३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कलाकारको तिहार

कान्तिपुर संवाददाता

काठमाडौँ — उनी मुसलमान । तर, गज्जबले तिहार मनाए । सप्तरंगी टीका र मखमली माला लगाएर दिदीसँग फोटो पनि खिचे । उक्त फोटो अहिले सामाजिक सञ्जालमा चर्चित बनेको छ ।

रंगकर्मी एवं अभिनेता नाजिर हुसेनले सरु राईलाई दिदी मानेर भाइटीका लगाउन थालेको लामै भइसक्यो । उनी आगामी वर्षहरूमा पनि यो चाड र आफूहरूको सम्बन्धलाई निरन्तरता दिन चाहन्छन् ।


‘दिदी नमन,’ उनले टीट गरेका छन्, ‘आमाजीले तपाईंको बुबालाई भाइ बनाएर भाइटीका लगाउन सुरु गर्नुभएको ३७ वर्ष पुगेछ । यो संस्कार उहाँहरूबाट हामीसम्म आइपुगेको छ । म बाँचुन्जेलसम्म यो भइरहोस् । भाइटीकाको शुभकामना ।’ यही कुरा उनले फेसबुकमा पनि पोस्ट गरेका छन् । रिटीट र सेयरिङ प्रशस्त छ । उनीबाट जातीय र धार्मिक सहिष्णुता सिक्न सकिने भन्दै प्रशंसकले वाहवाही गरिरहेकै छन् ।


तिहारलाई लिएर नाजिर उदाहरणीय बनिरहेका बेला अन्य सेलेब्रिटीका चाड विशेष तस्बिरमा पनि लाइक्स र फेभरेट ओइरिइरहेको देखिन्छ । अभिनेत्री साम्राज्ञी शाहले तिहार र योसँग आउने सम्पूर्ण चिजबिज आफूलाई मनपर्ने भन्दै काग तिहारकै दिनदेखि तस्बिरहरू पोस्ट गर्न थालेकी थिइन् । मण्डला (रंगोली) बनाउँदै गर्दाको फोटो फ्यानहरूले मन पराएका छन् । तर, झिरझिरे खेलाएको उनको भिडियोमा भने केहीले आपत्ति जनाएको देखियो ।


‘वातावरणीय हिसाबले यो राम्रो होइन’, पौडेल सबिनले इन्स्टाग्राममा लेखेका छन्, ‘तिम्रा स–साना फ्यानहरूले यो सिक्न सक्छन् । तिनका लागि सुरक्षित छैन ।’ साम्राज्ञीले भाइटीकाको तस्बिर भने राखेकी छैनन् । श्वेता खड्काले चाहिँ फोटो मात्र होइन भाइटीकापछिको टिकटिक भिडियो नै बनाउन भ्याएकी छन् । ‘निधारमा लर्काएर सप्तरंगी टीका...’ गीतमा आफ्ना दिदीभाइसँग खिचेको टिकटिक भिडियो उनले इन्स्टामा सेयर गरेकी थिइन् ।


अभिनेता राजेश हमालले दिदी रिता सिंह र आनासँग भाइटीका मनाए । शुक्रबार साँझ उनले फेसबुकमा फोटो हालेपछि उनका प्रशंसक धर्म विष्टले यस्तो कमेन्ट गरेका थिए, ‘दाइले कति बेला भाइटीका लगाएको फोटो हाल्नुहुन्छ भनेर हेरिरहेको थिएँ । फोटो हाल्नुभयो । खुसी लाग्यो । अर्को साल पनि यस्तै हयाप्पी भएर दिदीको हातबाट भाइटीका लगाउनु ।’ राजेशले आफ्ना शुभचिन्तकलाई तिहारको शुभकामना भन्दै रिप्लाइ गरेका छन् ।


काठमाडौंमै तिहार मनाएका अभिनेता दयाहाङ राईलाई भने आफ्ना सबै चेलीसँग भेट हुन नसकेकोमा दु:ख लागेको छ । तैपनि आफूले आशीर्वादचाहिँ मागेको कुरा उनले फेसबुकमा उल्लेख गरेका छन् । दयाको तस्बिरमा उनका दिदीबहिनी, दाजुभाइ, छोरा र श्रीमतीलाई सयपत्री र मखलमली फुलको मालामा निकै सुन्दर देखिएको छ । अमेरिका रहेका गायक रामकृष्ण ढकालले बहिनी तारा मरहट्टासँग टीका थापेका छन् । मेरिल्यान्डमा रहेका राजेशपायल राईले पनि बहिनी दीपा राईसँग भाइटीका मनाउँदै गरेको भिडियो

आफ्नो फेसबुक पेजमा राखेका छन् ।


आफ्ना दुई कुकुर गोलु र मोलुसँग पहिलो तिहार मनाएको भन्दै अभिनेता अनमोल केसीले पनि तीसँगका तस्बिर इन्स्टाग्राममा राखेका थिए । अभिनेत्री अनु शाहको भाइटीका तस्बिरमा भने दिदी–भाइ, दाजु–बहिनीको माया झल्किने खालको थियो । तीन भाइले उचाल्दै गरेको तस्बिरमा धेरैले लभ रियाक्ट गरेको देखियो । गायक प्रमोद खरेलको तिहार तस्बिर पनि अहिले लोकप्रिय भइरहेको छ । त्यसमा उनले बहिनी सपनालाई गोढामा ढोग्दै गरेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् ।


हास्य अभिनेता हरिवंश आचार्यको भाइटीका तस्बिरमा शनिबारसम्म ६ हजार लाइक्स देखिन्थ्यो । दुई दिदी–बहिनीलाई पछाडि उभ्याएर उनी भने टक्क ढाका टोपीमा सजिएर फोटो खिचेका छन् । त्यसअघि पनि आचार्यले लक्ष्मी पूजाको तस्बिर फेसबुकमा राखेका थिए । श्रीमती अस्ट्रेलिया गएपछि आफू र छोरा–बुहारीले लक्ष्मी पूजा गरेको उनले उल्लेख गरेका थिए । कम्प्युटरहरू देखिएको एक तस्बिरमा भीम शर्माले ठटयौलो कमेन्ट गरेका छन् । उनी लेख्छन्, ‘हरि दाइ, हजुरले माता लक्ष्मी देवीको पूजा गर्नुभएको कि त्यो कम्प्युटर, प्रिन्टर र मोडेमको ?’


निर्देशक दीपाश्री निरौला, अभिनेत्री ऋचा शर्मा, वर्षा सिवाकोटी, आँचल शर्मा, वर्षा राउत, अभिनेता सलोन बस्नेत, पल शाह लगायतले यसपालिको तिहार र विशेषत: भाइटीकालाई तस्बिरमा कैद गरेका छन् । उनीहरूमध्ये कतिपयले भिडियो पनि खिचेका छन् । वर्षा राउतले अपलोड गरेको भिडियो एक दर्जन पटक सेयर पनि भएको छ । अघिल्लो वर्षको तुलनामा यसपालि धेरै सेलेब्रिटीले तिहार–भिडियो सेयर गरेको देखियो ।

प्रकाशित : कार्तिक २५, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?