग छ,’ उनले भनिन्, ‘अबका कन्सर्टमा यो गीत पनि सुनाउनेछु ।’


आस्थाको दोस्रो एल्बम ‘आधार दुई’ मा समाविष्ट गीतमा सुरेश अधिकारीको रचना र संगीत छ । हप्ता दिनअघि नै गीतको ट्ेरलर युट्युबमा अपलोड गरिएको थियो । ‘दसैं आयो तिहार आयो...’ गीतलाई लिएर श्रोताले कौतूहल व्यक्त गरिरहेका छन् । ‘दसैं आयो भन्ने त थाहा भयो,’ नवीना खातुनले युट्युबमा कमेन्ट गरेकी छन्, ‘तर खै पूरा गीत ?’
गायक कपिल कस्पालले पनि ‘आयो दसैं तिहारै आयो...’ बोलको गीत श्रोतामाझ ल्याए । कपिलकै शब्द र बद्रीनारायण ताम्राकारको संगीत रहेको उक्त गीत डान्सिङ प्याटर्नमा बनाएको कपिलको भनाइ छ । ‘सबैले मेरो गीत घन्काएर रमाइलो गर्नुहोला,’ उनले आग्रह गरेका छन्, ‘यही गीतमार्फत् दसैंको शुभकामना दिन चाहन्छु ।’


सञ्चारकर्मी नरेश भट्टराईले लेखेको ‘दसैं आयो...’ गीत पनि यही हप्ता रिलिज गरिएको थियो । यसमा हरि लम्सालको संगीत र प्रेम सेनको स्वर सुन्न सकिन्छ ।


गायिका मिलन अमात्य, गायक भरत सिटौला लगायतले पनि दसैंको अवसरमा आफ्ना नयाँ गीत रिलिज गरे । तर ती दसैं गीत होइनन् । बरु, लोक–दोहोरी क्षेत्रका कलाकारले दसैं भाका गाएका छन् । खेम सेन्चुरी र सम्झना भण्डारीको ‘अरे क्यानम साइँली, दसैं र तिहारमा...’ बोलको भाका युट्युबमा राम्रो सुनिएको छ । एक हप्ताअघि अपलोड गरिएको भिडियोमा साढे चार लाख भ्युज छ ।


खुमन अधिकारीको स्वरमा ‘दसैं मनाए...’ भाका सुन्न सकिन्छ भने सज्जन धामीले ‘आयो तिहार...’ बोलमा परदेसिनुको दु:ख बिसाएका छन् ।


दसैं–तिहारमाथि बनेका सबैजसो गीत एकैखाले सुनिए । अधिकांश गीत उस्तै लागे । यसपालि निस्किएका गीतहरूको बोल एउटै छ, ‘दसैं आयो...।’ यही भएर पनि दसैंका बेला पनि प्राय: पुरानै गीत बजेको सुनियो, सुनिरहिएको छ ।

प्रकाशित : कार्तिक ५, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?