अभिनेत्री एन्सर्ज भन्छिन्, ‘संस्कृतिका लागि फिल्म’

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो समय आदिवासी जनजाति फिल्महरूलाई लागेको एउटै आरोप छ– भाषा मात्रै सम्बन्धित समुदायको, विषयवस्तु र प्रस्तुति भने नेपाली या हिन्दीबाटै प्रभावित । तामाङ, मगर, गुरुङ या थारू, सबै मातृभाषी फिल्मको यो साझा समस्या बन्दै गइरहेको छ ।

अभिनेत्री एन्सर्ज भन्छिन्, ‘संस्कृतिका लागि फिल्म’

यस्तोमा गुरुङ फिल्मकी अभिनेत्री एवं निर्माता एन्सर्ज गुरुङ भने ‘संस्कृतिका लागि फिल्म’ हुनुपर्ने तर्क गर्छिन् । गुरुङ समुदायको मौलिकता फिल्ममार्फत ल्याएकै कारण हालै जनजाति महासंघ अमेरिकाबाट सम्मानित बनेकी उनी भन्छिन्, ‘फिल्मका हरेक पात्र समाजसित जोडिएका हुन्छन्, हरेक समाजसित खास संस्कृति र मौलिकता हुन्छ । अनि फिल्मचाहिँ समाजबाट बाहिर रहेर कसरी मौलिक बन्न सक्छ ?’

फिल्ममा नयाँपन ल्याउनकै लागि समुदायभित्रको संस्कृति, मिथक र जीवनभित्र पस्नुपर्ने उनी तर्क गर्छिन् । स्याङ्जा, खिलुङ देउरालीकी उनले ‘प्हीरुमाला’, ‘मनको बाबरी’, ‘म्ले क्यु’ (बिर्साउने पानी), ‘आमाको मन’ जस्ता फिल्म र आधा दर्जन म्युजिक भिडियो खेलेकी छन् । ‘मनको बाबरी’ ले चर्चा मात्रै कमाएन, नेपाल, हङकङ, यूके, जापानलगायत देशमा सो नै भयो । एन्सर्जका अनुसार ‘मनको बाबरी’ सामाजिक कुरीतिका विरुद्धको फिल्म हो । गुरुङ मौलिकतामा आधारित ‘प्हीरुमाला’ बाट डेब्यु गरेकी उनले आफ्नो समुदायको कला संस्कृतिलाई बाहिर ल्याउनकै लागि यो क्षेत्र रोजेकी बताइन् ।

‘कतिपय मौलिक संस्कृतिहरू लुकेर रहेका छन्, प्रचारप्रसार भएन भने हराउने खतरा रहन्छ,’ उनले भने, ‘यसका लागि फिल्म राम्रो माध्यम हुन सक्छ । तर, पछिल्लो पटक मातृभाषी फिल्म पनि गम्भीरभन्दा हल्काफुल्का बन्न थालेका छन्,’ प्राय: कलाप्रधान फिल्म खेल्ने उनले भनिन्, ‘यसले मौलिकमाथि प्रश्न उठाउँछ ।’ म्युजिक भिडियोमा पनि उनी मौलिकताकै खोजी गर्छिन् । ‘सालैजो’, ‘कौडा’ देखि तीज गीतसम्म उनको छनोटमा परेका छन् ।

‘मौलिक भाषा, कला, संस्कृतिलाई खोज्ने, उजागर गर्ने तथा जगेर्ना गर्ने उद्देश्यले नै यो क्षेत्रमा आएकी थिएँ,’ उनले भनिन्, ‘त्यही भएर बाटो बदल्दिनँ ।’ फिल्म तथा म्युजिक भिडियो प्रदर्शनकै क्रममा हङकङ, यूके, जापान, युरोपेली मुलुकहरूमा पुगिसकेकी उनलाई गुरुङ समुदायको मौलिक संस्कृति र पहिचानलाई माथि उठाउन योगदान पुर्‍याएको भन्दै तमुधिं यूकेले ‘नेपाली मेला’ मा सम्मान नै गर्‍यो ।

समिदा वुमेन डेभलपमेन्ट फोरममार्फत सामाजिक सेवासमेत गर्दै आएकी उनले भावी पुस्तालाई सांस्कृतिक ज्ञान हस्तान्तरण गर्नकै लागि भए पनि मातृभाषी फिल्ममा निरन्तरता दिने बताइन् ।

प्रकाशित : कार्तिक २५, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?