१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

छठलाई उजिल्याउँदै लोकगीतहरू

जितेन्द्र साह

विराटनगर — छठको उमंगले मन चंगा बनाएको त छँदै छ, तराई–मधेसको यो मुख्य पर्व आउनु महिनाअगाडिदेखि नै भक्तिभाव तथा आस्था जगाउने गरी मैथिली, भोजपुरी एवं अवधी भाषाका गीतहरू बज्न थाल्छन् ।

छठलाई उजिल्याउँदै लोकगीतहरू

तिहारको समापनलगत्तै ब्रतालुहरू समूहबद्ध भएर घरघरैमा गाउन थाल्छन् । विराटनगर–८ की ४५ वर्षीया पार्वती मण्डलले घरमै गीत गुनगुनाइन्–


काँचही बाँस के टोकरिया हो

दिनानाथ, टोकरी लचकत जाय

बाट मे पुछए जे बटोहिया

टोकरी केकर जाय ?


सूर्यलाई अघ्र्य दिन जलाशयतर्फ गइरहेका ब्रतालु परिवारजन एवं बटुवाबीचको संवाद यो गीतले बोल्छ । गीतमै सवाल र जवाफको सन्दर्भ आउँछ । जस्तो कि बटुवाले टोकरी कसका लागि भन्दै सोध्छन् । ब्रतालु पक्षले ‘आँखा छैन ? हेर्दैनौं, छठी मातालाई अघ्र्य दिन जान लागेको’ भन्दै जवाफ पर्काउँछन् । हरेक वर्ष यी गीतमा भाका हाल्दै आएकी छन् पार्वतीले । खासमा यो समूह गीत हो । यही भाकामा रम्दै मंगलबार पार्वतीले पनि अघ्र्य दिने छिन् । ‘लोक गीत नै छठको मन्त्र हो,’ उनले छठ अनुभव सुनाइन्, ‘सुरु र अन्त गीतबाटै हुन्छ ।’


तराईका विभिन्न समुदायले फरकफरक शब्द एवं लवजमा गीत गाउँछन् । सूर्य उपासनाको दिन नजिकिँदै जाँदा छठ संगीतले गति लिन थाल्छ । मन छुने भावले गर्दा नजान्नेले पनि दुई/चार पंक्ति त गुनगुनाइहाल्छन् । स्थानीय अनील श्रेष्ठले मुखैमा अचेल झुन्डिएको छ यो गीत–


अँगना मे पोखरी खुनाएब

छठीमैयाँ औंती आइज...


गीतमा छठी माताको आगमन हुने विश्वासका साथ आँगनमा पोखरी खनेर पर्खिबसेको भाव व्यक्त छ । ब्रतालु र उपासकहरूले भने जलाशय किनारमा भक्ति संगीतबीच सूर्यलाई अघ्र्य दिन्छन् । अनीलका अनुसार ‘छठमा सम्पूर्ण ऊर्जाको स्रोत र समानताको प्रतीकको रूपमा सूर्यपूजा गरिन्छ ।’ सूर्यले कसैलाई पक्षपात नगरी बरोबरी प्रकाश छर्छन् भन्ने मान्यता छ । ‘सामूहिक सूर्य आराधनाको यो धार्मिक एवं सांस्कृतिक अनुष्ठानले पनि समानताको सन्देश दिन्छ,’ सञ्चारकर्मीसमेत रहेका अनीलले भने । छठको बेला ‘अझै पनि कथित अछूत मानिने डोम समुदायले बनाएको बाँसको ढकी र कोनिया (नाङ्लो) मा पूजा सामग्री राखेर पूजा हुन्छ । ‘यसबारे पनि गीत छ नि,’ स्थानीय पिचरा बस्तीकी ४० वर्षीया सुमित्रा रौनियारले गाइन्–


छोटी मोटी डोमिन बिटिया

के भुइयाँ लोट केस

सुपवा ले अइह हे डोमिन

अरघ के बेर...


गीतले डोम समुदायकी छोरीको व्यक्तित्वको वर्णन गर्दै अघ्र्यमा ढिलो नहुने गरी उनीसँग सुपवा (नाङ्लो) लिएर आउन अनुरोध गर्छ । समित्राका अनुसार चारदिने छठको हरेक विधिका लागि गीतकै सहारा लिइन्छ । गीतहरूमा प्राय: धार्मिक अनुष्ठानको विधि, सूर्यको महिमा, नारीको पीडा, नि:सन्तानको व्यथा एवं परिवार कल्याणका भाव व्यक्त हुन्छन् । महिलाले गीतकै माध्यमबाट वेदना पनि प्रकट गर्छिन् । परिवारकै समृद्धिका लागि ब्रत बस्ने महिलाहरूले गाउने गीत पनि हुन्छन् अनीलका अनुसार । नारीले भोग्ने अनेक सामाजिक र व्यक्तिगत पीडा पनि गीतबाटै प्रकट हुन्छ । यस्तो बहुविवाहदेखि, दाइजो समस्यासम्म व्यक्त हुन्छ । स्थानीय गुद्रिकी गृहिणी रेखा गुप्ताका अनुसार पवित्रता एवं शुद्धताको ख्याल राख्नुपर्छ भन्दै यसरी पनि गाइन्छ–


केरवा जे फरल घउद से

ओइ पर सुगा मेडराय

मारबउ रे सुगवा धनुस से

सुँगा गिरे मुरझाय...


ब्रतालु महिला एवं परिवारजनले आलैपालो खेतबारीमा फलेको केराको सुरक्षा गर्दै गाउँने यो छठको सबैभन्दा लोकप्रिय गीत हो । शुद्धता भंग हुन दिनुहुन्न भन्ने मान्यता बोकेको छठमा यो गीतको माध्यमबाट सुँगालाई केराबोटबाट टाढै रहन भनिन्छ । छठमा केरालाई महत्त्वका साथ चढाइन्छ । यस्तै चर्मरोगको निदान र सन्तान प्राप्तिको भाकल पनि गीतबाटै गरिन्छ । नि:सन्तान नारीको पीडा घरआँगनदेखि जलाशय

किनारसम्म सुनिन्छ–


अब पवनैतिन हे छठी मैयाँ

हंसैते घर जाए

बाँझीन अभागल हे छठी मैयाँ

कनैते घर जाय

सभक अंचरवा हे छठी मैयाँ

उधिआइते जाए

बाँझिन के अंचरवा हे छठी मैयाँ

बान्हल जाय..


गीतमा सन्तानप्राप्तिका लागि छठीमातासँग प्रार्थना गरिँदै छ । सन्तानसुख भएमा आफू पनि उनी अन्य ब्रतालुझैं पूजापछि घाटबाट हर्षका साथ घर फर्कने आशय गीतमा छ । त्यस्तै अनीलका अनुसार महिला भक्तजनले घाटको वरिपरि दियो बाली छठी माताको स्वागत गाउने गीतदेखि समापनको दिन झिसमिसेदेखि भक्तजनले सूर्यदेवलाई चाँडो उदाउने आग्रहका साथ गाउने गीतमा भिन्नभिन्नै स्वाद पाइन्छ ।

प्रकाशित : कार्तिक २७, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?