गहन विषय, फितलो प्रस्तुति 

सुनीता साखकर्मी

काठमाडौँ — नेपाली फिल्म उद्योगमा रेखा थापा अभिनयभन्दा पनि ग्ल्यामरकै कारण नै खबरमा छाइरहिन् । त्यसैले होला, उनी अहिले ब्याक टु ब्याक सामाजिक विषयवस्तुवरिपरि घुमेका फिल्म खेलिरहेकी छन् ।

गहन विषय, फितलो प्रस्तुति 

‘रामप्यारी’ मा टेम्पो ड्राइभर बनेर मजदुरहरूको आवाज उठाइन् भने ‘रुद्रप्रिया’ मा एसिड प्रहारमा परेकी महिलाको भूमिका निभाइन् । भर्खरै प्रदर्शनमा आएको ‘मालिका’ फिल्ममा यति बेला रेखा महिला हिंसा र बालविवाहमुक्त नेपाल निर्माणमा छोरीका लागि स्वर्णिम नेपाल अभियान चलाउँदै गरेको देखिइन् । बलियो विषयवस्तु उठान गर्न खोजे तापनि कथा प्रस्तुति शैली फितलो हुँदा फिल्म फिक्का लाग्छ ।


यस फिल्ममा महिला हिंसाका दुई स्वरुपहरू प्रस्तुत गरिएका छन् । मालिका (रेखा थापा) बालबालिकालाई पढाउँछिन् । लामो औंला भएको अन्धविश्वासको कारण उनको कैयौँ पटक विवाह टुटिसकेको छ । तर उनको सानो औलाको पर्वाह नगरी सानैदेखि मन पराउने एक साथीले नै उनीसित विवाहको प्रस्ताव राखेपछि उनले पनि नाइँ भन्दिनन् । तर यसपटक पनि रेखाको विवाह टुट्छ । उता जया (कमला वली) खोलामा नुहाउन गएका बेला बलात्कारको सिकार बन्छिन् । उनले यो कुरा घरमा भनेपछि गाउँमा कचहरी बस्छ । पढ्ने लेख्ने उमेरमा जयाको विवाह त्यही बलात्कारीसित तय हुन्छ । तर उनी विवाह तयार हुन्नन् । कथाले पश्चिम मूलकी जया र तराईकी मूलकी मालिकालाई काठमाडौंमा भेटाइदिन्छ ।


महिलाहरूमाथि हुने गरेका विभेद, बलात्कार, बालविवाह हिंसाहरू लुकेका छैनन् । महिलाको लागि सबैभन्दा सुरक्षित थलो घर हो, उसले आफ्नो परिवारबाट नै सबैभन्दा बढी माया, ममता, सुरक्षा र समर्थन पाउने गर्छ । तर महिलाहरू घरमै असुरक्षित हुन थालेको र महिलाले आफ्नो सुरक्षाको लागि बलियो हुनुपर्ने सन्देश फिल्ममा छ । दाइजो प्रथा, अन्धविश्वासको विरुद्ध लाग्नका लागि फिल्मले प्रेरित गरेको छ । मानिसले कसैलाई पनि एकैपटकमा विश्वास गरिहाल्नुहुन्न भन्ने सन्देश पनि दिन खोजेको छ ।


त्यसका लागि महिलाहरू मानसिकका साथै शारीरिक रूपमा पनि बलियो हुुनुपर्छ । फिल्मले उजागर गरेको अर्काे पक्ष हो, दाइजो प्रथा । अहिले पनि कतिपय समाजमा दाइजोकै निहुँमा छोरी बुहारीहरू जल्नेदेखि घर निकालामा पर्ने विडम्बना छ । पढेलेखेकै परिवार पनि दाइजोको पछाडि लागेको कटुसत्यलाई फिल्मले व्यंग्य गरेको छ । पश्चिम नेपालको सामाजिक, भौगोलिक वातावरणलाई देखाउनुका साथै त्यहाँको रैथाने भाषालाई फिल्मले महत्त्वका साथ प्रस्तुत गरेको छ । भाषिक विविधता फिल्मले उजागर गर्नु सकारात्मक पक्ष हो ।


फिल्मको कथा सलल बगेको छ । तर कथालाई कलात्मक रूपमा प्रस्तुत गर्न निर्देशक चुकेकी छन् । फिल्मको कथा सबै पात्रहरूकै संवादको भरमा चल्नुले फिल्मलाई कमजोर बनाएको छ । एकै खालका कथा र एकै खालको संवादले दर्शकलाई मोनोटोनससमेत बनाउँछ । फिल्मको विषयवस्तु जति गहन छ, त्योअनुसार प्रस्तुति र कथा भन्ने शैली गहन रूपमा तयार छैन ।


एक्सन एडले २०१३ मा भारतका बलात्कार पीडितहरूमाथि गरेको सर्वेक्षण अनुसार बलात्कारमा परेका ४८ प्रतिशत पीडितहरूले कुर्ता सलवार, ४१ प्रतिशतले सारी वा बुर्का र १० प्रतिशतजतिले फ्रक, टिसर्ट, पाइन्ट लगाएका थिए । त्यति बेला एक्सन एडले बलात्कार मानिसको दिमागी रोग हो, यो पहिरनसित नजोडिएको निष्कर्ष दिएको थियो । तर फिल्मको एक दृश्यमा रेखा दुई युवतीहरूलाई टिसर्ट र हाफ पाइन्टको सट्टामा कुर्ता सुरुवाल लगाउन अह्राउँछिन् ।


महिलाहरू पहिरनकै कारण हिंसामा पर्ने भान फिल्मले दिन खोजेको छ । महिला समानताको मुद्धा अघि सार्दै गर्दा पुरुषलाई विभेद गर्नुहुन्न । तर फिल्ममा देखाइएका प्राय पुरुष पात्र या त खराब छन्, या त हास्यको पात्रका रूपमा पुरुषलाई प्रयोग गरिएको छ । सकारात्मक भूमिकामा देखाइएका पुरुष पात्र प्राय: मौन छन् ।


महिलालाई पिट्ने वा हेप्ने पुरुषलाई झापड हानेको दृश्य फिल्ममा देखिन्छ भने महिलाले पुरुषलाई हेपेको दृश्यलाई हास्यात्मक बनाएर प्रस्तुत गरिनु सुहाउँदैन । फिल्मले गहन विषयवस्तु प्रस्तुत गर्न खोजे पनि प्रस्तुति शैलीले गर्दा त्यति राम्रो हुन सकेको छैन ।

प्रकाशित : कार्तिक २२, २०७५ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?