१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

थारू समुदायमा माछा सबथोक

‘थारू समुदायको धर्म र संस्कृतिसँग माछा जोडिएको छ । जन्मदेखि मृत्युसम्मका संस्कारमा थारू जातिको सम्बन्ध माछा सँग जोडिएको छ ।’
मोहन बुढाऐर

धनगढी — थारू पुर्खा र माछासँग सांस्कृतिक सम्बन्ध छ । थारू समुदायको सदाबहार भोजनभित्र त माछा पर्छ नै, यसबाहेक सांस्कृतिक उत्सवहरूमा माछा नभई हुन्न । अझ दसैंतिहारजस्ता पर्वहरूमा माछाको स्वाद पर्गेल्नेको भीड छुट्टै हुन्छ ।

थारू समुदायमा माछा सबथोक

केहीअघि सामूहिक माछा मार्ने मेलामा सहभागी भएका थारूहरू यति बेला माछाका अनेक परिकार रम्दै छन् ।


थारू बुद्धिजीवी गंगाराम चौधरीका अनुसार, थारू समुदाय माछाको सिकार एक्लैभन्दा पनि समूहमै गर्न बढी रुचाउँछन् । घरमा माछा मार्ने थरीथरीका जाल हुन्छन । ‘त्यस्तो घर बिरलै हुन्छ जहाँ माछा मार्ने जाल नहोस्,’ चौधरीले भने, ‘आफैंले बुन्ने भएकाले पनि थारूका घरमा जालको कमी हुँदैन ।’


उनका अनुसार तन्नेरीदेखि पाकासम्मले थरीथरी जाल हान्छन्, त्यसका लागि ठूलो खोला–नदी नभए पनि चल्छ । बर्खामा जमेको पानीमै किन नहोस, हूल बाँधेर ‘बठनिया’ हरू हातमा जाल र टाउकोमा ढडिया बोकेर निस्कन्छन् । थारू समुदायमा रहेको सामूहिकताको भावना पनि यसमा प्रतिबिम्वित हुने गंगारामको दाबी छ ।


‘थारूको माछा मार्ने तरिका आफ्नै मौलिक परम्परामा आधारित छ,’ उनले भने, ‘रजगज्जा र महाजाल थारूको परम्परागत माछा मार्ने शैलीभित्र पर्छन् ।’


सामूहिक रूपमा राति माछा मार्न जानुलाई ‘रजगज्जा’ र दिउँसो जानुलाई ‘महाजाल’ भन्ने गरिन्छ । माछा समातेर राख्ने भाँडो ‘दिलिया’ । खोलाको मुहानै फर्काएर वा तालको एक छेउबाट माछा सोहोर्ने र सबै माछा एउटै जालमा फसाउने तरिकालाई पनि महाजाल भन्ने गरिएको छ ।


उनका अनुसार, माछा मार्ने जाल विभिन्न प्रकारका हुन्छन् । तीमध्ये हेल्का, सेउखा, टापी, बटाउ, पखै, महाजाल, घाघी, चेउधी, डोडिया, धरिया, बरेरवा, पहाउ, खोघिया, बन्सी, बन्सा, भुर्का, सुर्का, डिलिया, टुम्रा, झप्ता, गेदली, खोच, छराछ हुन् ।


माछा परिकार

विभिन्न परिकारमध्ये थारू समुदायको भान्सामा प्राय: माछाको तरकारी र चटनी पाक्छ । विशेष गरी मिझनी (दिउँसोको खाजा) मा सिद्रा (सुकेको माछा ) को तरकारी र चटनी खाने चलन छ ।


पाहुना आएको बेला पनि सिद्राकै स्वागत हुन्छ । कतिपय ठाउँमा रातो खुर्सानी र टिम्बुर हालेर कुटेको सिद्रा मदिरासँगै सितनका रूपमा पाहुनालाई दिने चलन पनि छ । एकपटक सिद्राको चटनी खाएमा त्यसको स्वाद सधैंभरि जिब्रोमा टाँसिएर रहन्छ ।


माछाको सांस्कृतिक महत्त्व

कैलालीको थापापुर मधौलीका रामदुलारी चौधरी दुलहाको भेषमा सजिएका थिए । जन्ती दुलहीको घर नजिक पुग्दै थियो । सगुन बोकेकाहरूको सोधिखोजी सुरु भयो । एक पाका थारूले सोधे, ‘पहुरा मछली बा कि नाई बा ?’ (सगुनमा माछा छ कि छैन ?)


सगुन बोकेकाहरूको जवाफले जन्तीमा सहभागी थारू भलमन्सा (अगुवा) सीताराम चौधरी झोक्किए । जन्ती केही बेर बाटामै रोकिए । सुगन लिन पुन: दुलाहाको घर गए । उनीहरूले माछाको सगुन ल्याएपछि मात्रै जन्ती अघि बढ्यो । यो दुई वर्षअघिको घटना हो । त्यसका साक्षी थिए, तिनै थारू बुद्धिजीवी गंगाराम । ‘यदि सगुनमा माछा नल्याएको भएमा दुलही पक्षले जरिवाना तिर्न पथ्र्यो,’ उनले भने ।


गएको दसैंमा रमाइलो माहोल थियो, थारू बस्तीमा । हेरुलाल डगौंरा पितृपूजा गर्ने तयारीमा बसेका थिए । ‘पितृलाई पित्तर दिन राखेको माछा अचानक कुकुरले लग्यो । त्यो थाँहा पाएपछि आपत पर्‍यो,’ हेरुलालले घटना सम्झिए, ‘तुरन्तै माछा खोज्न पठाए ।’ पश्चिम नेपालका थारू समुदायमा श्राद्ध अर्थात् पितृपूजा गर्दा माछा अनिवार्य रूपमा चढाउने चलन छ । यसलाई पित्तर दिनु भन्छन । ठूलो माछा नपाए सिध्राले भए पनि काम चलाउने गरिन्छ ।


‘थारू समुदायको धर्म र संस्कृतिसँग माछा जोडिएको छ,’ उनले भने, ‘जन्मदेखि मृत्युसम्मका संस्कारमा थारू जातिको सम्बन्ध माछासँग जोडिएको छ ।’ त्यति मात्रै होइन्, थारू र माछाको जीवनशैली अद्भुतको छ ।

प्रकाशित : कार्तिक २२, २०७५ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?