कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

नाटक लिई घरघर

कान्तिपुर संवाददाता

काठमाडौँ — अभाव, महँगीलगायत विविध कारणले हाम्रा रंगमञ्च खुल्दै, बन्द हुँदै गर्ने गरेका छन् । आरोहण गुरुकुल, थिएटर भिलेज र थिएटर मल पछिल्ला उदाहरण भइगए ।

नाटक लिई घरघर

रंगमञ्चहरू यसरी निरन्तर चल्न नसक्ने समस्या हामीकहाँ मात्र होइन भारतमा समेत छ । त्यहाँका कतिपय रंगकर्मीले आफ्नो मञ्च जोगाइराख्न सकेका छैनन् ।


भाडा तिर्न नसकेर रंगमञ्च चलाउन नसकेको भारतको एउटा नाट्य समूहले भने आफ्नो काम देखाउन एउटा जुक्ति फुराएको छ । अतुल कुमार र उनको टोली दर्शकका घरघरै गएर नाटक मञ्चन गर्छन् । यति भएपछि आफूसँग रंगमञ्च नहुनुको पीडा भएन । खाने मुखलाई जुँगाले छेक्दैन भने झैं उनीहरू रंगमञ्चको अभावमा पनि नाटक प्रदर्शन गर्नबाट विमुख हुनु परेको छैन ।


१८ वर्षअघि मात्रै अतुलको टोली रंगमञ्च निर्माणका लागि जग्गा वा घर खोज्दै हिँडेको थियो । महँगीका कारण ती किन्न सकेनन् । त्यसपछि उनीहरूले साथीभाइ र आफन्तसँग कोठा उपलब्ध गराउन आग्रह गर्न थाले । एक–दुई पटक कोठा मागेपछि उनीहरूलाई यसरी पनि काम गर्न सकिन्छ भन्ने उपाय आयो । अब त दर्शकका घर–घरमै पुगेर नाटक अभ्यास गर्नेदेखि मञ्चन समेत गर्छन् ।


‘हामीले ग्यारेज, कौसी, करेसा, आँगन, बैठक र भान्सा कोठामा पनि नाटक देखाएका छौं,’ अतुलले भारतको डीएनएन अनलाइनसँग भनेका छन्, ‘यसपालि गोवाका घरहरूमा जान लागेका छौं ।’ आउँदो महिना हुन लागेको ‘सेरेन्डिपिटी आर्ट फेस्टिभल’ का लागि उनीहरूले पाँच नाटक तयार पारेका छन् जुन गोवावासीले आफ्नै घरमा हेर्न पाउनेछन् । ‘हाम्रो कामको पहिचान भएको छ,’ अतुल भन्छन्, ‘यसरी पनि अघि बढ्न सकिँदो रहेछ ।’


दर्शककै घरमा नाटक देखाउनु नाट्य क्षेत्रमा नयाँ कन्सेप्ट भने होइन । तर, रंगमञ्च निर्माणका लागि ठाउँ घट्दै गइरहेका बेला अन्य नाट्य टोलीका लागि पनि यो राम्रो उपाय हुन सक्ने डीएनएनले उल्लेख गरेको छ । कतिपय टोलीले क्याफे, डान्स स्टुडियो, जिमखाना, गोदाम लगायतलाई पनि वैकल्पिक थिएटरका रूपमा प्रयोग गर्दै आएका छन् । दर्शकले पनि यस्ता विकल्पलाई स्वीकार गर्न थालेको रंगकर्मी एवं निर्देशक मोहित शर्माले बताएका छन् ।


‘मान्छेहरू नाटक र अन्य कला गतिविधि अवलोकन गर्न चाहन्छन्’, शर्माले भनेका छन्, ‘तर, टाढा जान असमर्थ छन् । उनीहरूलाई घरमै नाटक देखाइदिँदा हामीले नयाँ दर्शक निर्माण गर्न सक्छौं ।’ मुम्बईजस्तो महँगो र घरैघरले खाँदिएको सहरमा नयाँ रंगमञ्च खोल्न गाह्रो हुने भएकाले दर्शकका घरलाई नै अस्थायी थिएटर बनाउँदा दर्शक र रंगकर्मी दुवैलाई फाइदा हुने उनले बताएका छन् ।


शर्मा आफैंले पनि ‘अम्बल प्रोडक्सन’ समूहमार्फत् मुम्बईवासीलाई तिनकै घरमा नाटक र स्ट्यान्ड–अप कमेडी प्रस्तुत गर्ने गरेका छन् । यसबाट उत्साहजनक प्रतिक्रिया हासिल गरेको उनले डीएनएनलाई बताएका छन् । घर मालिकले उपलब्ध गराएको स्थानमा प्रस्तुति दिँदा कलाकारले कल्पनाशील हुन आवश्यक रहेको अतुलको अनुभव छ ।

प्रकाशित : कार्तिक २६, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?