काठमाडौँ — सन्तान सुख नपाएको एक दम्पतीको जीवनको आरोह, अवरोहलाई समेटिएको बताइएको फिल्म ‘प्रसाद’ को शुक्रबार राति ट्रेलर सार्वजनिक गरिएको छ ।
दिनेश राउत निर्देशित उक्त फिल्ममा विपिन कार्की र नम्रता श्रेष्ठले नि:सन्तान दम्पतीको भूमिका निर्वाह गरेका छन् भने फिल्ममा निश्चल बस्नेत पनि मुख्य भूमिकामा रहेका छन् । ट्रेलरलाई निर्देशक राउत र बस्नेतको उपस्थितिमा नेपाल आइडल कार्यक्रममार्फत प्रिमियर गरिएको हो ।
मंसिर २१ देखि देशव्यापी प्रदर्शनीमा आउन लागेको ‘प्रसाद’ को ट्रेलरमा अन्तरजातीय प्रेम विवाह गरी सहर आएका एक जोडीले सन्तान नपाउँदा उत्पन्न हुने असहज परिस्थितिलाई इंगित गर्न खोजेको छ । पत्रकार सुशील पौडेलको लेखन रहेको ‘प्रसाद’ का यसअघि सार्वजनिक दुई गीत ‘लै लै...’ र ‘वनकी चरी...’ ले चर्चा बटुलिसकेका छन् । शुक्रबार प्रसारित नेपाल आइडलका प्रतिस्पर्धीले पनि दुवै गीत गाएका थिए भने निश्चल स्टेजमै पुगेर नाच्न भ्याए ।
वसुन्धरा भुसाल, सुनिसा बजगाईं, विनोद भट्टराई, प्रकाश गन्धर्व, राजेश बिसुराल, अन्नपूर्णेश्वरी शिल्पकार, लोकमणि सापकोटा, भोला शाह, अच्युत उप्रेतीलगायतको अभिनय रहेको फिल्मलाई सुभाष थापाले निर्माण गरेका हुन् । लोकेश बज्राचार्यको सम्पादन रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन रहेको छ । संगीत सुभाष भुसालले दिएका हुन् भने कोरियोग्राफी शिव विकले गरेका छन् । विकास सुवेदी एसोसिएट डाइरेक्टरका रूपमा रहेको ‘प्रसाद’ को द्वन्द्व निर्देशन हिमाल केसीले गरेका हुन् ।