कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

बक्सअफिस आफैँ अलपत्र

वितरकले पठाएको डाटामै भर पर्नु परिरहेको छ । कहिले सिस्टम बिग्रियो त कहिले दर्शकचापले गर्दा ई–टिकेटिङको सट्टा म्यानुअल्ली बेच्नुपर्‍यो भन्ने गरिन्छ । - दीपकराज, गिरी निर्माता, (‘छक्कापञ्जा ३’)
सुशील पौडेल

काठमाडौँ — घटस्थापनादेखि देशव्यापी रिलिज भएको ‘छक्का पञ्जा ३’ ले सुरुवातदेखि बक्सअफिसमा गतिलो व्यापार गर्‍यो  । तर कति गर्‍यो ? कतिकति !

बक्सअफिस आफैँ अलपत्र

चलचित्र विकास बोर्डले काठमाडौं उपत्यकाका हलमा साउन १ देखि बक्सअफिस लागू भइसकेको बताए पनि फिल्म निर्माता भने अझै पनि वितरकको रिपोर्टमा भर पर्नुपर्ने अवस्था छ ।

बोर्डले हललाई कम्प्युटर सफ्टवेयरमार्फत लिंक गरेपछि टिकट बिक्रीको रियल–टाइम रिपोर्ट सम्बन्धित फिल्मका निर्माता र वितरकले घरमै बसीबसी हेर्न मिल्ने बताएको पनि तीन महिना नाघिसक्यो । तर कुनै पनि फिल्मका निर्माता/वितरकले बक्सअफिस रिपोर्ट पाएका छैनन् ।

‘वितरकले पठाएको डाटामै भर पर्नुपरिरहेको छ,’ ‘छक्का पञ्जा ३’ का निर्मातामध्येका दीपकराज गिरीले कान्तिपुरसँग भन्छन्, ‘बोर्डको बक्सअफिस एकाध ठाउँमा त लागेको होला, त्यही पनि कहिले सिस्टम बिग्रियो त कहिले दर्शकचापले गर्दा ई–टिकेटिङको सट्टा म्यानुअल्ली टिकट काटेर बेच्नुपर्‍यो भनिन्छ ।’

‘छक्का पञ्जा ३’ का काठमाडौं वितरक मनोज राठीले आफूले व्यक्तिगत प्रयासमै हल–हलबाट रिपोर्ट लिइरहेको बताउँछन् । बोर्डले बक्सअफिस लागू भएपछि हरेक निर्माता/वितरकलाई फिल्मको रिपोर्ट हेर्न मिल्ने गरी कोड उपलब्ध गराउने बताएको भए पनि व्यवहारमा त्यस्तो हुन सकेको छैन । ‘छक्कापञ्जा ३’ कै सवालमा न वितरक राठी, न त निर्माता गिरीले नै कोडको प्रयोग गर्न पाएका छन् ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी सोचेअनुरूपको मापदण्डमा बक्सअफिस पुग्न नसकेको गुनासो गर्छन् । ‘हामीले हलमा टिकट काटिएकै समयमा घरमा बसेर रियल टाइम रिपोर्ट हेर्ने बक्सअफिस चाहेका हौं,’ उनी भन्छन्, ‘अहिले बक्सअफिसको प्रगति हेर्दा सन्तुष्ट हुने खालको नभई सन्तोषजनक मात्रै छ । जे भइरहेको छ, त्यो हिसाबले ठूलो उपलब्धि हो तर जबसम्म हामी अनलाइन रिपोर्ट हेर्न पाउँदैनौं, तबसम्म बक्सअफिसको मान्यता दिन सकिँदैन ।’

बोर्ड अध्यक्ष निकिता पौडेल स्वयं बक्सअफिसको हालको प्रगतिसँग खास सन्तुष्ट छैनन् । भन्छिन्, ‘थुप्रै कमजोरी रहेको महसुस हामीले पनि गरिरहेका छौं । हाम्रै बक्सअफिस सफ्टवेयर जडान भएका हलहरूमा बरु समस्या आएको छैन, तर पहिल्यै ई–टिकेटिङको व्यवस्था भएका मल्टिप्लेक्सहरूले समयमै डाटा दिइरहेका छैनन् ।’

समयमै डाटा नदिने वा ढिलो दिने हललाई अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागले नै कडाइ गर्नुपर्ने पौडेल औँल्याउँछिन् । उनका अनुसार, बोर्ड माघ १ देखि मोफसलका हललाई पनि बक्सअफिसको केन्द्रीय प्रणालीमा आबद्ध गर्ने गरी अघि बढिरहेको छ ।

अध्यक्ष पौडेलका अनुसार, मोफसलका १ सय २१ हलमध्ये २७ मल्टिप्लेक्समा ई–टिकेटिङको व्यवस्था छ । ६२ वटामा बोर्डले नै सफ्टवेयर/हार्डवेयर उपलब्ध गराउनुपर्ने र बाँकी ३२ हललाई स्तरोन्नतिपछि मात्रै बक्सअफिस प्रणालीमा जोड्न सकिने पाइएको छ ।

‘३२ हललाई अपग्रेड गराउन बैंकमार्फत पहल गरिरहेका छौं,’ उनी भन्छिन्, ‘सिस्टम दिनुपर्ने हलका लागि सूचना मन्त्रालयलाई अवगत गराएका छौं । बक्सअफिसका लागि कम्प्युटर, प्रिन्टर उपलब्ध गराउँदा प्रतिहल १ लाख रुपैयाँ पर्न जाने हाम्रो अध्ययनमा देखिएको छ । ई–टिकेटिङ भएका हलबाट तिहारलगत्तै डाटा लिन थाल्छौँ ।’

निर्माता संघ अध्यक्ष अधिकारी भने ‘बक्सअफिस जादूको छडी नभएको’ तर्क गर्दै यसको अनुगमनका लागि पनि बोर्डले ध्यान दिनुपर्ने औंल्याउँदै प्रश्न गर्छन्, ‘सरकारले बक्सअफिसका लागि खर्च मात्रै गर्ने कि अनुगमनमा पनि ध्यान दिने ?’

कतिपय हलमा म्यानुअल टिकट काटेको भन्ने गुनासो सुनिएकामा यसतर्फ सरकारी अनुगमन हुनुपर्नेमा अधिकारी जोड दिन्छन् । सरोकारवाला निर्माता बक्सअफिसमा आफ्ना फिल्म दर्ता गराउन नपुगेको र चनाखो हुन नसकेको पनि उनको भनाइ छ ।

बक्सअफिस प्रभावकारी कार्यान्वयनमा नआउँदा फिल्मको बिजनेस रिपोर्ट मनगढन्ते ढंगले आउने लहर चल्न थालेको छ । ‘करोड क्लब’ प्रवेशदेखि ‘सक्सेस पार्टी’ का कृत्रिम हल्ला सिर्जना गरेर फिल्मको विदेश बजारलाई प्रभावित पार्नेदेखि नयाँ लगानीकर्तालाई आकर्षित गर्नेसम्मका प्रयास बढ्न थालेका छन् । फ्लप फिल्मले बढाएर रिपोर्ट दिनेदेखि हिट फिल्मले करको डरले घटाएर बिजनेस रिपोर्ट सार्वजनिक गर्ने परिपाटीको विकास भइरहेको छ ।

‘त्यसैले मलाई यस पालि हाम्रो फिल्मले यति कमायो, उति कमायो भन्न पनि मन लागेन,’ फेसबुकमार्फत १७ औं दिनमा ‘छक्का पञ्जा ३’ ले यसअघि १ सय २८ दिन लगाएर ‘छक्का पञ्जा’ ले कायम गरेको सर्वाधिक व्यापारको कीर्तिमान तोडेको सूचना साझेदार गरेका गिरी भन्छन्, ‘कतिपय हलले भ्याट बिल पनि दिँदैनन् । यस्तोमा फिल्मको कमाइ भन्नु पनि अप्ठ्यारो अवस्था छ ।’

प्रकाशित : कार्तिक १५, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?