दसैंमै खाँदिए तिहार गीत

‘संगीत दसैं र तिहारलाई मिक्स्ड नगर्दा राम्रो हुन्छ । तिहारका विभिन्न पक्षमाथि गीत बनाउन सकिन्छ ।’
सजना बराल

काठमाडौँ — तिहारका पाँच दिन अर्थात् यमपञ्चकमाथि एकुन्टा गीत बनाउन पाए कस्तो हुन्थ्यो होला † दिदीभाइको सम्बन्ध, लक्ष्मीपूजाको तामझाम, काग, कुकुर र गोरु तिहारको रीतमाथि छुट्टाछुट्टै गीत बनाउन सके कति मीठो सुनिन्थ्यो होला । तर, अभ्यास यसको ठीक विपरीत भइरहेको देख्छन्, गीतकार दिनेश अधिकारी ।

‘दसैं र तिहारलाई मिक्स्ड गरिएको छ अहिले,’ उनले भने, ‘दुई अलग पर्वलाई किन एउटै गीतमा गाइएको होला ? यो झारा टारेजस्तो भयो । दसैं भनेको पारिवारिक मिलनको चाड हो । तिहारचाहिँ दिदीभाइ, लक्ष्मी पूजा र हामीलाई सघाउने पशुपक्षीप्रति सम्मान व्यक्त गर्ने पर्व हो । दसैं र तिहारलाई मिक्स्ड नगर्दा राम्रो हुन्छ ।’ अधिकारीले तिहारभित्रकै अनेक पक्ष समातेर त्यसलाई संगीतमा उतार्न सकिने बताए । तिहारको समग्रता गीतमा ल्याउन सके सुन्दर हुने उनको भनाइ छ ।

Yamaha

यसैपालि सार्वजनिक भएका आस्था राउतको ‘दसैं आयो तिहार आयो...’, प्रमोद खरेलको ‘दसैं आयो तिहार आयो...’, टंक बुढाथोकीको ‘दसैं आयो...’ मा दुई चाड एकै गीतमा उनिएका छन् । यो आफैंमा खराब चलन नभए पनि तिहार विशेष गीतको आवश्यकता रहेको संगीतकर्मीकोराय छ । त्यस्ता गीतले तिहार संस्कृतिलाई धनी बनाउन सघाउने अधिकारीले बताए ।

उनी आफैंले चाहिँ विसं २०४६ को फिल्म ‘विजय पराजय’ का लागि ‘निधारमा लर्काएर सप्तरंगी टीका...’ बोलको भाइटीका गीत रचना गरेका थिए । त्यसअघि तीज, दसैं र तिहारमा पनि लक्ष्मी पूजाबाहेकको गीत नबनेको भन्दै उनले आफ्नो गीतलाई सम्भवत: पहिलो भाइटीका गीत भन्न रुचाए । ‘बहिनीले दाजुभाइका निम्ति गरेको कामना उल्लेख गरेको छु,’ उनले भने, ‘तिहारको संस्कृतिसँग नजिक होस् भनेर ओखर, तेल, देउसी, सप्तरंगी टीकाजस्ता विम्बहरू राखेको थिएँ ।’

अधिकारीको उक्त गीतमा संगीत भरेका शम्भुजित बाँस्कोटाले हालसम्म एक दर्जनजति तिहार–गीत तयार पारिसकेका छन् । उनलाई संस्कार र संस्कृतिमाथि गीतहरू सिर्जना गर्न मनपर्छ । तर, त्यसमा पर्वको मार्मिकता समेटिनुपर्छ भन्नेमा सचेत रहन्छन् । ‘हरेक चाडको आफ्नो मौलिकता हुन्छ,’ उनले भने, ‘त्यसले क्यारी गर्ने सन्देशलाई गीतमा प्रस्तुत गर्न सक्नुपर्छ ।’ शम्भुजितकै संगीत रहेका ‘तिहारै आयो लौ झिलिमिली...’, ‘ए हजुर यसपालिको तिहारै रमाइलो...’ जस्ता गीत निकै चर्चित छन् । यिनमा तिहारको मौलिकपन समातिएकाले ती ‘तिहार–एन्थम’ जस्ता बनेको हुनुपर्ने उनले बताए ।

हराए मारुनी, सोरठी
तिहारका गीतमा पाश्चात्यपन कम गर्न आवश्यक रहेको शम्भुजितको भनाइ छ । नयाँ पिँढीले पर्वविशेष गीत तयार पारेकोमा निकै खुसी लाग्ने उनले बताए । तर, फ्युजनका नाममा अलि बढी पाश्चात्य संस्कृति भित्र्याएको देख्दा निराश हुन्छन् । ‘आफ्नै भाका, भाषा र धुनलाई प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘मिडियाले पनि गीतसंगीत प्रसारण गर्दा गम्भीरता अपनाउनुपर्छ ।’ विदेशीहरूले आफ्ना सानातिना पर्वलाई ‘ग्लोरिफाइ’ गरिरहेका बेला हामीले तिहारजस्तो समृद्ध चाडलाई संगीतमार्फत प्रचारप्रसार गर्नु अत्यावश्यक रहेको शम्भुजितकोभनाइ छ ।

तिहारका विभिन्न पक्षलाई अलगअलग गीतमा समेट्न चाहिरहेका गीतकार अधिकारी पनि युवा संगीतकर्मीको पहलदेखि असन्तुष्ट छैनन् । धेरैजनाले धेरीथरी गीत गाउँदा पर्वका अनेक कोण समातिने बताए । ‘एउटै गीतमा सबैथोक अटाउन सकिँदैन,’ उनले भने, ‘यस्तोमा जति धेरै गीत बने, त्यति राम्रो हुन्छ ।’ तिहार गीतमा मौलिकता जोगिइरहेको पाउँछन् लोक गायक नारायण रायमाझी पनि । तीजमा झैं विकृति नभित्रिएको बताए । ‘तिहार गीतहरू त्यति धेरै बनेकै छैनन्’, उनले भने, ‘जति बनेका छन्, तिनमा विविधता छैन ।’

गायक रायमाझीलाई देउसी–भैलोमा मारुनी र सोरठी भाका हराएको देख्दा बेचैनी हुने गरेको छ । तिहारकै बेला नाचिने मारुनी र सोरठी नृत्य लोप भइसकेको बताए । ‘मैले दर्जनजति तिहार गीत गाएँ तर सबै उस्तै खालका भए,’ उनले भने, ‘तिहार गीतमा फरक स्वाद दिन सकिएको छैन । मारुनी र सोरठी भाकामा तिहार गीत गाउने चलन थियो पहिले । अब त त्यो पनि अहिले हराएर गयो ।’ युवा पुस्ताले आत्मसाथ नगर्दा तिहारका अन्य भाकाहरू धरापमा परेको उनकोबुझाइ छ ।

रेकर्डेड गीतको बिगबिगी
देउसी–भैलो खेल्नेहरूले हिन्दी र त्यसमा पनि यौवनका गीत बजाएको सुन्दा गीतकार अधिकारी दु:खी हुन्छन् । तिहार संस्कृतिसँग परिचित नहुनेहरूले त्यस्तो गर्ने गरेको उनको बुझाइ छ । रुपन्देहीको देवदह नगरपालिकाले तिहारमा रेकर्डेड गीत बजाउन नपाइने नियम लगाएको थाहा पाउँदा आफूलाई खुसी लागेको उनले बताए । देउसी–भैलोको मौलिक संस्कृति गुम्दै गएका बेला त्यो नियम लगाउनु सुन्दर पहल भएको बताए ।

‘तिहारको देउसी–भैलोलाई अर्थ संकलनको माध्यम पो बनाए’, अधिकारी आश्यर्च पोख्छन्, ‘देउसेहरूले सामाल, सेलरोटी, फलफूलहरू नाङ्लोमै छोडेर पैसा मात्रै लग्ने गरेको देख्छु । यो त साह्रै विकृति भयो ।’ आफूहरू सानो छँदा रातभरि देउसी गाउँदै घर–घर गएर नाचगान गर्ने गरेको उनी सम्झन्छन् । गायक रायमाझीले पनि तिहारमा लाउड स्पिकर घन्काउनुभन्दा गाउँदै, नाच्दै रमाइलो गर्नु उत्तम हुने बताए । ‘समूह जुटेका बेला यसो रमाइलो गरौं भनेर गैरतिहार गीत बजाइएको होला,’ उनले भने,‘यो सामान्य नै हो । तर, हाम्रोसंस्कृति बिर्सिनुभएन ।’

सदाबहार तिहार गीतदेउसी–भैलोका कारण तिहारलाई सांगीतिक पर्व पनि भन्ने गरिएको छ । यी भाकामा थुप्रै गीत बनेका छन् । देउसीको लोक लयलाई शास्त्रीय, आधुनिक, पप र रक विधामा समेत प्रयोग गरिएको सुनिन्छ । त्यसरी बनेकामध्ये पछिल्लो समय गायिका अक्षताको ‘झिलिमिली रातमा...’, सुगम पोखरेलको ‘दसैं, तिहार...’, सिने गुरुङको ‘केको माला...’, लगायत गीत चर्चित छन् ।

विसं २०५४ मा शम्भु प्रधानले निर्देशन गरेको ‘स्वर्ग’ फिल्ममा समाविष्ट ‘तिहारै आयो...’ होस् या ‘चिनो’ फिल्मको ‘दियो बाली साँझको...’, यी गीत हरेक तिहारमा गुन्जिने गरेका छन् । पछिल्लो समयचाहिँ फिल्महरू पर्वविशेष गीत राख्ने चलन कम हुँदै गएको छ । सञ्जय श्रेष्ठ, राजकुमार जोशी र प्रकाशचन्द्र श्रेष्ठले गाएको ‘देउसी रे भन...’ बोलका गीत युवा देउसेहरूमाझ लोकप्रिय छ । रेग्गे बिटमा बनेको गीत विसं २०५५ तिर रेकर्ड गराएको गायक श्रेष्ठ सम्झन्छन् । राजु लामाको ‘भाइटीकामा भेट्न आउँmला...’ पनि तिहारमा बज्ने गीतमध्ये एक हो ।

प्रकाशित : कार्तिक २२, २०७५ ११:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गहन विषय, फितलो प्रस्तुति 

सुनीता साखकर्मी

काठमाडौँ — नेपाली फिल्म उद्योगमा रेखा थापा अभिनयभन्दा पनि ग्ल्यामरकै कारण नै खबरमा छाइरहिन् । त्यसैले होला, उनी अहिले ब्याक टु ब्याक सामाजिक विषयवस्तुवरिपरि घुमेका फिल्म खेलिरहेकी छन् ।

‘मालिका’ फिल्मको एउटा दृश्यमा अभिनेत्रीहरू रेखा थापा र कमला वली ।

‘रामप्यारी’ मा टेम्पो ड्राइभर बनेर मजदुरहरूको आवाज उठाइन् भने ‘रुद्रप्रिया’ मा एसिड प्रहारमा परेकी महिलाको भूमिका निभाइन् । भर्खरै प्रदर्शनमा आएको ‘मालिका’ फिल्ममा यति बेला रेखा महिला हिंसा र बालविवाहमुक्त नेपाल निर्माणमा छोरीका लागि स्वर्णिम नेपाल अभियान चलाउँदै गरेको देखिइन् । बलियो विषयवस्तु उठान गर्न खोजे तापनि कथा प्रस्तुति शैली फितलो हुँदा फिल्म फिक्का लाग्छ ।

यस फिल्ममा महिला हिंसाका दुई स्वरुपहरू प्रस्तुत गरिएका छन् । मालिका (रेखा थापा) बालबालिकालाई पढाउँछिन् । लामो औंला भएको अन्धविश्वासको कारण उनको कैयौँ पटक विवाह टुटिसकेको छ । तर उनको सानो औलाको पर्वाह नगरी सानैदेखि मन पराउने एक साथीले नै उनीसित विवाहको प्रस्ताव राखेपछि उनले पनि नाइँ भन्दिनन् । तर यसपटक पनि रेखाको विवाह टुट्छ । उता जया (कमला वली) खोलामा नुहाउन गएका बेला बलात्कारको सिकार बन्छिन् । उनले यो कुरा घरमा भनेपछि गाउँमा कचहरी बस्छ । पढ्ने लेख्ने उमेरमा जयाको विवाह त्यही बलात्कारीसित तय हुन्छ । तर उनी विवाह तयार हुन्नन् । कथाले पश्चिम मूलकी जया र तराईकी मूलकी मालिकालाई काठमाडौंमा भेटाइदिन्छ ।

महिलाहरूमाथि हुने गरेका विभेद, बलात्कार, बालविवाह हिंसाहरू लुकेका छैनन् । महिलाको लागि सबैभन्दा सुरक्षित थलो घर हो, उसले आफ्नो परिवारबाट नै सबैभन्दा बढी माया, ममता, सुरक्षा र समर्थन पाउने गर्छ । तर महिलाहरूघरमै असुरक्षित हुन थालेको र महिलाले आफ्नो सुरक्षाको लागि बलियो हुनुपर्ने सन्देश फिल्ममा छ । दाइजो प्रथा, अन्धविश्वासको विरुद्ध लाग्नका लागि फिल्मले प्रेरित गरेको छ । मानिसले कसैलाई पनि एकैपटकमा विश्वास गरिहाल्नुहुन्न भन्ने सन्देश पनि दिन खोजेको छ ।

त्यसका लागि महिलाहरू मानसिकका साथै शारीरिक रूपमा पनि बलियो हुुनुपर्छ । फिल्मले उजागर गरेको अर्काे पक्ष हो, दाइजो प्रथा । अहिले पनि कतिपय समाजमा दाइजोकै निहुँमा छोरी बुहारीहरू जल्नेदेखि घर निकालामा पर्ने विडम्बना छ । पढेलेखेकै परिवार पनि दाइजोको पछाडि लागेको कटुसत्यलाई फिल्मले व्यंग्य गरेको छ । पश्चिम नेपालको सामाजिक, भौगोलिक वातावरणलाई देखाउनुका साथै त्यहाँको रैथाने भाषालाई फिल्मले महत्त्वका साथ प्रस्तुत गरेको छ । भाषिक विविधता फिल्मले उजागर गर्नु सकारात्मक पक्ष हो ।

फिल्मको कथा सलल बगेको छ । तर कथालाई कलात्मक रूपमा प्रस्तुत गर्न निर्देशक चुकेकी छन् । फिल्मको कथा सबै पात्रहरूकै संवादको भरमा चल्नुले फिल्मलाई कमजोर बनाएको छ । एकै खालका कथा र एकै खालको संवादले दर्शकलाई मोनोटोनससमेत बनाउँछ । फिल्मको विषयवस्तु जति गहन छ, त्योअनुसार प्रस्तुति र कथा भन्ने शैली गहन रूपमा तयार छैन ।

एक्सन एडले २०१३ मा भारतका बलात्कार पीडितहरूमाथि गरेको सर्वेक्षण अनुसार बलात्कारमा परेका ४८ प्रतिशत पीडितहरूले कुर्ता सलवार, ४१ प्रतिशतले सारी वा बुर्का र १० प्रतिशतजतिले फ्रक, टिसर्ट, पाइन्ट लगाएका थिए । त्यति बेला एक्सन एडले बलात्कार मानिसको दिमागी रोग हो, यो पहिरनसित नजोडिएको निष्कर्ष दिएको थियो । तर फिल्मको एक दृश्यमा रेखा दुई युवतीहरूलाई टिसर्ट र हाफ पाइन्टको सट्टामा कुर्ता सुरुवाललगाउन अह्राउँछिन् ।

महिलाहरू पहिरनकै कारण हिंसामा पर्ने भान फिल्मले दिन खोजेको छ । महिला समानताको मुद्धा अघि सार्दै गर्दा पुरुषलाई विभेद गर्नुहुन्न । तर फिल्ममा देखाइएका प्राय पुरुष पात्र या त खराब छन्, या त हास्यको पात्रका रूपमा पुरुषलाई प्रयोग गरिएको छ । सकारात्मक भूमिकामा देखाइएका पुरुष पात्र प्राय: मौन छन् ।

महिलालाई पिट्ने वा हेप्ने पुरुषलाई झापड हानेको दृश्य फिल्ममा देखिन्छ भने महिलाले पुरुषलाई हेपेको दृश्यलाई हास्यात्मक बनाएर प्रस्तुत गरिनु सुहाउँदैन । फिल्मले गहन विषयवस्तु प्रस्तुत गर्न खोजे पनि प्रस्तुति शैलीले गर्दा त्यति राम्रो हुन सकेको छैन ।

प्रकाशित : कार्तिक २२, २०७५ ११:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT