नेपथ्य गुन्जियो सिक्किममा
काठमाडौँ — नेपथ्यले सिक्किम उत्सवमा प्रस्तुति दिएको छ । दक्षिण सिक्किमको राबाङलामा आयोजित ‘राबाङ छो जो फेस्ट’ मा नेपाली लोकरक ब्यान्डले केही नयाँ र केही पुराना लोकप्रिय गीतहरू सुनायो ।
छो जो तालछेउ आयोजित कन्सर्टमा सयौँ दर्शकश्रोताले नेपथ्यलाई सुने ।
‘कुरुप अनुहार हो,’ ‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो,’ ‘मै मरी जाउँला,’ ‘आँगनैभरि हिउँ,’ ‘शिरफूल शिरैमा,’ ‘लामपाते सुरती’, ‘चरी मर्यो’ सुनुन्जेल दर्शकदीर्घा उल्लसित भइसकेको विज्ञप्तिमा छ । ‘जोमसोमे बजारमा’ गाइरहेको बेला गायक अमृत गुरुङले अघिल्लो दिनको अनुभव सुनाएका थिए । ‘हिजो केही स्थानीय बासिन्दाले मुस्ताङ घुम्ने इच्छा सुनाइरहनुभएको थियो,’ उनले नेपाल चिनाउँदै थपे, ‘त्यो ठाउँ पुग्न यस गीतमा भनिएको मेरो घर अर्थात् पोखराकै बाटो जानुपर्छ ।’
कन्सर्टको उत्तराद्र्धमा ‘कोसीको पानी...’, ‘रेशम...’, ‘हिमाल चुचुरे...’ र ‘मै नाचेँ छमछमी...’ जस्ता गीतहरू प्रस्तुत हुँदा भिक्षु पोसाकमै उपस्थित दर्जनौं युवा पनि नाचिरहेका देखिन्थे । बिदाई गीत ‘तालको पानी...’ सकिए पनि दर्शकश्रोताको वान्समोरले स्टेज छोड्न दिएन ।
चारदिने उत्सवको समापन मंगलबार राति नेपथ्यको कन्सर्टबाटै भएको थियो । सदाझैं सिक्किममा पनि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।