२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

किन बन्दैनन् म्युजिकल फिल्म ?

नारायणगोपाल, अरुणा लामा, अरुण थापाहरूबारे फिल्म बनाइयो भने कसले हेर्दैन होला ? हाम्रै ब्यान्डको कथा पनि राम्रो छ । फिल्मलाई चाहिने उतार–चढाव हामीले धेरै भोगेका छौं । – मनोज केसी, १९७४ एडी
सजना बराल

काठमाडौँ — बेलायती रक ब्यान्ड क्विनमाथि बनाइएको फिल्म ‘बोहेमियन र्‍याप्सोडी’ अहिले हलहरूमा चलिरहेको छ । सन् १९७० को दशकमा विश्व विख्यात बनेको ब्यान्ड र विशेषत: यसका भोकलिस्ट फ्रेडी मर्करीमाथि फिल्म केन्द्रित छ । समूहमा काम गर्दाको सजिलो र अप्ठ्यारोपनसँगै फ्रेडीको व्यक्तिगत जीवन फिल्ममा समाविष्ट छ ।

किन बन्दैनन् म्युजिकल फिल्म ?

क्विनका मास्टर पिसमध्ये एक मानिने ‘बोहेमियन र्‍याप्सोडी...’ गीतलाई नै फिल्मको शीर्षक बनाइएको हो । ओपेरामा रक म्युजिक मिसाएर तयार पारिएको छ मिनेट लामो उक्त गीतले ब्यान्डलाई अद्वितीय उचाइ दिलाएको थियो । त्यसपछि आएका ‘वी विल रक यु...’, ‘आई वान्ट टु ब्रेक फ्री...’, ‘डन्ट स्टप मी नाउ...’, ‘वी आर द च्याम्पियन्स...’ जस्ता गीत कालजयी छन् ।


गायन र प्रस्तुतिमा अनौठो प्रतिभा भएका फ्रेडीको निजी जीवनलाई फिल्ममा विशेष स्थान दिइएको छ । समलिंगी पुरुषका रूपमा उनले भोगेको आन्तरिक द्वन्द्व र त्यसबाट फाइदा उठाउनेहरूको प्रसंग यसमा छ । फ्रेडीको भूमिका निर्वाह गरेका रमी मलिक अहिले चौतर्फी प्रशंसा बटुलिरहेका छन् । उनको अभिनय फ्रेडीको गायनजस्तै मोहक भएको समीक्षकहरूले बताइरहेका छन् ।


ब्यान्डको बायोपिक भनिए पनि फिल्ममा फ्रेडीको यौनिकतालाई बढी जोड दिएको भन्दै यसको आलोचना गरिएको छ । केहीले चाहिँ फिल्ममा फ्रेडीलाई अतिरिक्त महान देखाउन खोजिएको र उनको गुनगानमै सम्पूर्ण प्लट रचिएको प्रतिक्रिया दिएका छन् । कतिपय घटना तथ्यपरक नभएको र समयक्रम पनि नमिलेको बताइन्छ । दुई–दुई जना निर्देशकले हात हालेको हुनाले यसको प्रवाह बिग्रिएको हुन सक्ने अभिनेता आसिफ शाहको अनुमान छ ।


‘फिल्ममा चाहिनेभन्दा बढी इमानदारी देखाउन खोजिएको आभास भयो,’ गायकसमेत रहेका अभिनेता शाहले भने, ‘बायोपिकमा इमानदारी चाहिन्छ भन्दैमा एउटै चिज प्रमाणित गर्नतिर लाग्नुभएन । फिल्म राम्रो लाग्यो तर सोचेजति चित्तबुझ्दो भएन ।’


फिल्मका सुरुवाती निर्देशक ब्रायन सिंगरलाई निर्माण टोलीले फिल्म खिचिसक्नुअघि नै कामबाट निकालिदिएका थिए । त्यसपछि डेक्स्टर फ्लेचरले बाँकी छायांकन सम्हाले । अहिले ओस्कारको मनोनयमा कसको नाम राख्ने भन्ने विषयमा मतभेद भइरहेको छ ।


नेपालका म्युजिकल फिल्म

क्विनका गीत नेपाली श्रोतामाझ लोकप्रिय छन् । यहाँका कतिपय रक, पप ब्यान्डहरू क्विनलाई आफ्नो आइडल मान्छन् । ब्यान्डको बायोपिक बनेको थाहा पाएदेखि नै ‘१९७४ एडी’ का गिटारिस्ट मनोज केसी फिल्मलाई लिएर प्रतिक्षारत थिए । ‘म खासै फिल्म पछ्याउने गर्दिनँ,’ उनले भने, ‘तर, क्विन भनेपछि चासो दिनै पर्‍यो । यसको टिजर, ट्रेलर सबै हेरेँ । मेरा लागि बहुप्रतीक्षित फिल्म थियो । फस्र्ट डे, फस्ट सो हेरेँ ।’


रक म्युजिकको लिजेन्ड ब्यान्डमाथि फिल्म बनाएर उसलाई सम्मान प्रकट गरेको भन्दै केसीले खुसी व्यक्त गरे । उनले नेपाली आर्टिस्ट र ब्यान्डमाथि पनि फिल्म बनाउन सकिने बताए । ‘नारायणगोपाल, अरुणा लामा, अरुण थापाहरूबारे फिल्म बनाइयो भने कसले हेर्दैन होला ?’ उनले भने, ‘हाम्रै ब्यान्डको कथा पनि राम्रो छ । फिल्मलाई चाहिने उतारचढाव हामीले धेरै भोगेका छौं । अरनिको, भानुभक्तजस्ता विभूतिलाई समेत फिल्ममा प्रस्तुत गर्न सकिन्छ ।’


म्युजिकल बायोपिकका रूपमा पछिल्लो पटक ‘आचार्य’ बनाइएको थियो । यो नै अहिलेसम्मको एक मात्र नेपाली बायोपिक हो । भजनशिरोमणि भक्तराज आचार्यमाथि बनाइएको उक्त फिल्ममा उनकै छोरा गायक सत्यराजले बाबुको भूमिका निर्वाह गरेका थिए । फिल्म खासै चलेन ।


त्यसअघि निर्देशक प्रवीण श्रेष्ठले ‘मोक्ष’ मा ब्यान्डको कथा प्रस्तुत गरेका थिए । त्यसमा पनि उनले आफ्नै जीवन भोगाइ उतारेका थिए । गायक कोशिस क्षेत्री मुख्य भूमिकामा थिए ।


गायक रामकृष्ण ढकाल आफैंले अभिनय गरेको ‘आशीर्वाद’ फिल्मलाई आंशिक बायोपिक मान्न सकिन्छ । त्यसमा ढकालको जीवनीलाई फर्मुला फिल्मजस्तै गरी प्रस्तुुत गरिएको थियो । राजेश हमाल, जल शाह, करिष्मा मानन्धर लगायतले पनि अभिनय गरेको उक्त फिल्म अहिले युटयुबमा छ । ब्रजेश खनालको पटकथा र शम्भु प्रधानको निर्देशनमा २०५६ सालमा उक्त फिल्म बनेको थियो ।


संगीत वा संगीतकर्मीको विषयमा बनाइएका अन्य फिल्ममा ‘स्वर’ र ‘कर्कश’ पनि हुन् । तर, यी बायोपिक नभई फिक्सन फिल्म थिए । प्रसन्न पौडेल निर्देशित ‘स्वर’ मा राजवल्लभ कोइरालालाई गायकको भूमिकामा देखियो । साथीभाइ, परिवार र जीवन लक्ष्यलाई यसमा उनिएको थियो ।


असिम शाहको ‘कर्कश’ मा चाहिँ युवा ब्यान्डको संघर्ष समावेश गरिएको थियो । यसमा रेमनदास श्रेष्ठ, दयाहाङ राई, सत्यराज आचार्य, सुरजसिंह ठकुरी, हर्षिका श्रेष्ठलगायतले अभिनय गरेका थिए ।


नेपालमा मात्र होइन, भारतमै पनि बायोग्राफिकल फिल्महरू खासै नबन्ने गरेको अभिनेता आसिफ शाहले बताए । त्यसमाथि म्युजिकल आर्टिस्ट वा ब्यान्डबारे त विरलै फिल्म बनाइने उनको भनाइ छ । ‘हामी हाम्रा आर्टिस्टलाई महान् मानिरहेका हुन्छौं,’ उनले भने, ‘बायोपिकमा तीबारे राम्रा, नराम्रा सबै थोक समेट्नुपर्छ । नराम्रो चिज देखाउँदा दर्शक रुष्ट हुने डर भएकाले बनाउन कसैले आँट गर्दैन ।’


बायोपिकका लागि खर्च धान्नु अर्को चुनौती मानिन्छ । तर, बायोपिक नबन्दा हाम्रा स्रष्टाहरू कथा र किंवदन्तीमै सीमित हुन सक्ने आसिफको बुझाइ छ ।


नेपाली म्युजिकल फिल्म

१. आशीर्वाद (२०५६)

२. स्वर (२०६७)

३. आचार्य (२०६८)

४. मोक्ष (२०७०)

५. कर्कश (२०७०)

प्रकाशित : कार्तिक २९, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?