कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भव्य तर खोक्रो

फिल्म समीक्षा
यज्ञश

काठमाडौँ — फिल्मको एउटा दृश्यमा आमिर खान भन्छन्– हामी सधैं धोका हुनसक्छ भनेर तयार हुनुपर्छ । फिल्म हेर्दा कतै कतै त यो संवाद उनले ‘ठग्स अफ हिन्दोस्तान’ का दर्शकलाई नै भनेजस्तो लाग्छ ।

भव्य तर खोक्रो

फिल्ममा भव्य सेट, ठूला स्टार (अमिताभ बच्चन, आमिर खान, कट्रिना कैफ) र ब्रिटिसविरुद्ध स्वतन्त्रताको लडाइँको राष्ट्रवादी कथा छ । तर, जसरी राम्रो सामग्री, रंग लगाए पनि मूर्ति बोल्दैन, त्यसैगरी यो फिल्मले पनि दर्शकसँग गतिलो संवाद गर्न सक्दैन ।

भाँडो जतिसुकै सुन्दर र कलात्मक भए पनि त्यो खाली छ भने त्यसले मानिसको भोक मेट्न सक्दैन । फिल्मको पनि पटकथा र प्रस्तुति चुस्त भएन भने जतिसुकै ठूला स्टार र भव्य कथा भए पनि दर्शकको भोक मेट्न सक्दैनन् । ‘ठग्स अफ हिन्दोस्तान’ मा आमिर खान भएका कारण धेरै आस गर्ने दर्शकले अझै बढी ठगिएको महसुस गर्ने सम्भावना छ ।

किनभने, आमिर पछिल्लो पुस्ताको बलिउडका करिबकरिब एकमात्र भरोसायोग्य कलाकार हुन् । ‘धूम ३’ पछि ‘ठग्स...’ ले उनको त्यो छविलाई पनि धूमिल बनाउने खतरा देखिएको छ । संयोगले यी दुवै फिल्मका लेखक/निर्देशक एकै हुन्– विजयकृष्ण आचार्य ।

सन् १७९५ को विशृंखलित भारत । इस्ट इन्डिया कम्पनीको नाममा भारत छिरेर पाल्सीको युद्धमा बंगालका नवाबलाई पराजित गरेको अंग्रेज फौज एकएक राजा रजौटालाई जित्दै अघि बढिरहेको छ । रौनकपुरका मिर्जा अंग्रेजसामु घुँडा टेक्न तयार छैनन् ।

भोलिपल्ट अंग्रेज छाउनीमा आक्रमणको तयारी गरेका मिर्जाको अघिल्लै दिन आफ्नै दरबारमा अंग्रेजसँग जम्काभेट हुन्छ । छोरी जफिरा (फातिमा साना शेख) बाहेक उनको पूरै परिवार अंग्रेजले हत्या गरिदिन्छन् । खुदाबख्स जहाजी (अमिताभ) नामक एक बफादारले उद्धार गरेकी त्यही छोरी जफिराले अंग्रेजसँग लिने बदलाको कथा हो, ‘ठग्स अफ हिन्दोस्तान’ ।

समुद्रमा खुदाबख्स र उसको गिरोहको पकड छ । उसको फौजले अंग्रेज सेनालाई बेलाबेला पानीमा डुबाइरहन्छ । तर, जमिनमा भने फिरंगी मल्लाहको खेल चल्छ । एकदमै तेज दिमाग चल्ने यो फिरंगीका अनेक किस्सा छन् । धोका दिन अब्बल यही फिरंगीलाई अंग्रेजले जहाजीविरुद्ध कसरी प्रयोग गर्छन् र यसले ककसलाई कसरी धोका दिन्छ भन्ने फिल्मको पटकथा हो ।

दुई ठूला स्टार । कथाको सुरुमा दुश्मन । घमासान युद्ध । ‘लार्जर द्यान लाइफ’ साइजका द्वन्द्व । झकिझकाउ नृत्य । बीचमा एउटी दु:खी केटी । हिरोको बेवकुफ साथी । आकाशमा उडदै हिरोलाई बाटो देखाउने चिल, बाज, परेवा । यो फर्मुलामा बलिउड धेरै दशक चल्यो । यस्ता सूत्रबाट निस्केर केही साँच्चिकै राम्रा फिल्मतिर लम्किइरहेको बलिउड अहिले फेरि ठूला स्टारको भर परेर त्यही सूत्रमा फर्किइरहेको छ ।

जीवनका ससाना पत्रहरू केलाएर मानिसको मनोविज्ञान र भावनालाई उधिन्ने ‘धोवीघाट’, ‘मसान’, ‘सिप अफ थिसियस’ जस्ता फिल्महरूको समयमा ‘पाइरेट्स अफ दि क्यारेबियन’ को सेटिङमा ‘क्रान्ति’ को कथा यसै पनि बासी लाग्छ ।

फिल्मको सबभन्दा ठूलो समस्या, यसले त्यो समयलाई ठीक ढंगले पक्रिन सक्दैन । समुद्रका दृश्य र द्वन्द्वको भव्यता समात्न सफल भए पनि फिल्मले न त अंग्रेजको शासन कस्तो थियो देखाउँछ न त्यसबेलाको समाज । फिल्मको नाम नै ठग अफ हिन्दोस्तान भए पनि यसले न त ठग जातिको चरित्र राम्ररी दर्साउँछ न उनीहरूको विद्रोहलाई ।

नशालु लड्डुले पूरै अंग्रेज फौजलाई सोत्तर बनाउने होस् वा बाजले लकेट लाने/ल्याउने जस्ता ७० को दशकका बलिउडी सूत्रहरू यसमा छन् । यसले फिल्मका लेखक रचनात्मक नभएको देखाउँछ । सुरैया नामक नर्तकीको भूमिकामा भएकी कट्रिना कैफले त एउटा नृत्यमा अहिलेकै जस्ता कपडा समेत लगाएकी छन् । र, अंग्रेज अफिसरहरूले पनि आपसमा हिन्दीमै कुरा गर्छन् † यस्ता ससाना गल्तीले कथा र त्यो समयको आधिकारिकतामाथि प्रश्न उठाउँछन् ।

दुई घण्टा चालीस मिनेटको फिल्ममा कि त फाइट छ कि संवाद । धोकेबाज फिरंगीका संवाद यति धेरै छन्, लेखकले कथाको केन्द्रमा रहेकी राजकुमारीलाई एउटा पनि गतिलो संवाद दिन आवश्यक ठानेका छैनन् । फिल्ममा अमिताभ र आमिरको अभिनयका अलावा एक्सन दृश्यको कोरियोग्राफी, पूरै फिल्मको सिनेमाटोग्राफी र स्पेसल इफेक्टको प्रयोग राम्रो छ ।

हिन्दी फिल्मका दुई सबभन्दा ठूला स्टार अमिताभ र आमिर पहिलोपटक एकसाथ आएको यो फिल्मले पहिलो दिन नै ५० करोडभन्दा बढी भारूको कारोबार गरेर रेकर्ड कायम राखेको छ । तर, दोस्रो दिनदेखि नै यसमा तीव्र गिरावट आएबाट स्टारडमले मात्र फिल्म चल्दैन भन्ने देखाउँछ । फिल्मका निर्माताका लागि यो नराम्रो खबर भए पनि गतिलो फिल्म खोज्ने दर्शकका लागि राम्रो कुरा हो ।

ठूला स्टारको चमकदमकको तुलनामा नवाजुद्धिन सिद्दिकी, आयुष्मान खुराना, राजकुमार राव र विक्की कौशलजस्ता पछिल्लो पुस्ताका कलारकारले सानो बजेटका रोचक विषय छानिरहेका छन् । समय परिवर्तन भएको प्रमाण के हो भने पहिले यस्ता फिल्म आमिरले खेल्थे । ‘मार्केटिङ जिनियस’को छवि बनेपछि आमिर राम्रो फिल्म बनाउनेभन्दा बढी कसरी बेच्ने भन्नेतिर केन्द्रित भइरहेका त होइनन् ?

ठग्स अफ हिन्दोस्तान

कलाकारहरू : अमिताभ बच्चन, आमिर खान, कट्रिना कैफ, फातिमा साना शेख

प्रकाशित : कार्तिक २६, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?